पहिरोले सिंगटीको नवनिर्मित विद्यालयसहित बजार क्षेत्र नै जोखिममा

चरिकोट (दीस) –जिल्लाको कालिञ्चोक गाउँपालिका–३, सिंगटी बजारमा माथिको भूभाग चर्किदा सिंगटी बजार नै जोखिममा परेको छ । साथै बजार भन्दा माथि बनेका कालिनाग माध्यमिक विद्यालयको भवन तथा त्यस क्षेत्रमा बनेका भौतिक संरचना समेत पहिरोको जोखिममा परेको हो । लामिडाँडाको सिंगटी बजार नजिकै पहिरो जान थालेपछि चीन सरकारको सहयोगमा निर्माण भएको यो विद्यालयको आधुनिक भवनका साथै प्राथमिक स्वास्थ्य केन्द्र र विभिन्न जलविद्युत आयोजनाहरुका प्रशारण लाइनका टावरहरू पनि जोखिममा परेका छन् । सो गाँउपालिकाका अध्यक्ष कुल बहादुर बुढाथोकीले सिंगटी बजारलगायत संरचनाहरूलाई समयमै पहिरो रोकथामका उपाय नअपनाए ठूलो क्षति हुन सक्ने बताउनु भयो । अहिले बजार क्षेत्रमा माथिबाट केही स्थानमा चर्र्किएको र बजार क्षेत्रलाई समेत जोखिम बढाएको उहाँको भनाई रहेको छ । “सडक र बजार क्षेत्रमा ढुंगामाटो खस्न थालेको छ, ठूलो वर्षाले पहिरोको सम्भावना झन् बढाएको छ।” उपाध्यक्ष बुढाथोकीले भन्नु भयो , “सरकार तथा उत्तरी क्षेत्रमा रहेका अपर तामाकोशी हाईड्रोपावर तथा उत्तरी क्षेत्रमा बनेका जलविद्युत आयोजनाहरुको ध्यान यस विषयमा जान आवश्यक रहेको छ ।” पहिरो रोकथामका उपाय चाँडै नअपनाइए, ठूलो मानवीय र संरचनात्मक क्षति हुनसक्ने संभावना रहेकोले यस समस्यालाई सम्बोधन गर्न समयमै आवश्यक पहल गर्नु अत्यावश्यक रहेको उहाँको भनाई रहेको छ । यदी पहिरो गएमा यस क्षेत्रमा अरबौको सम्पत्ति क्षति हुने भन्दै उहाँले सरोकारवालहरुले बेलैमा पहिरोलाई नियन्त्रण गर्न लाग्नु पर्ने बताउनु भयो । जमिन चर्किएको क्षेत्रमा यो पालिकाको बजेटले मात्र पहिरो नियन्त्रण गर्न नसक्ने बताउदै उहाँँले अरु निकायले पहिरो नियन्त्रण गर्न बजेट विनियोजन गर्नु उहाँको भनाई रहेको छ । अहिले चर्किएको जमिनले बजारलाई समेत पहिरोको जोखिम बढाएको स्थानीयहरुको भनाई रहेको छ ।

 

 

Shares

Be the first to comment on "पहिरोले सिंगटीको नवनिर्मित विद्यालयसहित बजार क्षेत्र नै जोखिममा"

Leave a comment

Your email address will not be published.


*