दोलखामै पहिलो आवासिय विद्यालय नीलकण्ठेश्वर मावि

इश्वर बिश्वकर्मा चरिकोट, माघ १२ दोलखाको नीलकण्ठेश्वर माविलाई आवासिय विद्यालयको रुपमा सञ्चालन गरिने भएको छ । जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. २ स्थित जुँगु रेशमडाडाँमा रहेको उक्त विद्यालयलाई आवासिय विद्यालयको रुपमा सञ्चालन गरिने भएको हो । आवासिय विद्यालयको रुपमा सञ्चालन गर्नका लागि बागमति प्रदेश सरकारले करिब ७ महिना अघि नीलकण्ठेश्वर माविलाई समेत छनौट गरेको थियो । छनौटमा परेसगैँ आवासिय विद्यालय सञ्चालनका लागि डिपिआर निर्माण गरि आवासिय विद्यालय सञ्चालन कार्यविधि २०७६ अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय बागमती प्रदेश, हेटौँडाले आवश्यक संरचना निर्माण गर्न शुभारम्भ गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । सोमबार विद्यालयको ५९ औँ वार्षिक उत्सव र २९ औँ अभिभावक दिवस समारोह र आवासिय विद्यालयको समेत एकसाथ बागमति प्रदेश सभा सांसद बिशाल खड्काले उद्धघाटन गरे । उद्धघाटन कार्यक्रममा मन्तव्य राख्दै सांसद खड्काले गौरीशंकर गाउँपालिकाका बालबालिकालाई विद्यालयमा आकर्षण गरि सहज र गुणस्तरीय शिक्षा प्रदान गर्न सामुदायिक विद्यालयलाई आवासिय विद्यालयको रुपमा रुपान्तरण गरिएको बताए । पछिल्ला वर्षहरुमा निजी विद्यालयमा आकर्षण बढेकोले त्यसैको खोजीमा अभिभावक तथा बालबालिका सदरमुकाम तथा अन्य स्थानमा बसाइ नै सरेर जान थालेका छन् । त्यस्ता अभिभावक तथा बालबालिकालाई गाउँमा नै फर्काउने र गाउँमै रोक्ने अभिप्रायका साथ पालिकावासीलाई पायक पर्ने गरि आवासिय विद्यालय सञ्चालन गर्न लागिएको उनले बताए । सोही समारोहमा बागमति प्रदेश, शिक्षा विकास निर्देशनालयका का. मु. निर्देशक चन्द्र प्रसाद लुइँटेलले आवासिय विद्यालय सञ्चालनका लागि प्रधानाध्यापकको भुमिका प्रमुख रहने भएकोले शैक्षिक प्रगति सर्वाेकृष्ट बनाउन प्रधानाध्यापकले अहोरात्र खटिनुपर्ने बताए । उनले आवासिय विद्यालय सञ्चालन गर्न निकै चुनौतीपुर्ण कार्य भएको तर व्यवस्थित रुपमा सञ्चालन गरेको खण्डमा पालिकाको शिक्षा क्षेत्रमा कायापलट हुने बताए । त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले स्थानीय बालबालिकालाई विद्यालयको आवासमै खानबस्नको सुविधा सहित शिक्षा प्राप्त गर्ने व्यवस्था उपलब्ध गराउँदै शिक्षामा सर्वोत्कृष्ट बन्ने उद्धेश्यले आवासिय विद्यालय निर्माण शुभारम्भ गरिएको बताए ।
फागुन १६ देखि आवास सञ्चालन हुने विद्यालयमा अध्ययनरत् १ सय ४० जना विद्यार्थीहरुलाई विद्यालयको अस्थाई आवासमा फागुन १६ देखि राखेर अध्यापन गराइने विद्यालयका प्रधानाध्यापक शान्त लामा शेर्पाले बताए । यो वर्ष केही संरचना निर्माणको लागि ५० लाख रुपैयाँ शिक्षा विकास निर्देशनालयले उपलब्ध गराएको छ। उक्त संरचना केही दिनमै निर्माणसम्पन्न हुने उनले बताए । डिपिआरमा उल्लेख भए अनुसार केही वर्षमा छात्रवास भवन, हल, पुस्तकालय लगायतका स्थाई संरचना विद्यालयमा निर्माण सम्पन्न हुनेछ । चालु आवको लागि १ करोड रुपैयाँ विद्यालयमा प्राप्त हुनेछ । आवासिय विद्यालयमा अपाङ्गता भएका, लोपान्मुख जाति, सिमान्तकृत, दलित, जनजाति तथा विपन्न वर्गका विद्यार्थीलाई प्रमुख प्राथमिकता दिई आवासमै बसेर शिक्षा लिने व्यवस्था मिलाइने विद्यालयले जनाएको छ । आवासिय विद्यालयमा ५ सय जना विद्यार्थीलाई राखेर अध्यापन गराउने उद्धेश्य राखिएको छ । आवासमा बसेर अध्यापन गरिरहेका विद्यार्थीको खर्च शिक्षा विकास निर्देशनालय बागमति प्रदेश, हेटौँडाले व्यवस्थापन गर्ने जनाइएको छ । आवासिय विद्यालय सञ्चालन कार्यविधि २०७६ मा उल्लेख भएका मापदण्डको परिपालना गर्दै नीलकण्ठेश्वर माविलाई आवासिय विद्यालयको रुपमा सञ्चालन गरिनेछ ।

Shares

Be the first to comment on "दोलखामै पहिलो आवासिय विद्यालय नीलकण्ठेश्वर मावि"

Leave a comment

Your email address will not be published.


*