नेटवर्किङ शैलीमा दोलखामा यसरी ठगिए १२ सय किसान

तलब नपाए पछि जिल्ला प्रशासन कार्यालय दोलखामा निवेदन बुझाउँदै दोलखामा कार्यरत कर्मचारी

चरिकोट (दीस) – सरकारले प्रतिबन्ध लगाएको नेटवर्किङ व्यवसायको शैलीमा एक कम्पनीले दोलखाका १२ सयजना कृषकलाई ठगि गरेको खुल्न आएको छ । नेटवर्किङ शैली अपनाएर दोलखाको भीमेश्वर नगरपालिका, गौरीशंकर र विगु गाउँपालिका गरी ३ स्थानीय तहका कृषकलाई आकर्षक सुविधाको लोभ देखाइ निजी कम्पनी फरार भएपछि दोलखाका करिब १२ सयजना कृषक ठगिएका हुन् । ११ सय ६४ कृषकसँग पाँचसयदेखि २ हजारसम्म रकम उठाएर एसोसियसन अफ एग्रीकल्चर नेपाल नामक कम्पनीले करिब ५० लाख उठाएपछि चरिकोटस्थित कार्यालय बन्द गरी सम्पर्कविहीन भएको छ। बिउबिरुवा, चौपाया उपलब्ध गराउने लालच देखाइ कृषकको घरदैलोमै पुगेर पीरामिड शैलीमा कम्पनीले भीमेश्वर नगरपालिकामा ८२९, गौरीशंकर गाउँपालिकामा २८५ र विगु गाउँपालिकामा ५० कृषक ठगिमा परेको पीडितको आरोप छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरी २०७५ सालदेखि भीमेश्वर नगरपालिका लगायत अन्य केही स्थानीय तहको स्वीकृतिमा कम्पनीले सामाजिक परिचालक भनी आफूलाई नियुक्ति दिएको भीमेश्वर नगरपालिका–३, तार्थलीकी सुन्दरी कार्कीले बताइन् । बिउबिजन, बोटविरुवा निःशुल्क उपलब्ध गराउने, उन्नत जातका पशुहरु खरिद गर्न ५० प्रतिशत रकम किस्तावन्दीमा तिर्ने गरी लगानी गर्ने, सीपका आधारमा ५० प्रतिशत छुट दिने आश्वासन दिएपछि आफूहरुले किसानलाई सदस्य बनाएको उनको भनाइ छ । दुईसय कृषकको पिरामिड बनाएपछि सदस्य बनाउने परिचालकलाई ५० हजार रकम उपलब्ध गराउने आश्वासन कम्पनीले दिएको थियो । ११ जना कर्मचारी नियुक्त गरी सक्रिय सदस्यबापत २ हजार तथा सदस्यलाई ५ सय लिइ सदस्य बनाइने गरेको कर्मचारीहरुले बताए । कर्मचारीहरुले एक वर्षदेखिको तलब नपाएपछि जिल्ला प्रशासनमा उजुरी गरेका छन् भने ठगिएका कृषकले प्रहरीमा उजुरी दर्ता गराएका छन् । एग्रो फरेष्ट्री प्रोजेक्ट भन्दै एउटा अगरउड र दुईवटा कागतीको विरुवा आफूहरुले प्राप्त गरेको भीमेश्वर नगरपालिका–३, राउतगाउँका संजिव राउतले बताए । भीमेश्वर नगरपालिका–७, साखिनेका पशुपालक कृषक हरिबोल बस्नेत, सुवास बस्नेत, रुद्र बस्नेत तथा सुदर्शन बस्नेतबाट कम्पनीले ८०–८० हजार रुपैयाँमा उन्नत जातको गाई ल्याइदिने भनी ४०–४० हजार रुपैयाँ लिएको किसान हरिबोल बस्नेतले बताए । ’उन्नत गाई ल्याइदिने भनेपछि ५० प्रतिशत रकम भनी ४०–४० हजार बुझायौं तर न त गाई आयो न त पैसा नै पाइयो,’ बस्नेतले भने, ’बरु, गाईपालनको लागि खरिद गरेको ५० भारी पराल कुहियो ।’ कम्पनीका कर्मचारीहरुले फोटो टाँसेर किसान परिचयपत्र भन्दै गाउँगाउँमा बाँड्न लागेकोले सरकारी परिचयपत्र नैं होला भनेर आफूले पनि दुईहजार तिरेर सदस्यता लिएको विगु गाउँपालिकाका कृषक भीमबहादुर श्रेष्ठले बताए ।
किसानलाई ढाँटेर लिएको पैसा साँवाब्याजसहित फिर्ता गर्नुपर्ने गौरीशंकर गाउँपालिकाकी कृषक डोल्मा शेर्पाले बताइन् । २०७६ असोज ३ गतेबाट कार्यालय बन्द भएपछि कम्पनीका संचालक गणेशदत्त भट्टसँग सम्पर्क गर्दा केही समयसम्म गाई ल्याइदिने भने पनि पछि मोबाइल अफ गरेर सम्पर्कविहीन बनेको कर्मचारीको भनाइ छ ।
प्रशासनमा भट्टकाविरुद्ध उजुरी परेको तथा निजलाई प्रहरीमार्फत खोज्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले बताए ।बाँके जिल्लाको तत्कालीन कोहलपुर नगरपालिका–११, ठेगाना राखी एसोसिएसन अफ एग्रिकल्चर नेपाल प्रालि नामक कम्पनी २०७३ माघ ९ मा कम्पनी राजिष्ट्रारको कार्यालयमा दर्ता भएको रेकर्ड छ ।
कम्पनी संचालक भट्ट कञ्चनपुर जिल्लाको तत्कालीन झलारी गाविस–२ का स्थायी बासिन्दा हुन् । भट्टले कम्पनीको सञ्जाल ६२ जिल्लामा फिँजाएको कर्मचारीको भनाइ छ ।

Shares

Be the first to comment on "नेटवर्किङ शैलीमा दोलखामा यसरी ठगिए १२ सय किसान"

Leave a comment

Your email address will not be published.


*