दोलखाली गौरबको आयोजनाः लामाबगरमा बन्ने सुरुङमार्गको डिजाइन तयार ,बजेटको सहमति माग

 

चरिकोट(दीस) – दोलखाली गौरबको आयोजनाको रुपमा रहेको लामाबगरमा बन्ने सुरुङमार्गको डिजाइन तयार भएको छ । डिजाइन सडक विभागले उत्तर–दक्षिण कोरिडर अन्तरगत दोलखाको लामाबगरमा बन्ने सुरुङमार्गको डिजाइन तयार गरेको छ । सो सुरुङमार्ग निर्माणका लागि बहुवर्षीय ठेक्का गर्न अर्थमन्त्रालयसँग बजेटको सहमति पनि माग गरेको छ ।विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीका अनुसार यो सुरुङमार्ग निर्माण भएमा दोलखा हुँदै चीनसँग जोडिएको नाकासम्म सडक पुग्नेछ ।माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ‘हेडवक्र्स’भन्दा माथिको भागमा करिब एक किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ । यो सुरुङ बनेपछि चीनको नाका जोड्न थप करिब ९ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ । तामाकोसी आयोजनालाई असर नपर्ने गरी यो सुरुङमार्ग बनाउन लागिएको हो । नेपाल सरकार प्रबक्ता सुचना तथा सञ्चार मन्त्री पार्बत गुरुङले यो आर्थिक बर्ष ठेक्कामा लाग्ने बताउदै आएका थिए । चीन र भारतसँग छोटो दुरीमा जोड्ने तिब्बत सिमानादेखि भारतको भित्तामोठसम्मको यो सडक सबैभन्दा छोटो पर्नेछ । भारतीय सिमानादेखि लामाबगरसम्म पक्की सडक तयार भएर गाडी चलिरहे पनि लामाबगरदेखि चिनियाँ सिमानासम्मको सडकको ट्रयाक मात्र खोल्न बाँकी छ । फलाकसम्मको सडक १२ किलोमिटर तयार गरे तिब्बत सिमा पुग्न सकिन्छ । लामाबगरबाट तिब्बती सिमानासम्म १२ किलोमिटर दुरी छ । डिभिजन सडक कार्यालय चरिकोटले ठेक्का लगाएर ३ किलोमिटरको ट्रयाक खोलिसकेको छ । तिब्बतको फलाकसम्म यो सडक जोडिए भारतको भिट्टामोडसम्म २१० किलोमिटरमा चीन र भारत जोड्ने उत्तर दक्षिण लोकमार्ग तयार हुने छ । यसै वर्ष विभागले थप ३ वटा सुरुङमार्ग अध्ययनको काम अघि बढाएको छ । सडक विभागले यस वर्ष धरान–लेउतीरोड, गोदाबरी (ललितपुर)–मानेभञ्ज्याङ (काभ्रे) र दिपायल (डोटी)–खुटिया (कैलाली) खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिरहेको जैसीले बताए । यी सुरुङमार्गको अध्ययन सकिएर कहिलेबाट, कसरी निर्माण गर्ने भन्ने केही तय छैन ।अहिले काठमाडौं–निजगढ द्रुतमार्गमा बन्ने तीनसहित देशभर १७ वटा सुरुङमार्ग अध्ययन र अध्ययनपछिका चरणमा छन् ।

 

Loading

Shares