नागरिक साझेदारी मञ्च संयोजकमा अध्यक्ष पोखरेल

चरिकोट (दीस) –दोलखाको तामाकोसी गाउँपालिमा पहिलो पटक गाउँपालिका स्तरिय नागरिक साझेदारी मञ्च गठन भएको छ । स्थानीय सरकार र नागरिक समाजको संयुक्त साझा मञ्च मार्फत स्थानीय सरकारले गरेको असल अभ्यासको प्रवद्र्धन गर्ने नागरिक समाजको तर्फबाट स्थानीय सरकारलाई आवश्यक सहयोग लिने मुख्य उद्धेश्यका साथ जिल्लामै पहिलो पटक नागरिक साझेदारी मञ्च गठन गरिएको हो ।

मंगलबार स्थानीय सरकारका निर्वाचित जनप्रतिनिधि र नागरिक समाजका संघ संस्था र निकायहरुको बृहत भेलाले साझेदारी मञ्च गठन गरेको हो । गाउँपालिकाद्धारा गठित उक्त मञ्चको संयोजक गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल रहनु भएको छ भने सह संयोजकमा नागरिक समाजको संस्थाको तर्फबाट नरबहादुर कार्की रहनु भएको । २५ सदसिय मञ्चको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइराला रहनु भएको छ । मञ्चमा सबै वडाका अध्यक्षहरु, गैर सरकारी संस्थाका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधि, नेपाल रेडक्रस सोसाईटी, आमा समुह, युवा क्लव, तामाकोसी सामुदायिक रेडियो, स्थानीय धार्मिक संस्थाका प्रतिनिधि सदस्य रहनु भएको छ । यसै गरी मञ्चमा सहकारी संस्थाका प्रतिनिधि, स्वास्थ्य सञ्जालका, दलित र आदिवासी जनजाति समुदायका प्रतिनिधि मञ्चको सदस्य रहनु भएको छ ।

नागरिक साझेदारी मञ्चको घोषणा गर्नु हुँदै तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले मञ्चको आयोजनामा आगमी महिना बृहत नागरिक भेला आयोजना गरी गाउँपालिकाले हाल सम्म गरेको असल कार्यको जानकारी गराउँदै सुधार गर्नु कार्यहरुको बारेमा आम नागरिकको तर्फबाट सुझाव संकलन गर्ने बताउँन भयो । सो अवसरमा वहाँले नागरिक साझेदारी मञ्चले सरकार र नागरिक विचको सेतुको काम गर्ने बताउँनु हुँदै मञ्च सञ्चालनका लागि कार्यविधि समेत तयार गरी बजेट समेत विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

हुराडेक नेपाल दोलखाको सहजीकरणमा भएको कार्यक्रममा हुराडेक नेपाल दोलखाका कार्यकारी निर्देशक सुन्दरकुमार लामिछानेले नागरिक साझेदारी मञ्चको उद्धेश्य, मञ्च मार्फत सम्पादन गर्न सकिने कार्यहरु समावेस गरिएको मञ्च सञ्चालन लागि प्रस्तावित कार्यविधिको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । सो अवसरमा वहाँले मञ्चले गाउँपालिकाले तय गर्ने नीति तथा कार्यक्रम कार्यन्यनका लागि आवश्यक सहयोग गर्नुका साथै गाउँपालिकाको लागि नयाँ नितीहरु आवश्यक परेको खण्डमा नयाँ नीति वा कानुन निर्माणका लागि समन्वय गर्ने र गाउँपालिकाका प्राथामिकताका क्षेत्रहरु कृषि, स्वास्थ्य, शिक्षा, विपद् जोखिम व्यवस्थापन क्षेत्रका नागरिकका गुनासाबारे छलफल गरी समस्या समाधानका लागि सहजीकरणको भूमिका निर्वाह गर्ने उल्लेख गर्नु भयो ।
साथै मञ्च मार्फत सुशासन अभिवृद्धिका लागि सार्वाजनिक सुनुवाई, सामाजिक लेखापरीक्षण, सार्वजनिक लेखापरीक्षण, सामुहिक छलफल, अन्तरक्रिया जस्ता कार्यक्रमको माध्यमबाट गाउँपालिकाको सुशासन र जवाफदेहिता अभिवृद्धिमा सहयोग गर्ने कार्य सञ्चालन मञ्च मार्फत गर्न सकिने सो अवसरमा वहाँले जानकारी गराउँनु भएको थियो । कार्यक्रमको सहजीकरण तामाकोशी गाउँपालिकाका रामकुमार कार्कीले गर्नु भएको थियो ।

Shares

Be the first to comment on "नागरिक साझेदारी मञ्च संयोजकमा अध्यक्ष पोखरेल"

Leave a comment

Your email address will not be published.


*