बाँदरको आतंकले हैरानी

तस्विर– बाँदरले सखाप पारेको मकै

बाबुराम शर्मा (चरिकोट) – दोलखाको भीमेश्वर नगरपालिका–४ स्वाँराको ज्येष्ठ नागरिक केशरबहादुर बसेल ( सार्की ) को बाँदर आतंकबाट उठिबास भएको छ । हरियो पहेँलो नहुँदै करिब आठ मुरी मकै बाँदरले सखाप पारेपछि उठिबास हुनु परेको उहाँले दुःखेसो पोख्नु भएको छ । यसपालि एक गेडा मकै भि¥याउन पाइएन । बारीमा मकै र कोदो मात्र हुन्छ । उहाँले भन्नु भयो, “बाँदरले हरियो पहेँलो नहुँदै मकै सखाप पारिदियो । बिहानदेखि साँझसम्म हेरालु बसेर जोगाएको मकै बिरामी भएर अस्पताल गएको मौका पारी सखाप पारेछ । श्रीमतीले धपाउन खोज्दा उल्टै लखेटेपछि ज्यान जोगाउन घरमा पसेको मौकामा आएको हुलले एक गेडा पनि नछोडेर सखाप बनाएछ । बेलुका आउँदा त बारीमा बिजोग देख्नु प–यो । उहाँले भक्कानिँदै भन्नु भयो, “घरमा खान अन्न छैन । कादो पाक्न अझै समय लाग्छ । कोदो पनि जोगाउन गारो छ । मजदुरी गर्न पनि सक्दिन । श्रीमती पनि रोगी छ । भएको एउटा छोरो पनि काठमाडौँमा मजदुरी गरेर जीवन निर्वाह गरिरहेको छ । जहाँ साँघुरो त्यहाँ गारो भने झैँ नाति किडनीको बिरामी छ । उहाँले भन्नु भयो, “मजदुरी गरेर छोराबुहारीले जेनतेन बिरामीको उपचार गराइरहेका छन् । हामी बुढाबुढीको बिजोग भएको छ । बस्ने कटेरो बाहेक केही छैन । यो अवस्थामा कसले सहयोग गर्ला ?अब बाँच्ने आधार केही छैन । बाँदर आतंकले बसेलका छिमेकीहरुले खेती लगाउन छोडिसकेका छन् । जग्गाहरु बाँझै छन् । उनीहरुको त अरु पेसा छ । उहाँले भन्नु भयो, “मेरो त अरु जग्गा पनि छैन, पेसा पनि छैन । गर्न पनि सकिन्न । कसरी जीवन निर्वाह गर्ने ? जीवन कहालिलाग्दो भयो ।” बाँदरले तामाकोसीको तटीय तथा वन क्षेत्रमा अन्न बाली लगाउनै दिँदैन । साँझ बिहान हेरालु बसेर पनि बाँदरबाट जोगाउन गारो परेकाले स्थानीयहरुले हरियो पहेँलो नहुँदै मकै भाँचेका छन् ।
स्थानीय हरिबहादुर खत्रीले भन्नु भयो, “मकै, कोदो धान पनि बाँदरले खाएर सखाप बनाउन थालेको छ । नगरपालिकाले दिएको बाँदर धपाउने यन्त्रले पनि काम गरेन । पहिला त भाग्थे । अहिले त यन्त्र पड्काउँदा पनि सुनेर बस्छ, भाग्दैन । घरघरमा पसेर पकाएको भात पनि खाइदिन्छ । भाँडो मिल्काइदिन्छ ।वडा नम्बर ४ का वडाध्यक्ष तारानाथ चौलागाईँले भन्नु भयो, “करिब दुई सय घरपरिवार बाँदर आतंकबाट प्रत्यक्ष प्रभावित भएका छन् । वडासँग आपत्काली कार्यक्रम छैनन् । नगरपालिकाको वैठकमा कुरा उठाइएको छ । बाँदर नियन्त्रण गर्ने कुरा चुनौतिपूर्ण छ । केही आर्थिक सहयोग गरेर अन्न बीमाको व्यवस्था मिलाउनुभन्दा अर्को विकल्प छैन ।

Shares

Be the first to comment on "बाँदरको आतंकले हैरानी"

Leave a comment

Your email address will not be published.


*