नेकपाले भन्यो – बैतश्वर गाउँपालिकामा जग्गा अपचलन भयो ,तीन नेतालाई कारबाहीको सिफासिस

चरिकोट (दीस) –दोलखाको बैतश्वर गाउँपालिकाका आफ्ना नेता जग्गा अपचलनमा परेपछि नेकपा दोलखाले तीन जनालाई कारबाहीको सिफारिस गरेको छ । नेकपा दोलखाले आज आफ्नो प्रतिबेदन सार्वजनिक गर्दै बैतेश्वर गाउँपालिकामा निर्वाचित जनप्रतिनिधीले जग्गा अपचलन गरेको नेकपाले ठहर गरेको छ । जग्गा अपचलन गर्ने व्यक्ति विरुद्ध अख्तियारमा तथा न्यायलयमा जान खुल्ला रहेको बताएको छ । नेकपा दोलखाले बैतेस्वर गाउँपालिकाको केन्द्रका लागि जनताले दान गरेको जग्गा अपचलनमा संलग्न भएको भन्दै दुई जिल्ला कमिटी सदस्य सहित तीन जनालाई कारवाही गर्ने भएको छ । जिल्ला कमिटी सदस्य एवँ बैतेस्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य र अर्का जिल्ला कमिटी सदस्य बालकुमार दाहाल तथा बैतेस्वर गाउँ संगठन कमिटीका सदस्य पदमवहादुर दाहाललाई कारवाही गर्ने निर्णय गरेको हो । नेकपाले बैतेस्वर गाउँ संगठन कमिटीका सदस्य पदमवहादुर दाहाललाई पार्टीको संगठित सदस्य तथा गाउँपालिका संगठन कमिटीको सदस्य पदवाट निलम्वन गरेको छ । दुई जना जिल्ला कमिटी सदस्य र एक जना गाउँ संगठन कमिटीका सदस्यलाई प्रदेशमा निलम्बन गर्न सिफारिस गरेको छ । उनीहरुलाई राजनैतिक नैतिकताका आधारमा गाउँपालिका वा सम्वन्धित जग्गाधनीलाई जग्गा फिर्ता गर्न निर्देशन पनि दिएको छ ।
जग्गादाता व्यक्तिहरुको जग्गा जग्गा व्यवस्थापन समितिका सदस्यहरु बालकुमार दाहाल र पदमवहादुर दाहालको नाममा रजिस्ट्रेसन पास गरिनु, जग्गा व्यवस्थापनको काम सुरु भएको करिव तीन बर्षको अवधिमा पनि सम्वन्धि जग्गादाताले सोधभर्नाको जग्गा प्राप्त नगरी व्यक्तिको नाममा जग्गा रजिस्ट्रेसन पास गरी राख्नु जनताले दान गरेको जग्गा नीतिगत र संस्थागत रुपमै अपचलन भएको नेकपाले ठहर गरेको छ ।
जिल्ला सचिवालय सदस्य एवँम नेकपा बैतेस्वरका इन्चार्ज भिमप्रसाद दाहालको संयोजकत्वमा बनेको छानविन समितिमा जिल्ला सचिवालय सदस्यहरु लक्ष्मण खड्का, सुव्वा श्रेष्ठ र रोचकुमारी चौंलागाई तथा नेकपा बैतेस्वरका अध्यक्ष माधवप्रसाद दाहाल, पूर्व जिल्ला कमिटी सदस्य माधवप्रसाद घिमिरे र बैतेस्वर संगठन कमिटीका सचिवालय सदस्य हरिवहादुर पाण्डे सदस्य रहेका थिए । समितिले असोज २० गते नेकपा दोलखालाई बुझाएको १४८ पृष्ठ लामो प्रतिवेदनमा जनताले दान गरेको जग्गा बालकुमार र पदमवहादुरको नाममा रजिस्ट्रेसन पास गरी उनीहरुकै नामवाट बैतेस्वर गाउँपालिकाका अध्यक्ष छवि लामा, उपाध्यक्ष रविचन्द्र आचार्य, वडा अध्यक्षहरु सम्शेर घिसिङ, बृखवहादुर तामाङ र कृष्णवहादुर दाहालको श्रीमती, अर्का वडा अध्यक्ष श्याम तामाङको आमा र गाउँ कार्यपालिका सदस्य एवँ जग्गा व्यवस्थापन समितिका सदस्य देवराज खत्रीको भाईबुहारीको नाममा जग्गा जग्गा पास गरी अपचलन गरेको नेकपाको दोलखाको ठहर रहेको छ ।

 

 

Loading

Shares