प्रधानमन्त्री ओली र राष्ट्रपति सी जिनपिङबीच आज भेटवार्ता

बेइजिङ, चीन (रासस) । चीन भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार (आज) चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन् । चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।   बेइजिङमा उनी हिल्टन होटलको देउताइ स्टेट गेष्टहाउसमा रहेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार उनले चीनका वरिष्ठ नेतासँग पनि भेटवार्ता गर्नेछन् ।

भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नाका साथै तिब्बतका प्रान्तीय नेतासँग भेटवार्ता गर्ने बताइएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सीले अघि सारेको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिए ।
उनले भने, “नेपालको आर्थिक सामाजिक विकास र समृद्धि प्राप्त गर्ने सरकारको लक्ष्यलाई केन्द्रविन्दुमा राखेर प्रधानमन्त्रीको भ्रमणको तयारी गरिएको छ ।”

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग विगतमा भएको व्यापार तथा पारवहन सम्झौता अघि बढाउन नेपालले थप पहल गरेको बताएका छन् । बेइजिङस्थित नेपाली दूतावासले सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “भूपरिवेष्ठित मुलुक नेपालका लागि यातायातको सहजतापछि व्यापार तथा पारवहनमा खर्च कटौती हुनाका साथै अन्तर्राष्ट्रिय व्यापारमा समेत बढोत्तरी हुन जानेछ ।”

नेपाल र चीनले आगामी दिनमा परस्पर विश्वास, मित्रता, समझदारी, सहकार्य र सहयोगका आधारमा शान्ति र समृद्धिका लागि साझा गन्तव्य तय गरी काम गर्ने विश्वास व्यक्त गर्दै उनले सन् २०१६ मा आफ्नो भ्रमणका क्रममा भएका सम्झौताको कार्यान्वयनका लागि आफूहरुले थप पहल गरेको बताए ।

सीमापार रेलमार्गको विकासले नेपाललाई नयाँ युगमा परिणत गर्ने र दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । नेपाल र चीनबीच रेलमार्गका साथै सडकमार्ग, हवाई मार्ग, सञ्चार र ऊर्जाका क्षेत्रमा भएका समझदारी अगाडि बढ्नेमा आफू विश्वस्त रहेको दोहोर्याउँदै उनले भने, “प्रभावकारी सम्पर्क सञ्जालले नेपाललाई विश्व बजारको उत्पादन र वितरणका क्षेत्रमा प्रवेश गराउनेछ । यसले क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारमा पनि महत्वपूर्ण आयाम प्रदान गर्नेछ ।”

नेपाल र चीनबीचको बृहत् सम्पर्क सञ्जालले आफूहरुको अर्थतन्त्रको उत्पादन क्षमता र जनताका लागि नयाँ अवसर सिर्जना गर्र्ने विश्वास उनले व्यक्त गरे ।  प्रभावकारी सम्पर्क सञ्जाल विस्तार गरी नेपालले पर्यटन उद्योगमा अझै बढी फाइदा लिन सक्ने र चीनले सेवामूलक क्षेत्रमा लगानीको अवसरसमेत पाउने उनले उल्लेख गरे ।
उनले भने, “हामी आपसी सम्बन्धको नयाँ प्रस्थानविन्दुमा उभिएका छौँ । हामीले सबैका लागि सुन्दर भविष्यको जग खडा गरेका छौँ ।”  प्रधानमन्त्री ओलीलाई दूतावासमा नेपाली राजदूत लीलामणि पौड्यालले स्वागत गरेका थिए ।

Shares

Be the first to comment on "प्रधानमन्त्री ओली र राष्ट्रपति सी जिनपिङबीच आज भेटवार्ता"

Leave a comment

Your email address will not be published.


*