धुलिखेल–खावा सडकः दुई दिन राजमार्ग बन्द गरेर विस्तारको काम

काभ्रेपलाञ्चोक (दीस) ः अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्ड बन्द गरेर विस्तारको काम गरिने भएको छ । बुधबार र बिहिबार सडक नै बन्द गरेर निर्माण कार्य गरिने भएको हो । सोमबार जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायका प्रतिनिधिसहितको बैठकले निर्माणाधीन उक्त खण्डमा दिनको चार घन्टा बन्द गरेर निर्माण काम गर्ने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार २ दिन विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चार किलोमिटर सडकखण्ड पूर्णरुपमा बन्द गरी सडक निर्माण गरिने छ  । सडक निर्माणको क्रममा दमकल, एम्बुलेन्स, शवबाहन र सुरक्षा निकायका सवारी साधनले भने सो सडक हुदै यात्रा गर्न पाउने छन् र अन्य यातायात भने चार घण्टासम्म यो सडक सञ्चालनमा पूर्ण रोक लगाइदै वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको बैठकपछि जारी सूचनामा उल्लेख गरिएको छ । यो राजमार्ग हुदै नेपालको उत्तरी नाका तातोपानी तथा सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायत विभिन्न ठाउँका यातयात आवतजावत गर्ने गर्दछन्  । सोमबारको बैठक पछि जारी गरिएको अपिलमा “सबै किसिमका यातायात (दमकल, एम्बुलेन्स, शवबाहन र सुरक्षा निकायका सवारी साधनबाहेक) चार घण्टासम्म सञ्चालनमा पूर्ण रोक लगाइएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ” भनिएको छ । बन्द भएको समयमा काठमाडौँ बनेपा हुँदै पाँचखालतर्फ जाने साना सवारीसाधन होराइजन होटल–आगन्तुक होटल –गोसाइँस्थान मार्ग)–रविओपी हुँदै पाँचखाल पुग्न सक्नेछन् । यस्तै ,बनेपाको चार दोबाटो–रविओपी हुँदै पाँचखाल र बिपी राजमार्ग– तीन पिप्ले–पाँचखाल पुग्ने वैकल्पिक बाटो रहेकाले साना सवारीसाधनलाई सोही बाटो प्रयोग गर्न अनुरोध गरिएको छ । यसका अतिरिक्त साना सवारीसाधनले नगरकोट–कुन्ताबँेसी–जिरोकिलो सडक पनि प्रयोग गर्न सक्नेछन् भने दोलालघाट–पाँचखाल हुँदै काठमाडौँतर्फ आउने सबै प्रकारका सवारीसाधनले जिरोकिलोबाट कुन्ताबेँशी नगरकोट सडक प्रयोग गर्न सक्ने छन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यो सडक निर्माणमा छिटो गर्नको लागि सडक नै बन्द गरेर काम गरिएको बताउनु भयो । उहाँँका अनुसार निर्माणाधीन सडकखण्डको समयसीमा गत २०८० चैत १९ गते सकिएको थियो । म्याद थपेर सडक निर्माण छिटो सम्पन्न गर्न लागि २ दिन राजमार्ग बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । उक्त सडकखण्ड स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २०७९ जेठ २० गते ठेक्काको सम्झौता थियो । उक्त निर्माण कम्पनीले २०८० चैत १९ गते भित्र सडक निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्ने थियो । तर, निर्माण कम्पनीले बिभिन्न कारण देखाउदै सडक निर्माणमा ढिलाई गर्दै आएको छ । सडक डिभिजन कार्यालयको ताकेतापछि अहिले निर्माणको म्याद थपेर सडकको निर्माण कार्य भईरहेको छ । सडक निर्माणको लागि रु २० करोड १९ लाख ४६ हजार पाँच सय रुपैयामा ठेक्का लागेको थियो । हालसम्म पनि यो सडक निर्माणको प्रगति भने सुस्त रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "धुलिखेल–खावा सडकः दुई दिन राजमार्ग बन्द गरेर विस्तारको काम"

Leave a comment

Your email address will not be published.


*