पुरानो लयमा फर्कन सकेन जिरी

बाबुराम शर्मा (चरिकोट)–कुनै दिन मिनी स्विटजरल्यान्ड भनेर विश्व प्रख्यात भएको जिरी विविध कारणले गर्दा पुरानो लयमा आउन सकेको छैन । सडक सञ्जाल जोडिएपछि पूर्ण रुपमा सञ्चालनमा आएको एयरपोर्ट सेवा बन्द हुन पुगेपछि आन्तरिक पर्यटक आगमनमा कम हुँदै गएकाले जिरी पुरानो लयमा आउन नसकेको जिरी नगरपालिकाका नगरप्रमुख टंकबहादुर जिरेलले गुनासो पोख्नु भयो । उहाँका अनुसार जिरीलाई पुरानै लयमा ल्याउन नगरभित्रका पर्यटक लोभ्याउने प्रायः पर्यटकीय स्थलहरुको निर्माण तथा मर्मत गरिसक्दा पनि गौचरण बनेको एयरपोर्टले असर पारिरहेको छ । स्वीस सरकाले स्थापना गरिदिएका जिल्ला अस्पताल, गाईफर्म, जिरी प्राविधिक शिक्षलय लगायत आकर्षक स्थलहरु सञ्चालनमा आइरहँदा पनि एयरपोर्ट सेवा बन्द हुन पुगेपछि जिरी पुरानै लयमा आउन सकिरहेको छैन । काठमाडौंको धूलो, धुँवादेखि वाक्क लागेर फ्रेस हुन यहाँ आउनेको संख्या पनि खासै बढेन । बाह्य पर्यटकले खचाखच हुने जिरी लयमा फर्काउन अन्य उपाय उपलब्धिमूलक बन्न नसकेपछि गुनासो पोख्दै उहाँले भन्नु भयो, “एयरपोर्ट हुँदा सोलु, ओखलढुङगालगायत र सगरमाथा आरोहणमा आउने बाह्य पर्यटक यहाँ खचाखच हुन्थे । एयरपोर्ट बन्द भएपछि उता जाने पर्यटक काठमाडौँबाटै सिधै जान्छन् । अहिले फाटफुट बाह्य पर्यटक देख्न पाइन्छ । आन्तरिक पनि त्यति आउँदैनन् । काठमाडौँका ठूला घरको झल्को दिने ठूलो टावर, अपार्टमेन्ट जस्ता ठूला बिल्डीङ, स्कुल, बास्केटबल कोच बनिसकेका छन् । अलि पर जङगल, हेरिरहुँ जस्ता दृश्य छन् । पारिपट्टिको वनलाई कुहिरोले ढाकेर हरियो वनमाथि सेतो घुम्टो ओढाए जस्तै साँच्चै मनमोहक दृश्य हेर्न पाइन्छ । गाईले ढुङगालाई दूध दिन थालेपछि पुजिन थालेका जिरेश्वरी महादेव मन्दिर,अग्लो ढुङगा, ढुङगाको गुफा भित्र त्रिसुलै त्रिसुलले भरिएका मठमन्दिरहरु । मन्दिरबाट देखिने माथिबाट बगिरहेको झरना र तल बगिरहेको निश्चल खोलाले मनै आनन्द बनाउने थुप्रै दृश्यहरु रहेका छन् । गुफामा रहेको गाईका थुन जस्ता आकृतिबाट पहिला दूध आउँथ्यो रे अहिले पनि यसरी पानी चुही रहन्छ । यहाँ जे माग्यो त्यो पूरा हुन्छ भन्ने विश्वास रहेको छ । यहाँ पर्यटकआकर्षक तुल्याउन पहिलो पटक सगरमाथा चढ्न सफल भएका प्रथम आरोही स्वर्गीय तेञ्जीङ नोर्गे शेर्पा र स्वार्गीय सर एडमण्ड पर्सिभल हिलारी पार्क निर्माण गरिएको छ । उनीहरु सगरमाथा चढ्न जाँदा यहाँ बिश्राम गर्न बसेका रहे छन् । मन नै लोभ्याउने दुई हजार ३८४ मिटर उचाइमा रहेको बुद्धपार्क निर्माण गरिएको छ । यी र यस्ता दृश्यहरु पुरै हेर्न घुम्न एक हप्ता लाग्छ । गौचरण बनेको एयरपोर्ट चउरको छेउबाटै खोला बगिरहन्छ । २०४० साल अघि एयरपोर्ट रहेको उक्त चउर गौचरण बनेको पनि करिब ४ दशक पुग्न लागिसकेको रहेछ । धेरै प्रयास गर्दा पनि एयरपोर्ट सञ्चालनमा आउन सकेको छैन । एयरपोर्ट सञ्चालनमा आए जिरी पुरानै लयमा फर्किने अपेक्षा जिरीवासीले राखेका छन् ।

Shares

Be the first to comment on "पुरानो लयमा फर्कन सकेन जिरी"

Leave a comment

Your email address will not be published.


*