दोलखा सुन प्रकरणः ९ जनालाई पुर्पक्षकालागि थुनामा राख्न आदेश


चरिकोट(दीस)ः दोलखामा भएको ११ केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका मध्ये ९ जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा पठाउने तथा तीन जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । जिल्ला अदालतले शुक्रवार सो आदेश दिएको हो । शुक्रवार जिल्ला अदालत दोलखाका न्यायाधिस डिल्लीरत्न श्रेष्ठको एकल इजलासले सुन तस्करी प्रकरणका अभियुक्तहरुमध्ये नौ जनालाई पुर्पक्षकालागि थुनामा राख्ने तथा तीनजनालाई धरौटिमा रिहा गर्ने आदेश दिएको जिल्ला अदालत दोलखाले जनाएको छ । पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएकाहरुमा सुन तस्करीका मुख्य आरोपी चिनियाँ नागरिक दावा भनिने आकार लामा र टासी भनिने ग्याङरुसहित सुन तस्करीमा सघाउने नेपाली नागरिक नुर्वछिरिङ शेर्पा, भरिया पेम्वा तामाङ, केशर तामाङ, चसमान तामाङ, लालबहादुर तामाङ, माधवकुमार मगर र सनद प्रधान रहेका छन् । यसैगरी धरौटीमा छोड्न आदेश भएका हरुमा महिमा माझी, दीपेन्द्रराज शाक्य तथा तिलक विक रहेका छन् । धरौटीमा छोड्न आदेश भएका अभियुक्तहरुमध्ये महिमा माझीबाट १ करोड ७९ लाख ४० हजार रुपैयाँ, दीपेन्द्रराज शाक्यबाट ९३ लाख ५० हजार तथा तिलक विकबाट ८८ लाख रुपैयाँ धरौटी लिन अदालतले आदेश दिएको छ । यस्तै सुन प्रकरणमा पक्राउ परेकी सुनमाला तमाङ, चेतनाथ न्यौपाने र एक जना नावालकलाई भने अदालतले साधारण तारेखमा रिहा गर्न आदेश िदएको छ । आलुको बोरामा सुन लुकाएर तस्करी गर्दैगर्दा प्रहरीले बिगु गाउँपालिका वडा नम्बर एकको लमाबगरबाट ४ किलो, जामुनेबाट ३ किलो र सुनसँगै पक्राउ परेकाहरुको वयानको आधारमा लामाबगरमा ढुंगा मुनि लुकाएको अवस्थामा थप ४ किलो गरी जम्मा ११ किलो सुन बरामद गरेको थियो । सुन बरामद प्रकरणमा अनुसन्धान गरी २६ जनाविरुद्ध अभियोगपत्र दायर गरिएको थियो ।

Shares

Be the first to comment on "दोलखा सुन प्रकरणः ९ जनालाई पुर्पक्षकालागि थुनामा राख्न आदेश"

Leave a comment

Your email address will not be published.


*