प्रदेश युवा स्वयंसेवक तालिम सम्पन्न

ईश्वर बिश्वकर्मा
चरिकोट, असार १८
दोलखाको सदरमुकाम चरिकोटमा शनिबार प्रदेश युवा स्वयंसेवक तालिम सम्पन्न भएको छ । सिर्जनशील र उद्यमशीलता प्रवर्द्धन बागमतीमा युवा सशक्तिकरण भन्ने नाराका साथ बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय, प्रदेश युवा परिषद जिल्ला युवा समिति दोलखाले तालिमको आयोजना गरेको हो । तालिममा यसअघि नै छनौट गरिएका २० जना युवाहरूको सहभागिता थियो । उनीहरूलाई नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीप शंकर चौलागाईँ र पूर्वअध्यक्ष जीवन लामाले प्रशिक्षण दिनुभएको थियो । तालिमको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले जिल्लाका स्थानीय तहहरूले युवाको क्षेत्रमा उल्लेख्य काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले युवाको क्षेत्रमा काम गर्नका लागि जिल्ला समन्वय समितिले समन्वयकारी भूमिका निर्वाह गर्न हरदम तयार रहेको बताउनुभयो । सिर्जनशील र लगनशील युवाले मात्र समाज र देश रूपान्तरणका लागि पहरेदारको रुपमा अग्रसर हुन सक्ने भएकोले सोही अनुरूप युवाले जोस र जाँगरका साथ लाग्नुपर्ने उहाँले बताउनुभयो ।
भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले युवा शक्ति परिचालन भएकै कारण देशका विभिन्न परिवर्तन र आन्दोलन सम्भव भएको बताउनुभयो । उहाँले राजनीतिक दल वा अन्य स्वार्थी समुहले युवा शक्तिलाई आफ्नो स्वार्थको लागि मात्र प्रयोग गर्ने तर प्रयोगपछि उनीहरूप्रति उपेक्षा गर्ने गरेको उल्लेख गर्नुहुँदै अब सम्बन्ध्ति निकायले युवाको भविष्य र उनीहरूको हितमा लगानी तथा अवसर दिनुपर्ने बताउनुभयो । उहाँले युवाहरूले आफ्नो जोस, जाँगर र शक्ति सही क्षेत्रमा प्रयोग गरेको खण्डमा देश र समाजको विकास हुने सुनाउनुभयो । उहाँले राम्रो अवसर, रोजगार, शिक्षाको अभाव लगायतका कारण युवाहरू कुलत र अन्यत्र रुमलिएको अवस्थामा उनीहरूलाई त्यसबाट पार लगाउन पथप्रदर्शक आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्केले युवा जोस र शक्तिलाई समाज रूपान्तरण र भविष्य निर्धारणको क्षेत्रमा उपयोग गर्नुपर्ने बताउनुभयो । युवालाई राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा अग्रस्थान दिइनुपर्ने बताउँदै काउन्सिलका सदस्य मास्केले अहिले वर्षाको मौसम निरन्तर पानी पर्दा विपदको जोखिम र घटनाहरू भइरहेकोमा प्रशिक्षित स्वयंसेवक युवाहरूले विपद व्यवस्थापनमा समेत सक्रिय हुनुपर्ने बताउनुभयो । आफू बाँच्दै अरुलाई पनि बचाउँदै विपत्तिको समयमा हातेमालो गर्दै एकर्कालाई साथसहयोग गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा सामाजिक अभियान्ता राजु थापाले देशका भविष्य निर्धारक युवाहरू आफै भविष्य नदेखेर, गन्तव्य नदेखेर रुमलिएको अवस्थामा स्थानीय सरकार, विभिन्न सङ्घसंस्थाहरूले पथप्रदर्शक र साथीको भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले युवाको क्षमता र सीपको अभिवृद्धिका लागि जिल्ला युवा समितिले काम गरिरहेको बताउनुभयो । कार्यक्रम जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरतरोहन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

Shares

Be the first to comment on "प्रदेश युवा स्वयंसेवक तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*