प्राधिकरणले सिंगटी खोलालाई हर्जना तिर्नुपर्ने

दीक्षण समाचार
दोलखा, जेठ
सिंगटीदेखि लामोसाँघुसम्मको प्रसारण लाइन नबन्दा नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाहरुलाई हर्जना तिर्नु पर्ने भएको छ । जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्ने बेलासम्म पनि प्रसारण लाइन नबने प्राधिकरणले ४५ प्रतिशतसम्म हर्जना तिर्नु पर्ने अवस्था आउने भएको हो ।
सिंगटी बजार नजिकै २५ मेगावाटका सिंगटी खोला जलविद्युत आयोजना पूरा हुन लागेको छ । यसले साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्यका साथ कामलाई तिब्रता दिएको छ । आयोजनाको काममा आयोजनाका प्रबद्र्धक कम्पनी सिंगटी हाइड्रो इनर्जी कम्पनीका अध्यक्ष, सञ्चालक सहितका उच्च व्यवस्थापनका व्यक्तिहरु लगातार फिल्डमै खट्दै आएका छन् ।
आयोजनाका निर्देशक काजी लामाले साउनबाट जसरी पनि विद्युत उत्पादन हुने बताए । विद्युत उत्पादन भए तापनि प्रसारण लाइनकै कारण विद्युत खेर जाने चिन्ता लागेको बताए । सिंगटी खोला सरकारसँग १० वर्ष अघि प्रतिस्पर्धामा लिएको “सुपर सिक्स“ आयोजना मध्येको सबैभन्दा पहिला पूरा हुने आयोजना हो ।
सुपर सिक्स आयोजनाहरुको विद्युत उत्पादन हुँदा प्राधिकरणले प्रसारण लाइन पूरा नगरे आम्दानीको ४५ प्रतिशत हर्जना तिर्नु पर्ने प्राब्धान रहेको लामाले बताए । सिंगटीले वार्षिक विद्युत विक्रीबाट ७१ करोड कमाउँछ । तर प्रसारण लाइन नबने वार्षिक ३१ करोड प्राधिकरणलाई क्षतिपूर्ती दिनु पर्ने व्यवस्था छ । तर प्रसारण लाइन भएर पनि तोकिएको समयमा आयोजना पूरा नभए प्रबद्र्धकले प्राधिकरणलाई २८ प्रतिशत हर्जना तिर्नु पर्ने व्यवस्था छ । अबको २ महिनामा प्रसारण लाइन तयार नभए प्राधिकरणले सिंगटीलाई हर्जना तिर्नुपर्नेछ ।
सिंगटी खोलाको ६ किलोमिटर सुरुङ पूरा भएर ढलान गरी फिनिसिङको काम हुँदै छ । दैनिक ६० मिटर ढलान गर्दै आएको आयोजनामा २ महिना भित्र सुरुङमा सबै किसिमको काम पूरा हुने आयोजना निर्देशक लामाले बताए । १ किलोमिटर पेनस्टक पाइप मध्ये २ सय मिटर मात्र जडान गर्न बाँकी छ । पाइप जडान, हेड वक्स सबै जेठ भित्रै पूरा हुने उनले बताए । पावर हाउस भित्र उपकरण जडानको काम जारी रहेकाले साउनबाट पूर्ण रुपमा आयोजना पूरा हुने उनले बताए ।
सिंगटीदेखि लामोसाँघुसम्मको ४० किलोमिटर प्रसारण लाइन निर्माणाधिन छ । १३२ केभी क्षमताको प्रसारण लाइनका १२४ वटा टावरहरु मध्ये ७३ वटा टावर उठेका छन् । सिन्धुपाल्चोकमा ५ र दोलखामा ७ वटा गरी १२ वटा टावरको जग नै तयार नभएको सिंगटी लामोसाँघु प्रसारण लाइन आयोजनाका फिल्ट प्राविधिक गोपाल पोखरेलले जानकारी दिए । ३९ वटा टावर निर्माणाधिन अवस्थामा छन् ।
प्रसारण लाइनमा केही जग्गाको कारण पनि पछिल्लो समय टावर निर्माणमा समस्या परेको छ । आयोजना प्रमुख राजन ढुङ्गेलले तत्कालै ठडिएका टावरमा तार तान्ने काम सुरु हुने जानकारी दिए । उत्पादित विद्युत खेर जान नदिन सिंगल सर्किट तार तानेर भए तापनि प्रसारण लाइन पूरा गराउन आयोजना लागि परेको उनले बताए ।
“२ समूह मार्फत एउटा दोलखामा र अर्को सिन्ंधुपाल्चोकमा तार तान्ने गरी टोली तयारी भएको छ” उनले भने “अरु समूह पनि थप गरेर चाँडै काम सक्ने प्रयासमा छौं, तर काम गर्ने मान्छे नै पाउन सकेका छैनौं ।” असारमा काम पूरा गर्ने लक्ष्य भए तापनि त्यो नसके तापनि १, २ महिना ढिला गरेर भए तापनि प्रसारण लाइन पूरा हुने उनले बताए ।

Shares

Be the first to comment on "प्राधिकरणले सिंगटी खोलालाई हर्जना तिर्नुपर्ने"

Leave a comment

Your email address will not be published.


*