बढी भाडा असुल्ने बसलाई दोलखा प्रहरीद्धारा कारबाही

इश्वर बिश्वकर्मा
चरिकोट, असोज २९
दशैँको मौका छोपी यात्रुबाट बढी भाडा असुल्ने बसलाई दोलखा प्रहरीले कारबाही गरेको छ ।
यात्रुबाट तोकेभन्दा बढी भाडा असुलेको भन्ने बसमा सवार यात्रुको गुनासोपछि चारओटा सार्वजनिक बसलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौंदेखि दोलखासम्म यात्राको क्रममा बसमा ठगिएको भन्दै यात्रुले फोनमार्फत जानकारी गराएका थिए । प्रहरीले जानकारी पाएलगत्तै बस नम्बरको आधारमा सम्बन्धित बसलाई सोधपुछ गरेको थियो । सो क्रममा बढी भाडा असुलेको पुष्टि भएपछि यात्रु सहायता कक्ष मार्फत कारबाहीको दायरामा ल्याइएको ट्राफिक प्रहरी प्रमुख भानुभक्त नेपालले बताउनुभयो ।

यात्रुबाट लिइएको बढी भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराइएको छ । भने बसलाई दण्डबापत दश हजार रुपैयाँ राजस्व  तिराइएको उहाँले बताउनुभयो ।
खरिढुँगामा अवस्थित यात्रु सहायता कक्षले दुई वटा बसबाट प्रति बस तीन हजार गरी छ हजार र जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुई वटा बसलाई कारबाही गर्दा चार हजार राजस्व संकलन गरेको हो । कार्यालयले प्रति बस दुई हजार रुपैयाँ राजस्व तिराएको थियो ।

प्रहरीले हिन्दु धर्मावलम्बीहरुको चाडपर्वमा यात्रुको गुनासो सुन्न र तत्काल सम्बोधनको लागि चार स्थानमा यात्री सहायता कक्ष स्थापना गरेको छ । अन्य जिल्लाबाट दोलखा भित्रने खरीढुँगा र किर्ने नाका नजिकै तथा चरिकोट र सिंगटीमा कक्ष रहेको प्रहरीले जनाएको छ । यात्रु सहायता कक्षमा गाडीमार्फत् यात्राको शिलशिलामा भोगेका समस्या वा गुनासो राखेमा त्यसको समाधान गरिने गरिएको छ । बसको यात्राको क्रमा ठगिनबाट बच्न सचेत हुन र ठगिएमा तत्काल प्रहरीलाई सूचना दिन प्रहरीले यात्रुलाई अनुरोध गरेको छ ।

Shares

Be the first to comment on "बढी भाडा असुल्ने बसलाई दोलखा प्रहरीद्धारा कारबाही"

Leave a comment

Your email address will not be published.


*