बस दुर्घटनामा मृत्यु भएका ७ जनाको सामुहिक दाह संस्कार

चरिकोट –सिन्धुपाल्चोकको सुकुटेमा भएको यात्रुबहाक बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये सात जनाको मंगलबार भोटेकोसीमा सामुहिक दाह संस्कार गरिएको छ । आइतबार दोलखाको शैलुङ गाउँपालिकास्थित मागादेउरालीबाट काठमाडौंतर्फ जाँदै गरेको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएकामध्ये सामुहिक दाहसंस्कार गरिएकाहरुमा शैलुङ गाउँपालिका ५ का १४ वर्षीय रिकेश खड्का, ४५ वर्षीय रत्नकुमारी राउत र उनका छोरा २९ वर्षीय किरण, १९ वर्षीय कविता राउत, २४ वर्षीय रञ्जिता केसी बस्नेत तथा वडा नम्बर ४ बागखोर मागा माइती भएकी २७ वर्षीय चमेली श्रेष्ठ र उनको छोरी ६ वर्षीय सायरानीको सामुहिक दाहसंस्कार गरिएको गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष किरण बस्नेतले जानकारी दिए । गत आइतबार बिहान ९ बजे शैलुङ्गेश्वरी यातायातको बा २ ख ७२४५ नम्बरको बस सुकुटेबाट सुनकोसी नदीमा खस्दा १८ जनाको मृत्यु भएको थियो । मृतकमध्ये उदयपुरको विजय तमाङको शव उदयपुर नै लगिने र चितवनको पुजा बस्नेतको शव बुझ्न आफन्त सम्पर्कमा आइनसकेकाले काठमाडौं महाराजगंजको टिचिङ अस्पतालमा राखिने प्रशासनले जनाएको छ ।
परिवारलाई गाउँपालिकाको २० हजार सहयोग
दोलखाको शैलुङ गाउँपालिकाले सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुको परिवारलाईे प्रतिपरिवार २० हजार रुपैयाँ दाहसंस्कार खर्च दिने भएको छ । गाउँपालिका अध्यक्ष भरत प्रसाद दुलालले मृतकका परिवारलाई तत्कालका लागि गाउँपालिका तर्फबाट राहतस्वरुप सो रकम दिने निर्णय गरिएको जानकारी दिए ।
सुकुटेमा आइतबार भएको दुर्घटनामा १८ जनाको शव आफन्तले शव बुझेका छन् भने एक बालिका बेपत्ता भएकी थिइन् ।
अरनिको दिएन क्षतिपुर्ती
मृतकका आफन्तलाई अरनिको यातायात सेवा समितिले प्रतिपरिवार कम्तीमा पनि २ लाख रुपैयाँ दिनुपर्ने माग सहित सिन्धुपाल्चोकमा छलफल गरेको भए पनि समितिले ४० हजारभन्दा दिन नसकिने बताएपछि छलफल निष्कर्ष विहीन भएको हो । प्रहरी र शैलुङ गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र घाइते तथा मृतकका आफन्तलगायतको उपस्थितिमा भएको छलफलले अरनिकोबाट क्षतिपूर्ति दिलाइदिन प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेपछि शव आफन्तले जिम्मा लिएको गाउँपालिका अध्यक्ष दुलालले जानकारी दिए । मंगलबार शव बुझेर आफन्तले अन्त्येष्टि पनि गरेका छन् । ७ जनाको भोटेकोशीमा सामूहिक अन्त्येष्टि गरियो भने अन्य मृतकका आफन्तले काठमाडौंमै आ–आफ्नो परम्परा अनुसार अन्त्येष्टि गरेका छन् । दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदो गरेको बा २ ख ७२४५ नम्बरको बस चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्ग्स्थित सुकुटेमा सडकबाट सुनकोशी नदीमा खसेको थियो । बसमा शैलुङ गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ का रहेकाले गाउँपालिका शोकमा डुबेको छ ।

Shares

Be the first to comment on "बस दुर्घटनामा मृत्यु भएका ७ जनाको सामुहिक दाह संस्कार"

Leave a comment

Your email address will not be published.


*