निर्वाचन कार्यालयको भवन निर्माण सुरु

ईश्वर बिश्वकर्मा
चरिकोट, भदौ ११
जिल्ला निर्वाचन कार्यालय दोलखाको कार्यालय भवन निर्माण कार्य सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रको दाँयातर्फ एक साता अघिबाट जग खनेर कार्यालयको भवन निर्माण सुरु गरिएको हो ।

अहिले भाडाको घरमा सञ्चालित निर्वाचन कार्यालय निर्धारित समयमै निर्माणको काम सक्किए अबको दुई वर्षपछि आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण हुने छ । त्यससँगै सहज र प्रभावकारी ढँगले कार्यसम्पादन तथा सेवा प्रवाह हुने छ ।
कार्यालय प्रमुख, जिल्ला निर्वाचन अधिकारी शकुन्तला राईले २०८१ मा सुविधा सम्पन्न चार तले भवन तयार हुने गरी सघन सहरी तथा भवन निर्माण आयोजना मार्फत निर्माण कार्य सुभारम्भ भएको बताउनु भयो । जिल्ला समन्वय समितिले  चार सय ४ वर्ग मिटर जग्गा उपलब्ध गराएपछि सोही जग्गामा भवन बनाउन लागिएको हो ।

आयोजनाका असिष्टेन्ट सब–ईन्जिनियर रामशरण न्यौपानेले भवनमा दुई वटा हलसहित १७ वटा कोठा रहने बताउनु भयो । महागौरी गणेश निर्माण सेवाले भवन निर्माणको सम्झौता अनुसार निर्धारित समयमै सक्ने लक्ष्य सहित काम सुरु गरेको हो । उहाँको अनुसार तीन करोड ८० लाख लाग्ने स्टेमेट तयार भएपनि निर्माण कम्पनीसँग दुई करोड ९० लाख रुपैयाँमा निर्माण सम्झौता भएको छ ।

निर्माण कम्पनीका प्रमुख कृष्ण पाख्रिनले निर्धारित मिति सकिनु अगावै काम सक्ने लक्ष्यका साथ सुरुवातदेखि नै कामलाई गति दिइएको बताउनु भयो । “कुनै बाधा अवरोध नभएमा काममा बिलम्ब हुने छैन । निर्माण अवधि सकिनु भन्दा अगाडि नै स्टेमेट अनुसारको भवन तयार गर्ने गरी निर्माण सामाग्रीसहित काममा खटिएका छौँ ।” उहाँले भन्नुभयो, “अहिले जग खन्ने कार्य भईरहेको छ । कामको गति तीव्र पारेका छौँ । यहि रफ्तारमा जाने हो, भने हाम्रो लक्ष्य समयमै पूरा हुने छ । निर्वाचन कार्यालयले समयमै भवन पाउँछ ।”
लामो समयदेखि भवन अभावमा निर्वाचन कार्यालयले मासिक ४१ हजार रुपैयाँ भाडा तिर्दै व्यक्तिको घरबाट कार्य सम्पादन तथा सेवा प्रवाह गरिरहेको छ । हाल डिभिजन वन कार्यालय नजिकैको घरमा निर्वाचन कार्यालय सञ्चालनमा रहेको छ ।

Shares

Be the first to comment on "निर्वाचन कार्यालयको भवन निर्माण सुरु"

Leave a comment

Your email address will not be published.


*