नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथ, सरकारलाई पूर्णता

काठमाडौ (दीस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ । उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । प्रधानमन्त्री ओलीले शपथ लिएसँगै सोमबार नै २२ सदस्यीय मन्त्री परिषद्को समेत विस्तार गर्नु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पनि शपथ ग्रहण गराउनु भएको छ  । मन्त्री परिषद्मा २ जनालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रकाशमान सिंहले उपप्रधान तथा शहरी विकासमन्त्री र विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी पाउनु भएको छ । नवनियुक्त मन्त्रीहरुमा पृथ्वी सुब्बा गुरुङले सञ्चार तथा सूचनामन्त्री , रमेश लेखकले गृहमन्त्री ,शरतसिंह भण्डारीले श्रम तथा रोजगारमन्त्री र आरजु राणा देउवाले परराष्ट्र मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । त्यसैगरी ,नवलकिशोर साह सुडीले महिला तथा बालबालिका मन्त्री ,देवेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्री,प्रदीप यादवले खानेपानी मन्त्री ,प्रदीप पौडेलले स्वास्थ्य तथा जनसंख्यामन्त्री ,अजय चौरसियाले कानुन न्याय तथा संसदीय मामिला मन्त्री ,बद्री प्रसाद पाण्डेले पर्यटन तथा नागरिक उड्यन मन्त्री र रामनाथ अधिकारीले कृषि मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । त्यस्तै , विद्या भट्टराईले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री ,मानवीर राईले रक्षा मन्त्री र दीपक खड्काले जलस्रोत तथा ऊर्जा मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नु भएको छ। त्यसैगरी अन्य मन्त्रीहरुले समेत पद बहाली गर्नु भएको छ ।
राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमाले बीच यही असार १७ गते भएको सहमतिसँगै अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनु भएको हो । ठुला दलहरु बीच देशमा स्थीरता कायम गर्ने भन्दै आलोपालो सरकार निर्माण गर्ने सहमति भएको छ । संघमा मात्र नभएर प्रदेशमा समेत सरकार निर्माण गर्ने कांगे्रस र एमाले बीच सहमति भएको बताइएको छ । एमालेले ७ प्रदेशमा ३ वटा र कांग्रेसले ३ वटा र मधेशमा मधेशी दललाई लिने सहमति भएको जनाइएको छ ।

Shares

Be the first to comment on "नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथ, सरकारलाई पूर्णता"

Leave a comment

Your email address will not be published.


*