दोलखा अब खुल्ला दिसामुक्त हुने

इश्वर विश्वकर्मा
चरिकोट, ५ फागुन
दोलखा जिल्ला अब खुल्ला दिसामुक्त हुने भएको छ । जिल्लालाई खुल्ला दिसामुक्त गर्न जिल्लाका सरोकारवालाहरु सक्रिय भएका छन् ।
दोलखालाई खुल्ला दिसामुक्त गर्न जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेको संयोजकत्वमा ११ सदस्यीय समेत गठन भएको छ । समितिमा जिल्ला प्रशासन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, गैर सरकारी संस्था र पत्रकार महासंघका प्रतिनिधिहरु रहेका छन् । समितिले जिल्लालाई खुल्ला दिसामुक्त गर्न आवश्यक तयारी र अनुगमन गर्ने छ ।
दोलखाको ९ वटै स्थानीय तहहरुको वडा तहसम्मको शौचालयको स्थलगत अनुगमन गर्ने छ । दोलखामा नगरपालिका र ७ गाउँपालिकाको ७४ वटा वडाहरु रहेका छन् । समितिले सबै ठाउँको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार गरेर त्यसैको आधारमा जिल्लालाई खुल्ला दिसामुक्त गर्नका लागि मिति तोक्ने छ । दोलखालाई आउँदो २ महिना भित्रै खुल्ला दिसामुक्त गर्ने योजना बनाएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन रामेछापका प्रमुख जगन्नाथ पूर्वेले दोलखालाई २ वर्ष अघि नै खुल्ला दिसामुक्त गर्ने तयारी भए तापनि भुकम्पले घर र शौचालय भत्केका कारण स्थगित भएको जानकारी दिए । निजी आवास पुर्ननिर्माणसँगै शौचालय पनि पुर्ननिर्माण भएकाले खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्न सकिने अवस्थामा पुगेको उनलेब बताए ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले दोलखालाई खुल्ला दिसामुक्त घोषणा गर्न नागरिक समाज, पत्रकार, राजनैतिककर्मी सबैले साथ दिनु पर्नेमा जोड दिए । देशका ७७ जिल्ला मध्ये हालसम्म ६३ जिल्ला खुल्ला दिसामुक्त घोषणा भइसकेका छन् ।

Shares

Be the first to comment on "दोलखा अब खुल्ला दिसामुक्त हुने"

Leave a comment

Your email address will not be published.


*