दोलखा एमालेमा नयाँ नेतृत्व चयनका लागि कसरत

नेपाल कम्युनिष्ट पार्टी एमाले दोलखाको दशौँ अधिवेशन सदरमुकाम चरिकोटमा शुक्रबारदेखि सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल विधिको उपयोग गरी काठमाडौँबाट देशका ७७ वटै जिल्लाको अधिवेशन एकै साथ उद्घाटन गर्नुभएको हो । एमाले दोलखाको उद्घाटन सत्रमा पोलिटब्युरो सदस्य पार्वत गुरुङले देशमा नेकपा एमालेको विकल्प नरहेको र यसलाई कुनै पार्टीले चुनौती दिन नसक्ने बताउनुभयो । आफूले नेतृत्व गर्दा सबै नेता कार्यकर्तालाई चित बुझ्ने गरी काम गरेको र यसमा कसैले पनि प्रश्न गर्ने ठाउँ नै नरहेको उहाँले दाबी गर्नु भयो । उहाँले एमालेको उज्यालो भविष्यका लागि सक्षम नेतृत्व सर्वसम्मत चयन हुने बताउनुभयो ।
पोलिटब्युरो सदस्य ईश्वरी रिजालले देशभर नयाँ सन्देश सम्प्रेषण गर्ने गरी अधिवेशन सम्पन्न हुने बताउनुभयो । नेतृत्व सम्हाल्नु दाँते ओखर नभई हाडे ओखर भएकोले योग्य र सक्षम व्यक्तिहरू नेतृत्वमा होमिन आवश्यक रहेको बताउनुभयो । केही प्रतिगामी तत्त्वले काँचो इँटाको पर्खाल लगाएर घेराबन्दी गर्ने प्रयास भएपनि त्यसले एमालेलाई कुनै समस्या नहुने र त्यो भन्दा ठूलो चुनौतीलाई परास्त गर्न सक्ने क्षमता र शक्ति एमालेसँग रहेको सुनाउनुभयो । अहिले एमालेलाई फसाउन पासो र खाडल निर्माण गरिरहेका छन् । ती तत्त्वहरू पछि आफूले खनेको खाल्डोमा आफैँ फस्ने उहाँले बताउनुभयो । पोलिटब्युरो सदस्य आनन्द प्रसाद पोखरेल दक्षिण पन्थी अवसरवादको दक्षिणपन्थी अवसरवादी चिन्तनलाई परास्त गर्न, संगठन भित्र देखिएको अराजकतालाई अन्त्य गर्न अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वको भूमिका प्रभावकारी बन्ने अपेक्षा गर्नुभयो । आगामी निर्वाचनमा एमालेबाट चोइटिएर गएकाहरूले प्रतिस्पर्धा गरी हराउने चुनौती दिइरहेका अवस्था रहेको छ । तर ति चुनौतीलाई सजिलै समाना गरी उनीहरूलाई नै पराजित गरी देखाइने उहाँले बताउनुभयो । 

 नेतृ रचना खड्काले जनताले दिएको अधिक विश्वास र आस्थालाई एमालेले सदुपयोग गरेको सुनाउनु हुँदै सो विश्वास कायम राख्नको लागि प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समाजवादको उन्मुख अर्थतन्त्रको आधार निर्माण र समाजवाद तर्फ फर्किने गरी एमाल लागि परेको सुनाउनुभयो ।
एमाले दोलखाका इन्चार्ज सरस्वती बस्नेतले तीन तहमै एमालेको सरकार बनाउन अहिले देखिनै बलियो र एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । देशकै १ नम्बरको पार्टी एमाले रहेको उहाँले जिकिर गर्दै यसको निरन्तरता कायम राख्न कार्यकर्ता तथा नेताहरूले भूमिका सशक्त बनाउनुपर्ने बताउनुभयो । 

नेतृ शान्ति पाख्रिनले पार्टीलाई पारदर्शी र अनुशासित बनाउने नेतृत्व आवश्यक रहेकोले सो किसिमको नेतृत्व सर्वसम्मत चयनका लागि विवेक प्रयोग गर्नुपर्ने बताउनुभयो ।
नेता लालकुमार केसीले एमाले दुब्लो भएको जनताले देख्न नचाएको र बलियो भएर देशको विकासमा योगदान दिएको देख्न चाहेको बताउनुभयो । उहाँले समृद्धि र विकासको निम्ति कृषि, पर्यटन, उद्योगको सञ्चालन, प्रवर्द्धन तथा वनको उपयोग र व्यवस्थापन आवश्यक रहेको उहाँले बताउनुभयो । अधिवेशनमा जिल्लाभरका सात सय भन्दा बढी प्रतिनिधि उपस्थित छन् । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । दोलखा एमाले नेतृत्व हात पार्न डबल पाण्डे, भरत केसी, भर दुलाल र नरबहादुर श्रेष्ठले आकांक्षा राखेर उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । । सर्वसम्मत नेतृत्व चयनका लागि आकाङ्क्षीहरूबीच सहमति जुटाउने प्रयास जारी रहेको एमाले दोलखाले जनाएको छ । उद्घाटन कार्यक्रम चार बजे सकेर नयाँ नेतृत्व चयनका लागि पक्रिया सुरु भएको बताइएको छ । 

 

Shares

Be the first to comment on "दोलखा एमालेमा नयाँ नेतृत्व चयनका लागि कसरत"

Leave a comment

Your email address will not be published.


*