फेरि चुके मेस्सी, अर्जेन्टिना कठिन मोडमा

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह डि मा रहेको अर्जेन्टिनाले क्रोएसियासँग अपत्यारिलो नतिजा हात पारेको छ । क्रोएसियासँग ३–० गोलले पराजित हुदा अर्जेन्टिनाका कप्तान तथा गोल मेसिन उपनामले चिनिने लियोनल मेस्सीको जादु चलेन ।

क्रोएसियाले ऐतिहासिक जित हात पार्दा अर्जेन्टिना भने कठिन मोडमा आईपुगेको छ । पहिलो खेलमा विश्वकपमा डेब्यु टिम आइसल्याण्डविरुद्ध १–१ गोलको बराबरी खेलेको अर्जेन्टिना विश्वकपको प्रिक्वाटरफाइनलमा पुग्ला ? प्रश्न उठ्न थालेको छ । अब अर्जेन्टिनाले अन्तिम खेलमा नाइजेरियासँग प्रतिस्पर्धा गर्दै छ । यो खेलले निकै ठूलो भूमिका खेल्नेछ ।

समूह डि अन्तर्गत नाइजेरिया र आइसल्याण्डबीचको खेलमा दुबै टिमले बराबरी खेले अर्जेन्टिनालाई फाइदा हुनेछ ।

अर्जेन्टिनाको अहिले २ खेलबाट एकमा हार र एक खेलमा बराबरी खेल्दै १ अंक छ भने ४ गोल खाएको छ र एक गोल मात्रै फर्काएको छ । यस्तो अवस्थामा अर्जेन्टिना नकआउट चरणमा पुग्न निकै कठिन पर्नेछ ।

चुकेकै हुन् मेस्सी ?

अर्जेन्टिनाका कप्तान तथा विश्वचर्चित खेलाडी लियोनल मेस्सीलाई गोल मेसिनको उपनामले चिनिन्छन् । तर, रसिया विश्वकपमा भने मेस्सीको जादु चल्न सकेको छैन । आइसल्याण्डविरुद्ध त झन पेनाल्टीमै असफल भएका मेस्सीले क्रोएसियाविरुद्ध कुनै आक्रमक खेल खेल्न सकेनन् ।

मेस्सीले क्रोएसियाविरुद्ध गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेनन् । जारी विश्वकपको २ खेलको पुरै समय मैदानमा विताएका मेस्सीमाथि अर्जेन्टिनाको पुरै विश्वास थियो तर, उनले राम्रो खेल्न नसक्दा टिमै जोखिममा परेको छ ।

यसअघि सन् २०१६ मा कोपा अमेरिका कप फुटबलको फाइनलमा चिली विरुद्ध पेनाल्टी सुटआउटमा अर्जेन्टिना पराजित हुँदा मेस्सीले पेनाल्टी मिस गरेका थिए । फाइनलमा चिलीसँग हार्नु र पेनाल्टीमा चुक्दा कप्तान मेस्सीले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्यासको घोषणा गरेका थिए । तर अजर्जेन्टिनाका राष्ट्रपतिदेखि सबैको दबाबमा मेस्सीले सन्यास फिर्ता लिएका थिए ।

मेस्सीलाई विश्वकप फुटबलको उपाधि दिलाउने यो अन्तिम मौका हो । यसअघि सन् २०१४ को विश्वकपमा मेस्सी आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन असफल रहेका थिए । सन् २०१४ को विश्वकपमा अर्जे्न्टिना जर्मनीसँग १–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो ।

Shares

Be the first to comment on "फेरि चुके मेस्सी, अर्जेन्टिना कठिन मोडमा"

Leave a comment

Your email address will not be published.


*