प्याजको बेर्ना बेचेर राम्रो आम्दानी

ईश्वर बिश्वकर्मा/ चरिकोट,

 “सयको चार वटा, सयको चार वटा …..।” सातदोबाटो चोकमा बसेर भीमकुमारी चौलागाईँले ओहोरदोहोर गरिरहेकाहरूलाई प्याजको बेर्ना लान अनुरोध गरिरहनुभएको थियो । एक जना महिला आएर आठ वटा बेर्ना लिनुभयो र दुई सय रुपैयाँ दिएर जानुभयो । भीमेश्वर नगरपालिका–४ जिलुका भीमकुमारी हिजोआज प्याजको बेर्ना बेच्नमै व्यस्त हुनुहुन्छ । यो सिजनमा प्याजको बेर्ना बेचेरै ५० हजार आम्दानी गर्ने लक्ष्य राख्नुभएको उहाँले मङ्गलबारसम्म एक हजार ५ सय रुपैयाँ कमाइसक्नुभएको छ । “पाँच मुरी धान फल्ने खेतमा प्याजको दल राखेको छु ।“ उहाँले भन्नुभयो, “पोहोर एक लाख भन्दा बढीको बिक्री भएको थियो । यो वर्ष अलि घट्ला जस्तो छ । तर पनि ५० हजार त कमाइन्छ ।” चोथाङ्गका चन्द्रमाया गौतमको पनि आजभोलीको दैनिकी बनेको छ, प्याजको बेर्ना झोलामा हालेर सुरक्षित बजार ल्याउने र चोकमा बसी बेच्दै पैसो गन्ने । उहाँले एक रोपनी जग्गामा प्याजको बेर्ना उत्पादन गर्नुभएको छ । बेर्ना गाउँमै पनि बिक्री हुन्छ । बजारमा बिक्रीका लागि ल्याउदैँ गर्दा बाटैमा पनि बिक्री हुन्छ । बाँकी बजारमा जान्छ । उहाँले भन्नुभयो “अघिल्लो वर्ष एक लाख जति कमाई भएको थियो । तर यो वर्ष अलि कम होला जस्तो छ ।” उहाँ सुनाउनुहुन्छ “बच्चा हुर्काएझैँ मिहिनेत र स्याहारसुसार गरेर प्याजको बेर्ना उमारेर बेच्न योग्य बनाएको छु । अहिलेसम्म सोचेजस्तो बिक्री भएकोले गरेको मिहिनेत खेर गएन, गरे राम्रै हुन्छ ।” जिलुकै लक्ष्मी चौलागाईँले चरिकोट सातदोबाटो चोकबाटै मंगलबार २२ मुठा बेर्ना बिक्री गर्नुभयो । उहाँ पनि केही दिनअघिबाट यो मेलोमा लाग्नुभएको हो । उहाँले भन्नुभयो “ गर्दा हुन्थ्यो, तर अहिले काम गर्न नसक्ने भएर थोरै मात्रा दल राखेका थियौँ । यो पनि आफूले रोपी सकेर बचेको बेच्न ल्याएको हुँ ।” तरकारी स्वादिलो बनाउन प्याज पनि एउटा हो । त्यसैले बाहिरबाट प्याज किनेर ल्याउनुभन्दा आफ्नै खेतबारीमा उत्पादन गर्न सकेमा पैसा बचत हुने उहाँले अनुरोध गर्नुभयो । अहिले सिजन भएकोले भीमकुमारी, चन्द्रमाया र लक्ष्मीजस्तै धेरै महिलाहरूले चरिकोटबाट प्याजको बेर्ना बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने भएकोले व्यावसायिक रुपमा प्याजको बेर्ना उत्पादनतर्फ किसानहरूको चासो जान थालेको हो ।

Shares

Be the first to comment on "प्याजको बेर्ना बेचेर राम्रो आम्दानी"

Leave a comment

Your email address will not be published.


*