पहिले पराजित, अहिले जित

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ ६
जसले २०७४ को निर्वाचनमा पराजित भई पालिकाको नेतृत्व गर्ने अवसर गुमाएका थिए । पाँच वर्ष पछि निर्वाचित भई तिनैले सोही पालिकाको बागडोर सम्हाल्ने जिम्मेवारी पाएका छन् । पाँच वर्ष प्रतिपक्षमा रहेर शक्ति बटुलेर चुनावमा होमिदाँ जित हासिल गर्न सकिने गतिलो उदाहरण प्रस्तुत भएको छ ।
ईश्वर नारायण मानन्धरः भीमेश्वर नगरपालिका
भीमेश्वर नगरपालिका दोलखामा मात्र होइन, देशभर नै चर्चित एक प्राचीन नगर हो । ऐतिहासिक, सांस्कृतिक, धार्मिक, राजनीतिक दृष्टिकोणले अब्बल भीमेश्वर नगरपालिकामा पाँच वर्षको लागि बागडोर समाह्लने जिम्मेवारी कांग्रेसले पाएको छ । बिहीबार सम्पन्न मत परिणामअनुसार नगरपालिकाको प्रमुखमा कांग्रेसका ईश्वरनारायण मानन्धर फराकिलो मतान्तरले विजयी हुनुभएको हो । उहाँले निकटम प्रतिद्धन्द्धि एमालेका उम्मेदवार हरिवंश चौलागाईँलाई पराजित गरी नगरको नेतृत्वको जिम्मेवार पाउनुभएको हो । उहाँले ८ हजार ७ सय २३ मत प्राप्त गर्नुभएको छ, भने चौलागाईँले ७ हजार ३ सय १ मत प्राप्त गनुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका भरत केसीसँगको प्रतिस्पर्धामा मानन्धरले पराजित हुनुपरेको थियो । तर यो पटक भने मानन्धरले बाजी मार्नुभएको हो । उहाँले मतगणनाको सुरुवातदेखि अग्रता लिइरहनुभएको थियो । वडा नं. १, २, ३, ८ बाट उहाँलाई अन्य वडाको भन्दा उच्च मत प्राप्त भएको छ ।

पाँच वर्ष अघि निर्वाचनमा पराजित भएपछि प्रतिपक्षमा रहेर नगरको विकासमा सहयोग र खबरदारी गरिरहनुभएका मानन्धरले यो पटक निर्वाचन जित्ने शक्ति र क्षमता बढाउनुभएको थियो । त्यसैले पनि उहाँको जित भएको छ । २०३८ सालदेखि निरन्तर समाजसेवा र राजनीतिमा सक्रिय मानन्धर कांग्रेसका प्रिय नेता हुनुहुन्छ । विकासप्रेमी नेताको रुपमा स्थापित मानन्धरलाई पुनः कांग्रेसले भीमेश्वर नगरपालिकाको प्रमुख पदका लागि टिकट दिएको थियो । नवनिर्वाचित नगर प्रमुख मानन्धरले आगामी पाँच वर्ष नागरवासीका लागि खास र उल्लासमय वर्ष बनाउने संकल्पका साथ आफूले जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो । यसअघि नगरमा भएका कमीकमजोरीलाई सुधार्दै नगरलाई थप अब्बल र विकासका दृष्टिकोणले नगरबासीले अनुभव गर्न पाउने गरी काम गर्ने उहाँले बताउनुभयो । नागरिकको समस्यालाई सूक्ष्म अध्ययन गरी योजना तथा कार्यक्रममा समावेश गरी समाधान गरिने र चुनावको बेला गरिएका प्रतिबद्धतालाई पूरा गरिने नगर प्रमुख मानन्धरले बताउनुभयो ।
रिमालबाबु श्रेष्ठः शैलुङ गाउँपालिका
माओवादीमा लागेर जनयुद्धमा होमिदा बाँया हात गुम्यो, तर रिमालबाबु श्रेष्ठको राजनीतिक यात्रा भने गुमेन । शान्ति प्रक्रियामा आएपछि उहाँको राजनीतिक जीवनले थप क्रियाशिलता पायो । शान्ति पक्रियापछि माओवादीको जिल्ला कमिटि सदस्य एवं सचिवालय सदस्य बन्नुभयो । २०६४ मा शैलुङको इलाका नम्बर ७ को सचिव र ईञ्जार्जको जिम्मेवारी सम्हाल्ने अवसर पाउनुभयो ।
संघर्षशील भएर राजनीतिमा सक्रिय हुँदाहुँदै श्रेष्ठले जनप्रतिनिधि बन्ने आकांक्षा सहित २०७४ को स्थानीय तहको निर्वाचनमा शैलुङ गाउँपालिकाको अध्यक्ष पदका लागि माओवादीबाट उम्मेदवारी दर्ता गराउनुभयाे । तर सोचे जस्तो भएन । उहाँले नमिठो गरी पराजित हुन प¥यो ।
निकै संघर्ष र चुनौतीलाई समाना गरी राजनीतिक जीवन यहाँसम्म पार गरिसक्नुभएका रिमालबाबुले २०७४ मा हार्दाको तितो यथार्थलाई सपना जस्तै मानेर भुलिदिनु भयो र त्यसको पाँच वर्ष पछि भएको अर्थात् गत बैशाख ३० गतेको निर्वाचनमा पुनः पालिका अध्यक्षको लागि उम्मेदवार बन्नुभयो । एक पटक हार व्योहोर्दा अर्को पटक पनि हारिन्छ भन्ने डर उहाँमा पटक्कै थिएन । जित्ने दृढ विश्वासका साथ उहाँ पालिका अध्यक्ष बन्न चुनावी प्रतिस्पर्धामा उत्रिनुभयो । यो पटक भने शैलुङ गाउँपालिकाका जनताले पत्याएर उहाँको काँधमा पालिकाको नेतृत्व गर्ने अवसर दिएका छन् । दृढ विश्वास र जनमतकै कारण उहाँले पाँच वर्ष सम्म पालिकाको नेतृत्व गर्ने अवसर पाउनुभएको छ । निकै प्रतिस्पर्धाका बीच उहाँ पालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । बिहीबार सम्पन्न मत परिणामअनुसार श्रेष्ठले ४ हजार ९ सय १८ मत प्राप्त गरी पालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले निकटम प्रतिद्धन्द्धि नेकपा एमालेका धन बहादुर तामाङलाई पराजित गरी निर्वाचित हुन सफल हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी तामाङले ४ हजार ८ सय ३० मत ल्याई पराजित हुनुभएको छ । २०७४ सालमा एमालेले श्रेष्ठलाई हराएको थियो । अहिले उहाँले एमालेलाई हराउनुभएको हो । उहाँले पालिकाको समृद्धि र विकासको निम्ति घोषणापत्र र जनचाहना अनुसार काम गर्ने बताउनुभयो ।

Shares

Be the first to comment on "पहिले पराजित, अहिले जित"

Leave a comment

Your email address will not be published.


*