पञ्चैबाजा संरक्षणमा लाग्यो वडा

ईश्वर बिश्वकर्मा
चरिकोट, असार १३
केहि बर्ष अघि जिल्लाको विभिन्न शुभ कार्य तथा समारोहमा उत्साहका लागि पञ्चैबाजा बजाइन्थ्यो । लोक बाजा अन्तर्गत पर्ने पञ्चै बाजा बजाएरै दलित समुदायका परियार जातिले केहि आयआर्जन पनि गर्दथे । तर आधुनिक बाजाको विस्तारसगैँ विवाह लगायतको शुभ समारोहमा पञ्चैबाजा बजाउने परम्परा र संस्कृति लोप हुने अवस्थामा रहेको छ । परम्परा र संस्कृतिमात्र होइन, पञ्चैबाजा बजाउने कला र सीप पनि बिस्तारै हराउदैं गएको छ । कतिपयले त पञ्चैबाजा बजाउन छाडिसकेका छन् । यसरी लोप हुँदै गएको पञ्चैबाजा संरक्षणमा भीमेश्वर नगरपालिका वडा नं ४ ले बजेट विनियोजन गरेरै लागि परेको छ । वडामा पञ्चैबाजा संरक्षण र संवद्र्धन गर्ने नीति आगामी आर्थिक वर्षको लागि बनाईको वडाध्यक्ष हरिवंश चौलागाईंले बताए ।
वडाले उक्त नीति कार्यान्वयनका लागि पञ्चैबाजा खरिद गर्न १ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।
उनले परियार समुदायले बजाउदैँ आएको सांस्कृतिक र सामाजिक महत्वको पञ्चैबाजा बजाउने सीप जोगाउन पञ्चैबाजा खरिदका लागि बजेट विनियोजन गरिएको बताए । परम्परादेखि चलिआएको लोकबाजा पञ्चैबाजा संरक्षण गर्न युवा पुस्तालाई सिप हस्तान्तरण गर्नुपर्ने उनि बताउँछन् ।
पञ्चैबाजामा दमाहा, सनाही, ट्याम्को, ढोलकी र झ्याली गरि पाँच बाजाहरु पर्दछन् । वडामा दलित समुदायका सार्की, दमाइ र कामी रहेका छन् । यस वडाका दलित समुदायले परम्परागत रुपमा छुवाछुत तथा विभेद नभएपनि कुनै न कुनै रुपमा छुवाछुत खेपिरहेका छन् । यसको अन्त्यका लागि वडामा छुवाछुत मुक्त कार्यक्रमको भने आयोजना गरेको छैन ।

बिश्वकर्मा राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा दोलखाका सहसचिव हुन् ।

Shares

Be the first to comment on "पञ्चैबाजा संरक्षणमा लाग्यो वडा"

Leave a comment

Your email address will not be published.


*