बढ्दै हाडजोर्नीको समस्या, ग्रामीण क्षेत्रमा फिजियोथेरापीको माग

ईश्वर विश्वकर्मा
चरिकोट, असार ५
हाडजोर्नी सम्बन्धी समस्याको निदान र न्यूनीकरणको लागि उपचार सेवा सहज र सहुलियत बनाउन माग गरिएको छ । 
आइतबार सदरमुकाम चरिकोटमा हुराडेक नेपालको आयोजनामा भएको ’शरीरको तल्लो भागका अंगको अवस्था, उपचार र प्रभावबारे गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक’ कार्यक्रममा यस्तो माग गरिएको हो । 
हाडजोर्नी समस्या हुनेहरूकाे जीवन सञ्चालनमै कठिनाइ भइरहेको ध्यानाकर्षण गराउँदै कार्यक्रमका वक्ताहरूले हाडजोर्नीका बिरामीलाई राहत हुने र पुरानै अवस्थामा पुनस्थापना गराउने तर्फ स्थानीय सरकार गम्भीर हुन आवश्यक रहेको बताएका छन्। कार्यक्रममा अपाङ्ग तथा दृष्टिविहीन समुदाय सेवा संघका सचिव मख्खन पाण्डेले हाडजोर्नीको समस्या पहिचान, परामर्श र उपचार सेवालाई ग्रामीण क्षेत्रमा लैजान आवश्यक भएको सुनाउनुभयो। उहाँले प्रविधि र जनशक्तिको अभावमा बन्द भएका फिजियोथेरापी सेवालाई स्तरोन्नति गरी पुनः सुचारु गर्नुपर्ने र ग्रामीण क्षेत्रमा सबैलाई पायक गर्ने गरी आवश्यकताको आधारमा नियमित सो सेवाको सुरुवात गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले हाडजोर्नी र नशा सम्बन्धी बिरामीहरू फिजियोथेरापी सेवा खोज्दै जिल्ला बाहिर भौँतारिनुपर्ने बाध्यतालाई अन्त्य गर्नुपर्ने उल्लेख गर्नुभयो । 

पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोटका बाल रोग विशेषज्ञ डाक्टर सञ्जय उलकले सचेतना अभाव, जीवनशैली, खानपान, जन्मजात समस्या, बुढेसकाल लगायतका कारण  हाडजोर्नी र नशा सम्बन्धी समस्या उत्पन्न हुने बताउँदै उहाँले रोगले मानिसहरू ग्रसित भइरहँदा सो सम्बन्धी बिशेषज्ञ डाक्टरको अभावमा बिरामीहरूले उपचारमा समस्या बेहोर्नु बाध्य हुन परेको बताउनुभयो । डाक्टर अभावमा बिरामीहरू अन्य बाहिरी जिल्लामा भौँतारिन बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारी अस्पताल प्रति बिरामीको भरोसा र आकर्षण बढ्दै जाँदा विभिन्न विषयमा छुट्टै छुट्टै डाक्टरको व्यवस्था हुन सके अझ उत्कृष्ट हुने बताउनुभयो । प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्केले हाडजोर्नी समस्याको पहिचान र निदानको लागि स्थानीय सरकारले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । स्थानीय सरकार बजेट निर्माणको तयारीमा जुटिरहेको बेला स्वास्थ्य क्षेत्रको समृद्धि हुने गरी योजना निर्माण तथा बजेट विनियोजन गर्न आवश्यक रहेको बताउनुभयो । 
जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले स्वास्थ्य क्षेत्रको विकासमा स्थानीय सरकारसँग समन्वय गरिने बताउनुभयो । उहाँले कार्यक्रममा चर्चा गरिएको विषयवस्तु र प्रतिवेदनको विषयमा पुनः एक छलफल गरी निर्णय गरिने र त्यसले हाडजोर्नी र नशा सम्बन्धी बिरामीहरुलाई खुशी पार्ने सुनाउनुभयो । 

भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले वडास्तरीय योजना संकलनको क्रममा नागरिकहरुबाट खाली भौतिक पूर्वाधारको क्षेत्रको योजना र माग भई आएको तर स्वास्थ्य क्षेत्रमा योजना नै नआएको बताउनुभयो । यद्यपि नगरपालिकाले भौतिक पूर्वाधारसँगै स्वास्थ्य क्षेत्रलाई समेत विषेश जोड दिइने बताउनुभयो । 
मानिस स्वस्थ हुन नसकेमा विकास अपुरो हुने उल्लेख गर्दै मेलुङ गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्यले आफ्नो पालिकामा स्वास्थ्य क्षेत्रमा विषेश जोडका साथ काम गर्ने बताउनुभयो । उहाँले पालिकाका नागरिकमा हाडजोर्नी र नशा सम्बन्धी समस्या हुनै नदिन सचेतना र समस्या ग्रसित हरुलाई राहत हुने गरी छलफल अघि बढाउने बताउनुभयो । उहाँले प्रत्येक पालिकामा एक जना हाडजोर्नी सम्बन्धी डाक्टरको व्यवस्था हुन सकेमा अझ सहज हुने बताउनुभयो ।
कार्यक्रममा शरीरको तल्लो अंगको अवस्था, उपचार र प्रभावबारे गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । साउथ हेम्टन विश्वविद्यालय युकेले कृपा संस्थाको सहकार्यमा सन् २०२१ को जुलाई देखि अगस्तसम्म दोलखा, मनाङ र दाङका विभिन्न वडामा अध्ययन गरेको थियो । उक्त अध्ययनको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो । दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ६ र मेलुङ गाउँपालिकाको वडा नं. २ का पाँच सय जनामा  गरिएको अध्ययन अनुसार एक सय जनामा घुँडाको दुखाई सम्बन्धी समस्या देखिएको थियो  । अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अमोस चनले मानिस जीवनको  कम्मर मुनीको भाग अन्तर्गत घुँडाको समस्याले एक सय जनालाई सताएको बताउनुभयो । हाडजोर्नीको समस्या सबैलाई देखिने भएपनि अध्ययनको क्रममा तुलनात्मक रूपमा महिलामा बढी  देखिएको थियो । 
 जन्मजात समस्या, कामको चाप, क्याल्सियम र प्रोटिन युक्त खानाको अभाव, चोटपटक, वृद्दावस्था, कमजाेरी लगायतका कारण हाडजोर्नी तथा नशा सम्बन्धी समस्या उत्पन्न हुँदा दैनिक जीवन कष्टकर बनाउनुका साथै मानसिक तनाव र आर्थिक समस्या बढाएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । अध्ययन कर्ता लुसी गेट्सले जोर्नी खिइने, घुँटाजोर्नी दुख्ने लगायतका हड्डी समस्या उत्पन्न भएपनि केहीले हेलचेक्राइँ गरी लामो समयसम्म उपचार नगरी सहेर बसिरहेको बताउनुभयो । आर्थिक अभाव, अस्पताल टाढा हुनु लगायतका कारण उपचारको पहुँचमा सबै जना नपुग्ने गरेको उहाँले बताउनुभयो। कतिपयले हेलचेक्राइँ गर्दा जटील प्रकारको समस्यामा परेको र प्यारालाइसिस र अपाङ्गता भएको समेत तथ्य फेला परेको थियो ।  उपचार गरेकाहरुले भने सरकारी अस्पतालमा गई उपचार गरेको पाइएको थियो । हाडजोर्नी सम्बन्धी सचेतना व्यापक बनाउनु पर्ने, रोगी तथा बिरामीलाई उपचारको दायरामा ल्याउनुपर्ने, बिशेषज्ञ डाक्टर र फिजियोथेरापी सेवाको व्यवस्था गरिनुपर्ने, आधुनिक सहयाक सामाग्रीको उपलब्धता सहज बनाइनुपर्ने प्रतिवेदनले सुझाएको छ । कार्यक्रम हुराडेक नेपालका अध्यक्ष उद्धव प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

Shares

Be the first to comment on "बढ्दै हाडजोर्नीको समस्या, ग्रामीण क्षेत्रमा फिजियोथेरापीको माग"

Leave a comment

Your email address will not be published.


*