दोलखा कारागारमा कैदीले गरे तालाबन्दी, ५ कैदीको सरुवा

पुस १३, चरिकोट । नाइके कैदी विरुद्ध दोलखा कारागारमा कैदीले नै तालाबन्दी गरिदिएका छन् । नाइके कैदीद्वारा कुटपिट, गुणस्तरहीन खाना खुवाउने र पैसा समेत ठग्न थालेपछि भीमेश्वर नगरपालिका–३, चरिकोटस्थित कारागारमा नाइके कैदी विरुद्ध कैदीले नै आइतबार तालाबन्दी गरिदिएका हुन् ।

चरिकोट कारागारमा रहेका १०८ कैदीबन्दीमध्ये नाइके, चौकीदार, भाईनाइके गरी ५ जना कैदी विरुद्ध १०३ जना कैदीले कारागारको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेका हुन् । कैदीको आन्तरिक प्रशासनमा भएको गडबढीले तालाबन्दी भएको कारागार कार्यालय चरिकोटका निमित्त जेलर शेषराज गोलेले जानकारी दिए ।

चौकीदार र मुख्य नाइके सहित ५ जनालाई जेलसरुवा र उनीहरुले ठगि गरेको करिब १५ लाख रुपैयाँ फिर्ताको माग राखेर काराबासको मुख्य ढोकामा तालावन्दी गरेको कैदी अशोक केसीले बताए । कारागारलाई मन्दिर बनाईदिन्छु भनेर मुख्य नाइके बनेका कैलाश बस्नेतले नै गाँजा र रक्सी सेवन गरेर कतिपयलाई कुटपिट गरेको र गुणस्तरहीन खाना खुवाएकोले सहन नसकेर तालाबन्दी गर्नु परेको कैदी केसी लगायतको भनाई छ ।

विभिन्न बहानामा २० जना कैदीसँग करिब १५ लाख असुलेको अर्का कैदी बिमल आचार्यले बताए । कुटाई र थिचोमिचो रहेर बस्दा बस्दा खानामा समेत घोटाला गर्न थालेपछि प्रतिवादमा उत्रनु परेको कैदी आचार्यको भनाई छ ।

लाइब्रेरी बनाउन कैदहरुविच संकलन गरिएको ८० हजार रकम समेत मुख्य नाईके बस्नेतले गायब बनाएको कैदीहरुको आरोप छ । १०८ मध्ये १०३ जना कैदीहरुले संयुक्त हस्ताक्षर गरेर कैलाश बस्नेत, ओमशरण थापा, कमल नेपाली, राजकुमार योगी र किशोर भण्डारी नामका कैदीलाई सरुवा र मुख्य नाइके बस्नेतले असुलेको करिब १५ लाख फिर्ता गर्नु पर्ने दुई बुँदे माग राखेका छन् ।

मुख्य नाइके बस्नेतले कारागारभित्र गाँजा भरेको चुरोटको व्यापार गर्ने गरेको समेत ति कैदीले बताए । मेसले अनिवार्य गरेर अचार मात्र खाएको महिनाका ३ सय रुपैयाँको दरले असुल्ने, शरिरमा तेल लगाईदिनु पर्ने, मुढा बनाएको, थाँका लेखेको, सिलाई कटाई गरेको पारिश्रमिक समेत मुख्य नाइके बस्नेतले कसैलाई नदिने गरेको सम्मको ज्यादती गरेको कैदीहरुको भनाई छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेलले मौजुदा परिस्थितिअनुसार कैदी विच ज्यानकै जोखिम हुने देखिएकोले कैलाश बस्नेत, ओमशरण थापा, कमल नेपाली, राजकुमार योगी र किशोर भण्डारीलाई काठमाण्डौं आसपासका कारागारमा स्थानान्तरण गरिएको बताए ।

Shares

Be the first to comment on "दोलखा कारागारमा कैदीले गरे तालाबन्दी, ५ कैदीको सरुवा"

Leave a comment

Your email address will not be published.


*