पिखुती मानेडाँडामा सडक निर्माणमा सहभागी कामदारले पाएनन् पारिश्रमिक

ईस्वर बिक चरिकोट –उमेरले ६३ बर्षका यक बहादुर खत्रीले भनेजस्तो पारिश्रमिक पाउने आशाले गाउँकै पिखुती–मानेडाडाँ सडक स्तरोन्नतिको कार्यमा सहभागी भए । गाउँको सडक स्तरोन्नति हुने र गाउँमै रोजगारी पाउने भएपछि खुशी भएर युवाले झैं उनि सडक सोलिङ, ग्याबिन, मेसिनरी वाल निर्माण लगायतका काममा खटिए । तर सडक स्तरोन्नति सम्पन्न भएको १८ दिन भईसक्दा पनि उनले काम गरेबापत पारिश्रमिक पाएका छैनन् ।

बागमती प्रदेश सरकारको सांसद विकास कार्यक्रम अन्र्तगत विशाल खड्काको क्षेत्रको गौरीशंकर गाउँपालिका वडा नम्बर ३ मा रहेको सडक पिखुती मानेडाँडा सडकको स्तरउन्नोतीमा सहभागि श्रमिकले ज्याला नपाएको गुनासो गरेका हुन् । उपभोक्ता समितिले गाउँलेलाई राम्रो ज्याला दिने भनेर काममा लगाएको तर काम सम्पन्न भएपछि बिभिन्न वाहाना बनाएर ज्यालाबापतको रकम नदिएको यक बहादुर बताउँछन् । अन्य समुहका कामदारलाई ज्याला बढी दिएकोले बाँकी कामदारलाई ज्याला दिन रकम नपुगेको उपभोक्ता समितिले भन्ने गरेको उनले सुनाए । रामकृष्ण पाण्डे भन्छन् “खेती लगाउने समयमा सडकको काम गरियो । भने अनुसारको काम सम्पन्न भयो, तर पारिश्रमिक दिने बेलामा विभिन्न बाहना बनाएर उपभोक्ता समिति पन्छिन खोजिरहेको छ ।” उनले भने “लकडाउनको समयमा पनि ज्यानको बाजी लगाएर काम गरियो । तर अहिले ज्याला नपाउँदा हाम्रो मिहिनेत खेर गएको छ । त्यस्तै राजेश खत्री भन्छन् “दुख र मिहिनेतले काम गरियो तर ज्याला उपभोक्ता समितिले दिएन । अबको केही दिनभित्र नदिए हामी कानुनी उपचार खोज्न बाध्य हुनेछौं । अनि प्रष्ट हुनेछ, उपभोक्ता समितिले कति अनियमितता र भष्ट्रचार गरेको छ भन्ने कुरा” उनले भने “पटकपटक ज्याला दिन अनुरोध गरे पनि दिएको छैन् । अब त अति भइसक्यो । कामदारलाई यो अत्याचार कहिलेसम्म ?”

 

सडकको काम सम्पन्न भएपछि अनुगमन समितिले अनुगमन गरि उपभोक्ता समितिलाई भुक्तानी समेत दिइसकेको छ । सांसद विकास कोषको ५० लाख रुपैयाँ मध्ये ३७ लाख रुपैयाँ सडक स्तरोन्नतिमा खर्च गरिएको छ । सडक स्तरोन्नतीको काममा गाउँका प्रत्यक्ष लाभान्वित हुने ६ सय मानिसहरु सहभागी भएका थिए । ६ समुह बनाएर सडक स्तरोन्नति गरिएको थियो । ३ समुहलाई भने यस अघि नै ज्याला दिइसकिएको छ । तर बाँकी समुहका २ सय भन्दा बढीले पाउनुपर्ने ६ लाख २८ हजार रुपैयाँ पाउन सकेका छैनन् । करिब ६ सय भन्दा बढी स्थानीय बासिन्दाहरुको सहभागितामा २३ जेठ प्राविधिकको स्टमेटअनुसार सडक स्तरोन्नति कार्य सुभारम्भ भई असार २५ गते सम्पन्न भएको हो ।
सडक स्तरोन्नतीको काम सम्पन्नसगैं गाउँमा गाडी सञ्चालन गर्न सहज हुने भन्दै स्थानीय खुुसी भएका कामदार पारिश्रमिक नपाउँदा आक्रोषित भएका छन् । स्थानिय न्यायिक समितिमा कामदारहरुले लिखित निवेदन दिएका छन् । तर उजुरीको विषयमा आफुलाई जानकारी नभएको गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक उर्मिला थामीले बताइन् । उनले न्यायिक समितिमा उजरी परेको भए भोली नै बोलाएर यस विषयमा छलफल गरि ज्याला नपाएका कामदारहरुलाई ज्याला दिलाउने प्रतिबद्धता जनाईन् । उनले कतिपय कामदारले त ज्याला बढी लिन खोजेको समेत नै आरोप समेत लगाइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप खड्काले सडक स्तरोन्नतीको कामको अनुगमन गरि भुक्तानी दिईसकिएको भएपनि कामदारलाई उपभोक्ता समितिले ज्याला नदिनु दुखद रहेको बताए । उपभोक्ता समितिले काम गरेबापत ज्याला नदिएको कामदारहरुको गुनासो आइरहँदा समितिले भने अन्य ३ समुहलाई ज्याला रकम बढी दिएकोले बाँकीलाई दिन नपुगेको जनाएको छ । समितिका अध्यक्ष अनिल कुमार खड्काले भने समितिका अन्य पदाधिकारीले आफुलाई फकाएर चेकमा दस्तखत गर्न लगाइ बढी पैसा दिएको आरोप लगाएका छन् । हामीले बढी पैसा लेखेको चेकमा किन दस्तखत गर्नु भो भनि राखेको जिज्ञासाको उत्तर दिदैं उनले भने “अन्य पदाधीकारीले मलाई झुक्याएर हस्ताक्षर गर्न लगाएका थिए ।” उनले भने “यस बिषयमा निष्पक्ष छानबिन होस्, भन्ने म पनि चाहन्छु ।” अहिले उपभोक्ता समितिको खातामा २ लाख ३५ हजार रुपैयाँ बाँकी रहेको छ । कामदारलाई दिनुपर्ने बाँकी रकम मैंले कहाँ बाट ल्याउने?”

अनिल खड्काको अध्यक्षतामा गठित उक्त समितिमा साङ्दोर्जे शेर्पा उपाध्यक्ष, कमल बहादुर खत्री सचीव, सुजना बस्नेत कोषाध्यक्ष, ज्ञान बहादुर तामाङ सहसचिव र अन्य ८ जना सदस्य रहेका छन् । उपभोक्ता समितिको बैठकमा समेत अन्य पदाधिकारीहरु नआउने गरेको उनले बताएका छन् । उक्त उपभोक्ता समितिमा गम्भीर छानबिन हुनुपर्ने स्थानीयहरुले बताएका छन् ।

https://www.youtube.com/watch?time_continue=918&v=fi-Mj4l-_7I&feature=emb_title

Shares

Be the first to comment on "पिखुती मानेडाँडामा सडक निर्माणमा सहभागी कामदारले पाएनन् पारिश्रमिक"

Leave a comment

Your email address will not be published.


*