दोलखामा ९५ प्रतिशत जनगणना सकियो

दीक्षण समाचार /चरिकोट,–देशभर कार्तिक २५ गतेदेखि सुरु भएको १२ औँ राष्ट्रिय जनगणना अन्तर्गत दोलखामा तथ्याङ्क संकलनको काम अन्तिम चरणमा पुगेको छ । जिल्ला जनगणना कार्यालय प्रमुख तथा जिल्ला जनगणना अधिकारी सन्तोष कार्कीले गणनाको काम ९५ प्रतिशत सम्पन्न भएको बताउनुभयो । निर्धारित समयमैँ गणना सक्ने लक्ष्यका साथ काम भईरहेको छ । भौगोलिक विकट रहेको लप्ची, ना र बेदिङमा समेत गणना कार्य सकिएको छ । बाँकी सबै क्षेत्रमा गणना कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । धेरै जसो ठाउँमा मानिसहरु खेतीपातीमा व्यस्त भएकोले गणकहरुले खेतबारीमैँ पुगेर तथ्यांक संकलन गरेका छन् । कतिपय स्थानमा उत्तरदाता नभिँदा गणकहरुले समय लिएर पटकपटक धाएर गणना गरेका छन् । यी यस्ता चुनौती स्वाभाविक रहेको बताउँदैँ जिल्ला जनगणना अधिकारी कार्कीले भन्नुभयो “घरमुलीको कार्यस्थल वा खेतबारीमा नै गएर पनि तथ्याङ्क संकलन भएको छ । त्यसैगरी गणकहरुले विभिन्न ठाउँमा भोट माग्न आएको भन्ने प्रतिप्रश्न समेत सुन्नुपरेको थियो” ९ गते अक्सर बसोबास गर्नेको जहाँ रहेका छन्, त्यहाँबाट गणना हुन्छ । त्यसैगरी तथ्याङ्कमा आद्यवधिक गर्नुपर्न भए सोही दिन गरिने छ । १० गतेदेखि सुपरिवेक्षक र गणक संयुक्त रुपमा कार्य सम्पन्नता फाराम भरी स्थानीय जनगणनाको कार्यालयमा बुझाउने छन् । जनगणनाको लागि जिल्लाको नौ वटै स्थानीय तहमा कार्तिक २५ गतेदेखि गणक र सुपरिवेक्षकले काम गरिरहेका छन् । जिल्ला जनगणना अधिकारी कार्कीले भीमेश्वर नगरपालिकामा ६०, जिरी नगरपालिकामा २८, कालिञ्चोकमा ३८, गौरीशंकरमा २८, विगुमा ३४, तामाकोशीमा २९, बैतेश्वरमा ३६, मेलुङ ३३ र शैलुङ गाउँपालिकामा ३४ गरी तीन सय २० जना गणक परिचालित भईरहेको बताउनुभयो । त्यसैगरी ८६ जना सुपरिवेक्षकले काम गरिरहेका छन् । जिल्ला जनगणना अधिकारी कार्कीले यस अघि छुटेकाहरुको पुनः गणनाको लागि गणकहरु गईरहेका छन् । छुटेको घरमा गणक नआएमा जिल्ला जनगणना कार्यालय र स्थानीय जनगणनाको कार्यालयमा सम्पर्क गर्न सकिने तथा तथ्याङ्क विभागको टोल फ्रि नम्बर ११७८ मा सम्पर्क गर्न सकिने उहाँले बताउनुभयो । हरेक दश वर्षको अन्तरालमा हुने गरेको जनगणनाको उद्धेश्य विभिन्न जाति, धर्म, भार्षा, क्षेत्र, वर्ग, लिंग तथा उमेर समुहका समग्र अवस्थाको बारेमा थाहा पाउन तथ्यांक संकलन गर्नु हो । यी तथ्यांकको आधारमा राज्यले आम नागरिकको हितका लागि सही नीति, योजना तथा कार्यक्रम बनाउन सक्दछ । प्रत्येक १०–१० वर्षमा गरिने जनगणना यसअघि विसं २०६८ मा गरिएको थियो । नेपालमा औपचारिक रुपमा विसं १९११ मा जनगणना कार्यको थालनी भएको हो ।

Shares

Be the first to comment on "दोलखामा ९५ प्रतिशत जनगणना सकियो"

Leave a comment

Your email address will not be published.


*