प्रशासन कार्यालय दोलखामा आलोपालो सेवा

दीक्षण समाचार, चरिकोट, –जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि सेवा प्रवाहमा आलापालो प्रणाली लागु गर्ने भएको छ । कार्यालयमा सेवाग्राहीको भीडले कोरोना महामारी फैलने जोखिम रहेको भन्दै भीड कम गराउदैँ जोखिम न्यूनीकरणको लागि आलोपालो प्रणाली अपनाउने भएको हो । कार्यालयले सेवा प्रवाह सम्बन्धमा बिहीबार एक सूचना सार्वजनिक गर्दै ९ गतेदेखि लागू हुने गरी बार अनुसार समय तालिका बनाएर सेवा प्रवाह गरिने जानकारी दिएको छ । नागरिकता र राहदानी बनाउने, राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता, मतदाता नामावलीमा नाम दर्ता गराउने लगायतका कामका लागि प्रशासनमा दैनिक सेवाग्राहीको ठेलमठेलको अवस्था हुन्थ्यो । प्रशासनले जारी गरेको आदेश अनुरुप २५ जना भन्दा बढी भेला हुन नपाइने र सामाजिक दुरी सम्बन्धी नियम प्रशासनमै कार्यान्वयन हुन सकेको थिएन । तर अब भने प्रशासनले आलोपालो प्रणाली लागु गरेपछि व्यवस्थित तवरबाट सेवा प्रवाह गर्ने भएको हो । कार्यालयका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले सेवाग्राहीको चापका कारण संक्रमणको उच्च जोखिम भई सेवाग्राही समेतमा संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गरी विशेष तालिका बनाएर स्थानीय तहगत बार अनुसार व्यवस्थित र सहज सेवा प्रवाह गरिने बताउनुभयो । प्रशासनले जारी गरेको समय तालिका अनुसार जिरी नगरपालिका, तामाकोशी गाउँपालिका, बैतेश्वर गाउँपालिका र ईलाका प्रशासन कार्यालय सिंगटीको कार्य क्षेत्र बाहेकका गौरीशंकर गाउँपालिकाका वडाहरुका सेवाग्राहीलाई आइतबार, मंगलबार र बिहीबार सेवा प्रदान गरिने छ । भीमेश्वर नगरपालिका, मेलुङ गाउँपालिका, शैलुङ गाउँपालिका र ईलाका प्रशासन कार्यालय सिंगटीको कार्य क्षेत्र बाहेकका कालिञ्चोक गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गरिने छ । प्रशासकीय अधिकृत ठाकुरले आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्दा भीड कम हुने र कोरोना सर्ने डरबाट मुक्ति मिल्ने बताउनुभयो । उहाँले प्रशासनबाट सेवा लिन आउने नागरिकहरुले अनिवार्य रुपमा मास्क लगाई खोप लगाएको प्रमाणित कार्ड वा मोबाइलमा कार्डको फोटो साथमा लिएर आउनुपर्ने सुनाउनुभयो ।

Shares

Be the first to comment on "प्रशासन कार्यालय दोलखामा आलोपालो सेवा"

Leave a comment

Your email address will not be published.


*