निजामती सेवा दिवसमा रक्तदान

दीक्षण समाचार
चरिकोट, भदौ २२
दोलखाको सदरमुकाम चरिकोटमा ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस रक्तदान गरी मनाइएको छ । कर्मचारी मिलन केन्द्रले रगतको मागलाई सहज पूर्ति गर्ने र दिवस पनि मनाउने गरी भीमेश्वर नगरपालिकाको व्यवस्थापनमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
अस्पतालको बेडमा जीवन र मरणको दोसाँधमा छटपटाइरहेका बिरामी र घाइते व्यक्तिलाई बचाउने मानवीय उद्देश्यले आयोजित रक्तदान कार्यक्रममा निजामती कर्मचारी सहित २० जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।
 सभापति गोकर्णप्रसाद पोखरेलले सेवाग्राहीलाई आफ्नो जिम्मेवारी रहेर सेवा प्रवाह गरिरहेका निजामती कर्मचारीले दिवसको अवसरमा रक्तदान गरी पूण्य र मानवीय सेवा गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले रगत दिएर अरुको ज्यान बचाउन सहयोग गर्ने व्यक्ति बिरामीका लागि भगवान बराबर हुने सुनाउनु भयो । उहाँले निजामती कर्मचारीहरूलाई रक्तदानको लागि धन्यवाद दिँदै दिवसको अवसरमा शुभकामना दिनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले निजामती सेवालाई स्वच्छ र प्रभावकारी बनाइनुपर्ने बताउनु भयो । कर्मचारीले सेवाग्राहीको मन र विश्वास जित्न सकेको खण्डमा त्यो कार्य उत्कृष्ट हुने सुनाउनु भयो ।
प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जिल्लामा कानून, निर्देशिका अनुसार चुस्तदुरुस्त, छिटोछरितो सेवा प्रवाह गरी सुसाशन युक्त र सेवाग्राही मैत्री व्यवस्थालाई चरितार्थ गर्न कर्मचारीलाई अनुरोध गर्नु भयो । उहाँले चुनौती र समस्या भएमा त्यसका समाधानका लागि समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथै मुस्कान सहितको सेवा प्रवाहमा कर्मचारीहरू चुक्न नहुने बताउनु भयो । उहाँले निजामती कर्मचारीमा असल, कर्तव्यनिष्ट र सिर्जनशील भएमा विकास र समृद्धिले फड्को मार्न सहज हुने बताउनु भयो ।
२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको थियो । सोही दिनको अवसरमा प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिएको छ ।

Shares

Be the first to comment on "निजामती सेवा दिवसमा रक्तदान"

Leave a comment

Your email address will not be published.


*