धन्यवाद दिन मतदाताको घरदैलोमा नेता गुरुङ

इश्वर विश्वकर्मा
चरिकोट, जेठ २३
चुनावमा भोट माग्न हात जोडेर मतदाताको घरदैलोमा पुगेका नेताहरु चुनावपछि मतदातालाई सम्झी फर्केर नजाने गरेको आरोप लाग्ने गर्छ। झन् चुनावमा पराजित भएका नेताहरु त मतदाताको सम्मुख पर्न नचाहने गरेको आरोप छ । तर दोलखाका एक नेता, जसले यस्तो आरोप आफूलाइ लाग्न नदिन चुनावमा पराजित भएपनि मतदाताको घरदैलोमा पुगिरहनुभएकाे छ ।
नेपाल कम्युनिष्ट पार्टीका नेता जङ्ग गुरुङ गौरीशंकर गाउँपालिका अध्यक्षमा पराजित भएरपनि मतदाताको घरदैलोमै पुगेर धन्यवाद र आभार व्यक्त गरिरहनु भएको छ । बैशाख ३० गतेको चुनावको लागि गौरीशंकर गाउँपालिका अध्यक्षमा पदमा उम्मेदवार बन्नुभएका नेता गुरुङ त्यसबेला मत माग्न मतदाताको घरदैलोमा पुग्नु भएको थियो। चुनावी परिणाम अनुसार उहाँ नेकपा माओवादी केन्द्रका विश्वास कार्कीसँग पराजित हुनुभयो । जसरी चुनावमा मतदाताको घरदैलोमा पुग्नु भएको थियो । त्यसरी नै उहाँ चुनावमा पराजित भएपनि अहिले पुनः मतदाताको घरदैलोमा पुगिरहनु भएको छ।
१८ गतेदेखि गुरुङसँगै पूर्व पालिका अध्यक्ष एवं नेकपा एमालेका गौरीशंकर गाउँपालिका पार्टी इचान्र्ज स्वयम बहादुर खड्का लगायतका नेताहरु जनताको घरदैलामा पुगिरहनुभएको छ पालिकाको वडा नम्बर नं. रिकुबाट सुरु भएको घरदैलो भेटघाट तथा धन्यवाद अभियान खारे, चंखु, मार्बु र सुरीमा सम्पन्न भएको छ नेता गुरुङले बताउनुभयो । अभियान पालिकाको वडा नं. १ मा पुगेपछि सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।


आफूलाई मतदान गर्ने मतदातालाई कदर र सम्मान गर्दै धन्यवाद र आभार प्रकट गर्न घरदैलो कार्यक्रम सञ्चालन गरेको नेता गुरुङले बताउनुभयो। “चुनावमा हार जित हुन्छ । म प्राविधिक कारणले पराजित भएँ । तर मलाई पनि राम्रै मत प्राप्त भएको थियो । मलाई मतदान गर्ने ती मतदातालाई धन्यवाद दिन चाहन्छु।“ उहाँले भन्नुभयो “सामाजिक सञ्जाल वा सञ्चार माध्यमबाट धन्यवाद दिन सकिन्थ्यो । तर चुनाव ताका जस्तै प्रत्यक्ष भेटघाट गर्नुपर्छ भन्ने लागेर घरदैलोमा पुग्ने योजना सहित लागिपरेको हुँ ।“ चुनाव जिते मात्र जनतालाई सम्झने, भेटघाट गर्ने भन्ने हुदैन । पराजित हुँदा पनि जनताको घरदैलोमा धन्यवाद भन्न जाने संस्कार विकास हुनपर्छ भन्ने मान्यता रहेको बताउने नेता गुरुङ पुनः एकपटक चर्चामा आउनु भएको छ। “एक मत पनि अमूल्य हुन्छ । त्यसको कदरस्वरूप जनतालाई प्रत्यक्ष धन्यवाद दिइरहेको छु ।“ उहाँले भन्नुभयो ”उहाँहरुले देखाउनु भएको माया र सद्भावले गर्दा मलाई निरासको महशुस भएको छैन। म निरन्तर जनताको लागि काम गरिरहने छु र जनताकै साथमा छु । जनतलाई पनि निराश हुन दिन्न ।“
उहाँले प्रतिपक्षमा रहेर पनि जनताको काम गर्ने र पालिकामा भएको कामको निगरानी र मूल्याङ्कन गर्ने बताउनुभयो । उहाँले गौरीशंकर गाउँपालिकामा एमाले कमजोर नभएको दाबी गर्दै चुनावी परिणामबाट दुखी र निराश नभएको र आफ्ना कार्यकर्ता तथा शुभच्छुकहरुलाई समेत निराश नहुन आग्रह गर्नुभयो । उहाँले पार्टीलाई थप सुदृढ र संगठीत बनाउने तर्फ आफूहरु परिचालित हुने तथा जनताको सेवामा निरन्तर खटिने समेत उहाँले उल्लेख गर्नुभयो ।

Shares

Be the first to comment on "धन्यवाद दिन मतदाताको घरदैलोमा नेता गुरुङ"

Leave a comment

Your email address will not be published.


*