पशु बीमा तर्फ किसानको आकर्षण बढ्दै

ईश्वर बिश्वकर्मा
चरिकोट, साउन २९
पशु बीमा तर्फ दोलखाका किसानहरुको आकर्षण बढ्दै गएको छ । पशुधन बीमा गरेमा सरकारले कृषकलाई अनुदान दिने हुनाले पशुपालक कृषकहरुको पशु बिमा तर्फ आकर्षण बढेको हो ।
प्रिमियर इन्सुरेन्स कम्पनी (नेपाल) लिमिटेड, अनुसार दोलखामा गत आर्थिक वर्ष २०७५÷०७६ करिब १४ सय पशुधनीले पशु बिमा गरेको शाखा प्रमुख कल्याण प्रसाद भण्डारीले बताए ।
उनका अनुसार प्रिमियर लाइफ इन्सुरेन्समा गाई, भैँसी, बाख्रा, चौँरी, गोरु, भेँडा र बङ्गुर लगायतका पशुको बिमा गरिएको छ ।
सबैभन्दा बढी १४ सय ८७ वटा बाख्राको बिमा गराइएको छ । त्यसैगरी गाई ७ सय २ वटा, चौरीँ ८ सय ७३ वटा, भैँसी ४ सय ६६ वटा, १०२ वटा बङ्गुर, ७३ वटा भेँडा, ९८ वटा गोरु लगायत गरी ३८ सय ९१ पशुको बिमा गरिएको उनले बताए । पशु बीमा गरेका १ सय ७२ जना पशु धनीले ४३ लाख ५१ हजार ६ सय २५ रुपैँया बराबरको क्षतिपूर्ति पाएका भण्डारीले बताए ।

त्यसैगरी लुम्बीनी जनरल इन्सुरेन्स कम्पनी लिमिटेडमा गाई ४६ वटा, बाख्रा २५६ वटा, भैँसी ७२ वटा, चौँरी १ सय ८२ वटा र भेँडा ९३ वटा गरी ६ सय ४९ पशुको बीमा गरिएको कम्पनीका उपशाखा प्रबन्धक रामचन्द्र केसीले बताए ।

त्यसैगरी आइएमई जनरल इन्सुरेन्स लिमिटेडले करिब ३ सयको संख्यामा पशु बीमा गराइएको लिमिटेडका शाखा प्रमुख दिपक प्रसाद दाहालले बताए ।
पशु बीमा गर्दा ७५ प्रतिशत सरकारले र २५ प्रतिशत कृषकले व्यहोर्नु पर्दछ ।
दोलखामा पशु बीमा गर्ने कृषक केही बढे पनि बाली बीमा गर्नेको कृषकको संख्या भने नरहेको उनले बताए ।
दोलखामा मुख्य तिन बीमा कम्पनी प्रिमियर इन्सुरेन्स कम्पनी (नेपाल) लिमिटेड, लुम्बीनी लाइफ जनरल इन्सुरेन्स र आइएमई जनरल इन्सुरेन्स लिमिटेडले पशु तथा बालीको बीमा गर्ने गरेको छ ।

पशु धनीले बीमा गर्न चाहेको खण्डमा प्राबिधिकहरु पशु जाँचका लागी जाने र बीमा गर्ने पशु स्वस्थ भएमा फाराम भरि पशुलाई चिह्न लगाइन्छ । त्यस पश्चात् बीमाको पक्रिया अगाडी बढाइन्छ ।

Shares

Be the first to comment on "पशु बीमा तर्फ किसानको आकर्षण बढ्दै"

Leave a comment

Your email address will not be published.


*