प्रहरी निरीक्षक सानु तामाङ जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

ईश्वर विश्वकर्मा
चरिकोट, असार ७

दोलखामा प्रहरी निरीक्षक सानु तामाङ जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । शान्तिसुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै इलाका प्रहरी कार्यालय सिङ्गटीमा कार्यरत तामाङलाई जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
जिल्लाको उत्तरी क्षेत्र सिङ्गटीमा दरबन्दी रही विभिन्न समयमा उहाँले सम्पादन गर्नुभएको कामको मूल्याङ्कन गर्दै त्यस्तै कामको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरू समेतलाई प्रोत्साहित गर्न जिल्ला भरका प्रहरी मध्ये सर्वोत्कृष्ट घोषणा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक तामाङले आफ्नो जिम्मेवारी इमानदार, कर्तव्यनिष्ठ एवं प्रशंसनीय ढंगबाट निर्वाह गर्दै स्थानीय तहको निर्वाचन सम्पन्न पश्चात आफ्नो जिम्मेवार कार्यक्षेत्रमा भएका मतगणना स्थल र विजयी ¥यालीको भरपर्दो सुरक्षा व्यवस्थापन गर्नुभएको थियो । जेठ ११ गते गौरीशंकर गाउँपालिका वडा नं. ३ स्थित शंखरपानी खोल्सामा मृतावस्थामा फेला परेका डिगर्पु बस्ने दिल बहादुर बस्नेतको छोरा २३ वर्षीय यान बहादुर बस्नेतको घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा संलग्न रहेका मानिसहरू पहिचान गरी अनुसन्धानको क्रममा खुल्न आएका थप मानिसहरू समेत पक्राउ गरी कानूनी दायरामा ल्याएको, जेठ ४ गते तामाकोसी नदीमा पौडीमा खेल्ने क्रममा हराई बेपत्ता भएका कालिञ्चोक गाउँपालिका वडा नं. ७ तोरीखेतका भक्त बहादुर खड्काको छोरा वर्ष ७ का रजन खड्काको खोजतलासको क्रममा १५ गते वडा नं. ८ मेलपु स्थित तामाकोसी नदी किनारामा फेला पार्न विषेश प्रहरी निरीक्षक तामाङले भूमिका निर्वाह गर्नुभएको थियो ।
त्यसैगरी १८ गते कालिञ्चोक गाउँपालिका वडा नंं ७ को सित्का माध्यमिक विद्यालयमा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थितिमा मान्छे बोक्सी हुन्न कहिल्यै भन्ने कार्यक्रम सञ्चालन गरी जनचेतना प्रवाह गर्नुभएको थियो । २५ गते गौरीशंकर गाउँपालिका वडा नं. ३ कुईकेलडाँडाका ज्ञान बहादुर तामाङको घरमा जङ्गली जनावर चितुवा पसेको सूचना पाउन साथ अप्रिय घटना हुन नदिन निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको भन्दै जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक गङ्गाप्रसाद पौडेलले बताउनुभयो ।

Shares

Be the first to comment on "प्रहरी निरीक्षक सानु तामाङ जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित"

Leave a comment

Your email address will not be published.


*