नेपालद्वारा केन्या ३ विकेटले पराजित, नेपालको शीर्ष दुईको सम्भावना कायम

काठमाडौं ।  नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपालले तेस्रो जित निकालेको छ । सोमबार भएको चौथो खेलमा केन्यालाई ३ विकेटले हराउँदै नेपालले तेस्रो जित निकालेको हो ।

विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा केन्याले दिएको १७८ रनको लक्ष्य नेपालले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर पुरा गर्यो । खराब सुरुवात गरेको नेपालको जितमा मध्य क्रमको ब्याट्सम्यानद्वय रोहित कुमार पौडेल र आरिफ शेखले उत्कृष्ट ब्याटिङ्ग प्रदर्शन गरे । यसै प्रतियोगिताबाट डेब्यु गरेका रोहितले ४७ तथा आरिफले ४२ रनको योगदान गरे ।

यस्तै कप्तान पारस खड्काले ४२ रनको योगदान दिए । नेपालले मात्र १४ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको थियो । तर, कप्तान पारसले ४४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै नेपालको पारी उकासेका थिए ।  नेपालका शरद भेषवाकरले १९ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रन बनाए । डेब्यु खेलाडी अनिल कुमार साह शुन्य रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरी एक रनमा पेभेलियन फर्किए । सोमपाल कामी ५ तथा करण केसी सुन्य रनमा अविजित रहे । केन्याका इम्यानुएल बुन्दीले ३ तथा नेहिम ओधिअम्बो, नेल्सन ओधिअम्बो र शेम नोग्चेले समान १ – १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले पुरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा १७७ रन बनाएको थियो । बसन्त रेग्मीको बलमा आउट हुनुअघि केन्याका इर्फान करिमले ४२ रन बनाए । यस्तै एलेक्स ओबान्डाले ४१, कोलिन्स ओबुयाले २७, नेल्सन ओधियाम्बोले २४ र शम गोचेले २३ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने एकलैले ५ विकेट लिएका छन् । निकै किफायती बलिङ गरेका सन्दीपले १० ओभरमा ५ मेडन ओभर राख्दै २० रन खर्चेर ५ विकेट लिएका हुन् ।

सन्दिपको यो बलिङ फिगर लिष्ट ए क्रिकेटमा नेपाली बलरमध्ये सबैभन्दा राम्रो बलिङ फिगर हो ।  त्यस्तै, नेपालका लागि बसन्त रेग्मी, सोमपाल कामी र शरद भेषवाकरले समान १–१ विकेट लिए ।

योसंगै नेपालले केन्यासँग नामिवियामै ३ वर्षअघि भएको डिभिजन टु मा दुई खेलमा बेहोरेको हारको बदला समेत लिन सफल भएको छ । यस्तै नेपालले पछिल्लो पाँच खेलमा केन्यालाई दोस्रो पटक हराएको हो । यसअघि नेपालले घरेलु मैदानमा भएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्यालाई एक खेलमा हराएको थियो ।

यो जितसंगै  ६ राष्ट्र सम्मलित डिभिजन टु मा नेपालले चार खेलबाट ६ अंक जोडेको छ । र, नेपालले डिभिजन टु को शिर्ष स्थानमा रहदै विश्वकप छनोटमा पुग्ने सम्भावना कायम राखेको छ । अब अन्तिम खेलमा बुधबार क्यानडासँग खेल्ने छ ।

प्रतियोगितामा क्यानडा लगातार तीन खेल जित्दै ६ अंक जोडेर लिगको शिर्ष स्थानमा छ । लगातार तीन खेलमा पराजित केन्या पुछारमा रहेको छ भने ४ अंक जोडेको युएई तेस्रो र समान २ – २ अंक जोडेको नामिविया र ओमान चौथो र पाँचौ स्थानमा रहेको छ ।

Shares

Be the first to comment on "नेपालद्वारा केन्या ३ विकेटले पराजित, नेपालको शीर्ष दुईको सम्भावना कायम"

Leave a comment

Your email address will not be published.


*