दोलखा जिल्ला बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवस तथा साधारण सभा सम्पन्न

दीक्षण समाचार
चरिकोट, पुस २६
दोलखा जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं स्थापना दिवस तथा २३ औँ वार्षिक साधारण सभा सदरमुका चरिकोटमा सोमबार सम्पन्न भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी लिमिटेड (नेफ्स्कून) का  अध्यक्ष परितोष पौडेलले स्थापना दिवस तथा साधारण सभाको पानसमा बत्ती बाली केक काटेर उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले दोलखा सहकारी अभियानको गन्तव्य रहेको उल्लेख गर्नुहुँदै जिल्लाका सहकारीहरुलाई नाम र उद्देश्य अनुसारको कार्य गर्न अनुरोध गर्नुभयो । दिगो विकासका लक्ष्य प्राप्तिका लागि सहकारीले  उल्लेखनीय कार्य गरिरहेको बताउनुहुँदै सुख शान्ति र आर्थिक समृद्धिको लागि सहकारी अपरिहार्य रहेको सुनाउनुभयो । सहकारी अभियानमा कोरोना महामारी चुनौतीको रुपमा देखा परेकोले यसको भावी चुनौतीको सामना गर्न तयार हुनपर्ने उहाँले बताउनुभयो । कोरोनाको पहिलो र दोस्रो लहरले आर्थिक मन्दी उत्पन्न भयो । उत्पादन प्रणाली निष्क्रिय भएको छ । आयातमा वृद्धि निर्यात न्यून भएको छ । वित्तीय संस्थामा तरलताको अभाव भएको छ । यसलाई समाधान गर्न नपाउँदै कोरोनाको अर्को लहर आउने जोखिम बढेको छ । उहाँले भन्नुभयो, “परिस्थिति बदलिन्छ । मनस्थिति बदलिन्छ । तर सहकारी संस्थाले निरन्तर सेवा दिनुपर्छ । त्यसैले कोरोनाको तेस्रो लहरको समयमा पनि कोरोनाबाट जोगिएर सहकारीले जनतालाई सेवा दिनुपर्छ ।”

संघका अध्यक्ष भूमिराज खड्कोको अध्यक्षतामा भएको समारोहमा संस्थाको सञ्चालक समितिको प्रतिवेदन महासचिव अनिल श्रेष्ठले प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष तेन्जिङ शेर्पाले २०७७÷०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । आन्तरिक लेखापरीक्षण समितिको प्रतिवेदन संयोजक डम्बर बहादुर खड्काले प्रस्तुत गर्नुभयो ।  

 सहकारी संस्था तथा सहकारीकर्मी सम्मानित
संघमा आबद्ध साकोसहरुका कर्मचारीमध्येबाट उत्कृष्ट कर्मचारी जनसचेतन साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज दाहाललाई स्थापना दिवस तथा साधारण सभामा सम्मान गरिएको थियो । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका महासचिव, नेफ्स्कूनका सञ्चालक सदस्य, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्वअध्यक्ष हालका सल्लाहकार जिवसराज खड्का उत्कृष्ट पूर्व सञ्चालक तथा सहकारीकर्मीको रुपमा सम्मानित हुनुभएको छ । उत्कृष्ट ऋणी संस्था नव जनउत्थान साकोस, नियमित बचत तथा ऐच्छिक बचत बढी गर्ने एकीकृत फ्रेन्डसीप साकोस, सबैभन्दा बढी शेयर खरीद गर्ने संस्था जनसचेतन साकोस, उत्कृष्ट सहकारीको रुपमा अर्थभुमि साकोसलाई सम्मान गरिएको छ ।

संघमा आबद्ध एक स्थानीय तहभित्र मात्र कार्य क्षेत्र भई सञ्चालित प्रारम्भिक सहकारी संस्थाहरु मध्ये उत्कृष्ट कार्य गर्ने सहकारी संस्थालाई सम्मान गर्ने संघको वार्षिक कार्यक्रम अन्तर्गत २०७७÷०७८ मा उत्कृष्ट हुने  ९ वटा पालिकाका एक एक वटा सहकारीहरुलाई सम्मान गरिएको छ । जसमा भीमेश्वर नगरपालिका–६ स्थित सिर्जना साकोस, जिरी नगरपालिका–९ को चाँपखोला साकोस, बैतेश्वर गाउँपालिका–४ को जनसचेतन साकोस, तामाकोशी गाउँपालिका–३ जफेको जनश्रमिक साकोस, मेकिङ गाउँपालिका–२ घ्याङसुकाठोकरको दीपशान्ति साकोस, शैलुङ गाउँपालिका–३ काटाकुटीको मागादेउराली साकोस सम्मानति भएको छ । त्यसैगरी कालिञ्चोक गाउँपालिका–५ लापिलाङको शिवशक्ति साकोस, विगु गाउँपालिका– ८ लादुकको सावलादेवी महिला साकोस र गौरीशंकर गाउँपालिका–४ झ्याँकुको शुभप्रभात साकोसलाई सम्मान गरिएको छ ।

संघले स्वर्गीय सहकारीकर्मी केशवकुमार खड्काको परिवारलाई समेवदनापत्र सहित ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ । स्वर्गीय खड्का गौरीशंकर गाउँपालिका–२ जुँगुमा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ऋण सहायकको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँको कोरोना संक्रमणको कारण निधन भएको थियो । समारोहमा बागमती प्रदेश सहकारी संघका महासचिव भीम प्रसाद दाहाल, बागमती प्रदेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका महासचिव जिवसराज खड्का, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईँ, दोलखा दुग्ध उद्योगका अध्यक्ष लालकुमार केसी लगायतले मन्तव्य व्यक्त गर्नुभयो । 

सहकारी अभियानलाई सशक्त रुपमा अगाडि बढाउन जिल्लामा सञ्चालित सबै बचत तथा ऋण सहकारी संस्थाको छाता संगठन रुपमा २०५२ साल पुस २६ गते दोलखा जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना गरिएको हो । यसको उद्देश्य बचत तथा ऋण सहकारी संस्थाहरूलाई एकताबद्ध गरी संस्थामा आइपर्ने समस्याहरूको समाधान गर्ने, तिनीहरूको संस्थागत विकास र प्रवर्द्धन गर्ने, सहकारी एकरूपता कायम गर्न गर्ने, मानव संसाधनको विकास गर्न, प्रविधि मैत्री प्रणाली व्यवस्थापन गर्ने रहेको छ । सहकारी क्षेत्रको दिगो विकास संरक्षण र प्रवर्द्धन गरी राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणका लागि संस्थाले भूमिका निर्वाह गरिरहेको अध्यक्ष भुमीराज खड्काले बताउनुभयो । 

Shares

Be the first to comment on " दोलखा जिल्ला बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवस तथा साधारण सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*