निर्वाचनले दोलखामा चहलपहल बढ्यो

ईश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक २९
नजिकिदैँ गरेको संसदीय निर्वाचनले दोलखाको सदरमुकामदेखि गाम्रीण क्षेत्रहरुमासम्म आर्थिक चहलपहल बढेको पाइएको छ । विशेषगरी जिल्लाका साना ठूला होटल र खाजा पसलहरुमा खाना, खाजाको बिक्री बढेसँगै आर्थिक चहलपहल बढेको पाइएको हो ।
उम्मेदवारहरुले आफ्नो चुनावी प्रचारमा खटिएका कार्यकर्ता तथा शुभेच्छुकलाई होटल तथा खाजा पसलहरुमा खाजा र खाना खुवाउन थालेपछि बिक्री वितरण बढेको सदरमुकाम चरिकोटका होटल व्यवसायीहरुले बताएका छन् ।
दलहरुको घरदैलो अभियानले चहलपहल बढ्दा अरुबेला सुनसान हुने आफ्नो खाजा पसलमा बिक्री राम्रो हुन थालेपछि आफू उत्साहित भएको भीमेश्वर नगरपालिका वडा नं. ४ जिलुका रामप्रसाद श्रेष्ठले बताउनु भयो । “पहिले एक दुई जना मात्र ग्राहक पाइन्थ्यो । तर अहिले चुनावी प्रचारमा हिँडेका उम्मेदवार, नेता तथा कार्यकर्ताहरु ग्राहकको रुपमा मेरो पसलमा आउन थालेका छन् ।” श्रेष्ठले भन्नुभयो, “ग्रामीण क्षेत्रमा भएको र मानिसहरुको चहलपहल नहुने कारण आफ्नो खाजा पसलमा व्यापार नहुँदा चिन्ता लागिरहेको बेला चुनावले केही राहत मिलेको छ । ”
अघिपछि सामान्य चहलपहल हुने बजारका होटलहरुमा निर्वाचनको माहोल तातेको बेला चहलपहलमा वृद्धि भएको छ । चरिकोटका होटल व्यवसायी सिताराम उप्रेतीले राजनीतिक दलका उम्मेदवार, नेता र कार्यकर्ताहरु ग्राहकको रुपमा आफ्नो होटलमा आउँदा व्यवासायमा उत्साह छाएको बताउनु भयो । “अरु बेला कुरेर बस्नुपर्ने अवस्था थियो । तर अहिले ग्राहकको चाप बढेको छ ।” उहाँले भन्नुभयो ।
यस अघिको निर्वाचनमा राजनीतिक दलका नेता तथा कार्यकर्ताले उधारो खाने तर पछि सम्पर्क विहीन हुने गरेकोले उधारो बन्द गरेको बताउनु भयो ।
कोरोना महामारीका कारण आर्थिक संकटबाट गुज्रेकाका व्यापारीव्यवसायीहरु निर्वाचनका कारण व्यापारमा सुधार हुन थालेपछि उत्साहित भएका भएका छन् । अहिले विषेश गरी छापा तथा प्रिन्टिङ प्रेस र होटल तथा खाजा पसल, तरकारी तथा खाद्यान्न पसलको व्यावसाय फस्टाउने अवसर पाएको छ । निर्वाचनको प्रभावका कारण व्यापारव्यवासायमा वृद्धि हुन थालेपछि स्थानीय अर्थतन्त्र समेत चलायमान हुन थालेको छ । निर्वाचनमा पार्टी र उम्मेदवारले आर्थिक कारोबार बढी गर्ने हुँदा बैँक तथा वित्तीय क्षेत्रमा समेत कारोबार बढ्ने गरेको छ ।

Shares

Be the first to comment on "निर्वाचनले दोलखामा चहलपहल बढ्यो"

Leave a comment

Your email address will not be published.


*