नयाँ जनप्रतिनिधिसँग नागरिकको अपेक्षा धेरै

ईश्वर बिश्वकर्मा ÷चरिकोट, –दोलखाका नागरिकहरुले आफ्नो मतदानले चुनिएका जनप्रतिनिधिबाट आफ्ना समस्या समाधान र विकासको अपेक्षा पूरा हुने विश्वास गरेका छन् । बैशाख ३० गतेको निर्वाचनबाट जिल्लाको नौ वटै पालिका र ७४ वटै वडामा निर्वाचित जनप्रतिनिधिले कार्य सम्पादन सुरु गरेसँगै प्ररीणामुखी उपलब्धी र विकास हुनेमा विश्वास गरिएको हो । नवनिर्वाचित जनप्रतिनिधिले निर्वाचनको बेला देखाएको आश्वासन र प्रतिबद्धताहरु पूरा गर्नुका साथै जनअपेक्षा अनुसार विकास निर्माणलाई तीव्रता दिएर जनमतको कदर गनुपर्ने मतदाताहरुको माग र अपेक्षा रहेको छ । अहिले नयाँ जनप्रतिनिधिहरुबाट नयाँ सोच र योजनाको साथ सुरुवाती सक्रियता प्रभावकारी रुपमा देखिएकोले जनता उत्साहित भएको र उक्त सक्रियतालाई अन्तिमसम्म नै निरन्तरता दिएर विकास र परिवर्तनको महसुश दिलाउनुपर्ने मतदाताहरुको माग छ । भीमेश्वर नगरपालिका वडा नं. ५ का नारायणबहादुर श्रेष्ठले यसअघिका जनप्रतिनिधिबाट अपेक्षाकृत परिणाम नदेखिएको तर अहिले आएका जनप्रतिनिधिले भने सोचेजस्तो काम गर्नैपर्ने बताउनुभयो। “पहिले पनि धेरै आशा गरेका थियौँ । तर केही भएन ।” उहाँले भन्नुभयो “ अहिले नयाँ जनप्रतिनिधिहरु आएका छन् । उनीहरुले हाम्रो चाहाना पूरा गर्छन् भन्ने आशा गरेका छौँ । पहिलेका जनप्रतिनिधिले जस्तै ढाँचा देखाए भने त चाहनाहरु पूरा हुन सक्तैनन् ।” उहाँले आफ्नो टोल घोक्सिलामा खानेपानीको समस्या रहेकोले त्यसको समाधानसँगै सिंचाइको व्यवस्था गरिनुपर्ने सुनाउनुभयो । जिरी नगरपालिका वडा नं. ९ का नरबहादुर कार्कीले पिछडिएका वर्ग, समुदायको उत्थानको निम्ति कार्य गर्दै जनप्रतिनिधिले सामाजिक विकासमा जोड दिनुपर्ने उहाँले सुनाउनुभयो । उहाँले गाउँको आवश्यकता र चाहनालाई बुझेर शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि लगायतका पूर्वाधारमा काम गरे राम्रो हुने बताउनुभयो । सिंह दरबार गाउँमा आयो भनेर धेरै नारा लगाइएको सुनिन्छ । तर सिंह दरबार आएको अनुभूति र फाइदा जनताले प्रत्यक्ष रुपमा पाउनुपर्छ ।
अघिल्ला जनप्रतिनिधिहरुले आफैँले गरेका घोषणाहरु सबै पूरा गर्न सकेनन् । तर अहिलेका जनप्रतिनिधिहरुले निर्वाचन अघि गरेका घोषणाहरु मिठा र लोकप्रिय रहेकोले ती घोषणाहरु कार्यान्वयन गरी पाँच वर्षै लोकप्रिय हुन र सम्झना लायक काम गर्न जनप्रतिनिधिहरुलाई उहाँको सुझाव छ ।
जिल्लामा दलित, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक लगायत लक्षित वर्गले आफ्नो समुदायको उत्थानमा फाइदा पुग्ने गरी काम गनुपर्ने माग गरेका छन्। अहिले पनि जातिय छुवाछुत, लैङ्गिक विभेद तथा हिंसा लगायतका कुसंस्कार र कुरुती व्याप रहेकोले त्यसको न्यूनीकरणमा सर्वप्रथम काम गर्नुपर्ने बताइएको छ। त्यसो नभएमा भौतिक विकास र अन्य विकासले सार्थकता नपाउने ठम्याइ रहेको छ । अघिल्ला जनप्रतिनिधिहरुले सूरुवात गरेका तर अधुरा कार्यहरुलाई स्रोत साधनहरुको पहिचान तथा परिचालन गर्दै पूरा गर्नुपर्ने र नयाँ योजनाहरु निर्माण गरी सुशासनका सुचकहरु एवं कानुन प्रावधानमा रहेर कार्यान्वयन गरिनुपर्ने हुन्छ । यस अघिका जनप्रतिनिधिहरुले भौतिक निर्माणलाई जोड दिएपनि जनअपेक्षाहरु पूरा गर्न नसकेको विद्यार्थी आङ्गुञ्जा शेर्पाले बताउनुभयो ।नवनिर्वाचित जनप्रतिनिधिहरुले भने जनताको जनजीविकासँग सरोकार राख्ने र जनअपेक्षा अनुरुप काम गर्नुपर्ने उहाँले सुनाउनुभयो । भीमेश्वर नगरपालिका नगरप्रमुख ईश्वरनारायण मानन्धरले नगरमा सुशासन कायम राख्दै जनअपेक्षा अनुरुप काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यस्तै जिरी नगरपालिकाका नगर प्रमुख मित्र जिरेलले पर्यटन प्रवद्र्धनलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने र जनताको आशा र भरोशा टुट्न नदिने बताउनुभयो। उहाँहरु सहित सात वटै गाउँपालिकाका जन्रप्रनिधिहरुले उत्पादनमुखी र परिणामुखी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

Shares

Be the first to comment on "नयाँ जनप्रतिनिधिसँग नागरिकको अपेक्षा धेरै"

Leave a comment

Your email address will not be published.


*