प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यशाला सम्पन्न

चरिकोट, पुस २५
दोलखाको सदरमुकाम चरिकोटमा प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यशाला आइतबार सम्पन्न भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गर्दै आगामी निर्वाचनलाई व्यवस्थित बनाउन निर्वाचनले आयोगको आयोजनामा कार्यशाला सम्पन्न भएको हो ।
कार्यशाला उद्घाटन समारोहमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विगतका निर्वाचनमा भएका कमीकमजोरीलाई सुधार्दै आगामी निर्वाचन क्रुटीरहीत बनाउन राजनीतिक दल, कर्मचारी र मतदाताले प्रतिबद्ध हुनु पर्ने बताउनु भयो । उहाँले समीक्षा कार्यशालामा प्राप्त सुझावहरुलाई कार्यान्वयन गरी कानुनी र नीतिगत सुधार गरी निर्वाचन प्रणालीलाई सुदृढ र परिस्कृत गरिने बताउनु भयो । तीन वर्ष भित्र निर्वाचन सम्बन्धी एकीकृत कानुन निर्माण गरी कार्यान्वयनको चरणमा जाने उहाँको भनाई थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले स्वच्छ, निष्पक्ष र शान्तिपुर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उदेश्यले व्यवस्थाकीय तयारी गरिएपनि राजनीतिक दलको असहयोगले निर्वाचन दोहोरिएको बताउनुभयो । राजनीतिक दललाई प्रतिबद्धता र ऐनको पालना गराउन नसकिएकोले जिल्लामा उदेश्य अनुसार निर्वाचन हुन नसकेको उहाँको भनाई छ । प्रमुख जिल्ला अधिकारी खतिवडाले राजनीतिक दल नसुध्रिएसम्म निर्वाचन प्रणाली जस्तो सुकै भएपनि सोचेजस्तो नहुने बताउँदै राजनीतिक दललाई प्रतिबद्धता गराउनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले सूचना र प्रविधिको प्रयोगले निर्वाचन प्रणालिमा सुधार गर्नु पर्ने बताउनुभयो । छरिएर रहेका निर्वाचन सम्बन्धी कानूनलाई एकीकृत गरिनुपर्ने उहाँको भनाई थियो । उहाँले सुसभ्य र सुसंस्कृत समाजको निर्माण गर्न बाँकी नै रहेको उल्लेख गर्दै त्यस्तो प्रकारको समाज निर्माणका लागि हातेमालो सबैको आवश्यक हुने बताउनुभयो । कार्यक्रममा आयोगका उपसिचव कमल ज्ञवालीले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको विविध पक्षहरु समेटिएको कार्यपत्र प्रस्तुत गर्नु भयो । कार्यक्रममा नामावली, मतदान प्रक्रिया, मतदाता शिक्षा, पर्यवेक्षण, जनशक्ति, सामग्री व्यवस्थापन लगायतको विषयमा छलफल भएको थियो ।

Shares

Be the first to comment on "प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यशाला सम्पन्न"

Leave a comment

Your email address will not be published.


*