पवटीमा उत्पादित अन्नबाली बेच्न नपाइने

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २४
दोलखाको मेलुङ गाउँपालिका वडा नं १ पवटीमा उत्पादित अन्नबाली अन्य वडा तथा अन्य स्थानमा बेच्न नपाइने भएको छ ।
आइतबार वडामा बसेको सर्वदलीय बैठकले लकडाउनको समयमा थपिने र खाद्यान्न संकट आईपर्ने भन्दै उत्पादित भण्डारण गरिराखेको अन्नबाली कृषकले अर्काे सुचना जारी नभइन्जेलसम्म बेच्न नपाइने निर्णय गरेको हो ।
वडाध्यक्ष ईश्वर कोईरालाका अनुसार वडामा उत्पादन भएका सिंचित अन्नबाली बेचेमा भोकै रहनुपर्ने अवस्था आउने छ । त्यसैले वडामा उत्पादन भएका जुन सुकै खाद्यान्न जन्य वस्तु अन्य वडा तथा पालिकामा नबेच्न अनुरोध छ । उनले भने “यो समय अन्नबाली नबेच्न आग्रह गर्दछौं । तर जो भोको पेट छ, उसलाई भने खाद्यान्नको प्रबन्ध गरिदिने छौं । अाफ्नाे वडामा भने बेच्न पाइने छ ।” उनले वडामा करिब १ वर्ष सम्म पुग्ने खाद्यान्न मौज्दात रहेको दाबी गरेक छन् । वडामा धान, मकै, कोदो लगायतका अन्नबाली उत्पादन हुने गरेको उनले बताए ।
बिहान ६ बजेदेखि ९ बजेसम्म खाद्यान्न पसल खोल्न पाइने, औषधी पसल बन्द गर्न नपाईने
वडा नं १ पवटीमा रहेको विभिन्न स्थानका किराना पसल तथा खाद्यान्न बिहान ६ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न पाइने भएको छ । सर्वदलीय बैठकले खाद्यान्नको सहज आपूर्तिका लागि उक्त समयमा सामाजिक दुरी कायम गरि हात धोएर साबधानी पुर्वक खाद्यान्न बिक्री गर्न पाइने निर्णय गरेको हो । हात धुनका लागि पवटीका विभिन्न स्थानमा रहेका पसलहरुले प्रबन्ध मिलाउन समेत अनुरोध गरिएको छ । पसल तथा होटेल सञ्चालक र कुनै पनि घर धनिले मानिस जम्मा गरेर जुवातास खेलाउने, भिड जम्मा पारेर होहल्ला गर्न गराउन नपाइने, जाड रक्सी , चुरोट बिडि जस्ता स्वास्थ्यलाई हानी गर्ने कुराहरु बिक्रीवितरण गरेको पाइए कानुनी कारबाही गरिने वडाले जनाएको छ । वडामा मानिसहरु भेला भई मासु खानका लागि खसी बोका लगायतको घरपालुवा जनावर काट्ने गरेको पाइएकाले त्यस्तो नगर्न वडाले अनुरोध गरेको छ । धेरै मानिसहरु भेला गराइ खसी काटने, भोजभतेर गर्ने, खोलामा माछा मार्न जाने गरेको पाइएकाले सो कार्य रोक्न वडाध्यक्ष कोइरालाले बताए । वडामा अनावश्यक भेला हुने, होहल्ला गर्ने, मदिरा खाने जस्ता कार्यहरु रोक्न वडावासीलाई उनले आग्रह गरेका छन् ।
क्वारेन्टाइन  निर्माण गरिने
वडाले आवश्यक परेको वा अवस्था जटिल बनेको अवस्थामा क्वारेन्टाइन निर्माण गर्ने जनाएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै वडाले पवटीको दियालेखर्क निमावि, सिम्टे प्रावि, भङ्गेरी मावि र सत्यश्वर माविलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने वडाध्यक्ष कोइरालाले बताए । कोरोनाबारे जनचेतनाको अभाव रहेकाले वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटी पवटी उपशाखाको सहकार्य र नेपाल प्रहरीको सहयोगमा टोल टोलमा जनसचेतना मुलक सन्देश दिने पनि उनले बताए । लकडाउनको उल्लघङ्न गर्नेलाई वडाले कारबाहीका लागि माथिल्लो निकायमा सिफारिस गरिने पनि वडाले जनाएको छ ।

Shares

Be the first to comment on "पवटीमा उत्पादित अन्नबाली बेच्न नपाइने"

Leave a comment

Your email address will not be published.


*