धेरै बाक्लो थेग्दैन है !

संसार अहिले कोरोना कहरमा रहेको छ । संसारलाई यसको संक्रमणले तसनहस नै बनाएको छ । कोरोनाको कारण बिस्वमा करिब पाँच लाख भन्दा बढीले ज्यान गुमाएका छन् । नेपालमा ३८ जनाको कोरोनाको कारण ज्यान गएको छ । १६ हजार भन्दा बढीलाई संक्रमण भएको छ । यसै सन्दर्भमा हामीले कोरोनाले बिभिन्न क्षेत्रमा पारेको असरबारे आजबाट नयाँ बहस ल्याएको छौ । हाम्रा सहकर्मी अर्जुन अपबादले कोरोना बहसमा ७८ बर्षका विर बहादुर दहालसँग गरेको कुराकानी –

मैले विरबहादुर भेट्न खोज्नुका कारण गाउँको इतिहास थाहा पाउनु थियो । एकजनाले कुनै दिन कतै भनेको सम्झिए जागिर खान हजुरबाको नाम नचाहिने हो भने धेरैले आफ्नै हजुरबाको नाम जान्दैनथे । मलाइ गाउँको पुस्ता को जालो बुझ्नु थियो । त्यसको जानकार थिए विरबहादुर । यसैकारण अघिल्लै दिन म भेट्न गएको थिएँ । उ मकै गोड्न गएका रहेछन् । म फेरी भोलिपल्ट उनका घरमा गएँ ।
उनि बाख्राका स्याहारमा थिए । उनले मैलाई सोधे “एउटा कुरा बुझेको छैन । यो लकडाउनले रोग हरण नै गर्ला त ?“
मैले आफुले जानेसम्मका लकडाउन गर्नुका कारण उनलाई बताएँ ।
मेरो कुरा सुनेपछि उनले भने
“यो हावा हो । लकडाउनले हावा के रोकिएला र“
वैत्येश्वर गाउँपालिका वडा नं. ३ का विरबहादुर दहालको ७८ औं जन्मजयन्ती केहिदिनअघि मात्र वितेको थियो।
“९९ साल लाग्दै जेठमा जन्मेको हुँ ।“ उनले उमेर सोध्दा भनेका थिए ।
उनले आफ्ना जीवनमा भोगेका अरु कुराहरु पनि सुनाउन लागे ।
“पहिला पहिला पनि यस्तै रोगव्याधीहरू विभिन्न ठाउँमा हुन्थे । रेडियोले समाचारमा भन्थ्यो । सबै जना मरे भने त तेरो मेरो भन्ने पनि नहोला भनेर हामी कुराकानी गर्थ्यौं । अहिले कोरा भाइरसले पनि त्यस्तै पो बनाउँछ कि ।
रेडियो सित्ता खाने भित्ता लाग्छन् । पाङ्दुर खाने जोदाहा हुन्छन भनेर भन्थ्यो । तेरो मेरो पनि हराउँछ भन्थ्यो । त्यस्तै पो होला कि जस्तो लाग्छ ।“
उनको अहिलेको विश्वव्यापी व्याधीका बारे आफ्नो बुझाइ भन्न लागे ।
“यस्तो हो नि त । झारपात बाक्लो भो भने खुइलिन्छ । कमाइ उर्लेर गो भने हुरीले लान्छ । मान्छे बाक्लो भो भने रूढिले लान्छ ।
यस्तै त हो नि धेरै बाक्लो भएपछी थेग्दैन है !
“७२ सालको भूकम्पमा पनि ग्रहणले सूर्यलाई टम्म ढाकेको थ्यो । पछि पनि ग्रहण लागो तराइ हानो । यो साल पनि टम्म ढाक्ने खालको सूर्यग्रहण लाग्दैछ । दिउँसै राँको बाल्ने पार्दैछ । अझै टम्म भो भने त थुप्रै विनाश हुन्छ होला । देउतालाई पनि दशा लागेपछि त मानिसको के लाग्छ र !
यो साल समय राम्रो छैन । आगौं पनि राम्रो छैन । परागौंबाट चाँहि अलिक राम्रो पो होला कि !“
उनले यसका असरबारे पनि आफ्नो आकलन सुनाए ।
“यो समय नै राम्रो छैन । किसान, जागिरे कसैलाई पनि राम्रो छैन । एउटा डाक्टरी गर्नेलाई चाँहि अलिक राम्रो होला कि । खाद्यान्न व्यापारीलाई पनि अलिक राम्रै होला । व्यापार भा को भकै ।
बाहिर नाका बन्द राखे पनि देशभरी त खुला गरिदिए पनि हुने । प्रहरी सेना त हिँडेकै छ । सर्नुपरो भने त तिनीहरुबाटै सर्ला नि । मेरा हृदयमा यस्तो लाग्छ ।“
ठ्याक्कै सत्य कस्तो हुन्छ । धेरैका धेरैथरी जवाफ होलान । धेरैले धेरै कुरा गर्लान । सबै कुरामा सहमत हुनुपर्छ भन्ने छैन । उनको विश्वास यस्तै रैछ कोरोना भाइरसमा ।

Shares

Be the first to comment on "धेरै बाक्लो थेग्दैन है !"

Leave a comment

Your email address will not be published.


*