दोलखामा ५० प्रतिशत सकियो धान रोपाइँ

ईश्वर बिश्वकर्मा
चरिकोट, असार १४
दोलखामा ५० प्रतिशत धान रोपाइँ सकिएको छ । यस वर्ष समयमै मनसुन सुरु भई पर्याप्त पानी परेकोले जिल्लाभर ५० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र रामेछाप, सम्पर्क कार्यालय दोलखाका प्रमुख नन्दराज ओलीले  जिल्लाको तीन हजार २ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको बताउनुभयो । उहाँका अनुसार जिल्लाको भीमेश्वर र जिरी नगरपालिका सहित कालिञ्चोक, बिगु, बैतेश्वर लगायत गरि ९ वटै स्थानीय तहको तल्लो भेगमा धान खेती गरिन्छ । रोपाइँ जेठको पहिलो सातादेखि नै सुरु भएकोले अहिले आधा रोपाइँ सकिएको र साउनको पहिलो सातामा शतप्रतिशत सम्पन्न हुने उहाँले बताउनुभयो । सिँचाइ सुविधा भएको र मजदुरको पर्याप्तता रहेका केही ठाउँमा भने जेठको दोस्रो साताबाटै धान रोपाइँ सुरु भई जेठमै सकिन्छ । तर जिल्लाका अधिकांश स्थानमा सिँचाइ सुविधा नभएकोले आकाशे पानीको भरमा साउन सम्मै रोपाइँ हुने गरेको छ । जिल्लामा बढिमात्रामा हाइब्रिड, पोखरेली, खुमल ४, ८ र १० लगायतका जातको धान लगाइन्छ । अधिकांश क्षेत्रको रोपाइँमा हाते ट्याक्टर लगायतका प्रविधिको प्रयोग भएका छन् । कतिपय स्थानीय तहले किसानलाई प्रोत्साहन गर्नको लागि धानको बीउ वितरण गरेका थिए ।
मल अभाव कायमै
जिल्लामा मध्य असारको बेला धान रोपाइँ धमाधम भएपनि मल अभाव हुँदा किसानहरू चिन्तित छन् । धान रोपेको १२ देखि १५ दिनमा रासायनिक मल हाल्नुपर्छ  । तर मल अभाव भएपछि किसानहरू धान नफल्ने चिन्तामा छन् । भीमेश्वर नगरपालिका वडा नं. ३ का हरिमाया प्रधानले जेठको अन्तिम सातादेखि नै रासायनिक मल खोजेको भएपनि अहिलेसम्म कतै नपाएको गुनासो गर्नुभयो । “रोपाइँ सकियो । तर मल पाउन सकिएन ।” उहाँले भन्नुभयो “ अबको केही दिनमा मल हाल्नुपर्ने हुन्छ । त्यसो नगरे धान फल्दैन । अझै मलकै खोजीमा छु ।” कृषि ज्ञान केन्द्र रामेछाप, सम्पर्क कार्यालय दोलखाका प्रमुख ओलीले जिल्लामा हालसम्म पनि पर्याप्त मल आइनसकेको बताउनुभयो । धानमा डियपी, युरिया र पोटास मलको मात्रा मिलाएर हाल्नुपर्ने भएपनि तीनै प्रकारका मल अभाव रहेको उहाँले बताउनुभयो । पछि सम्म मलको अभाव कायमै रहेमा धान खेतीमा ह्रास आउन सक्ने देखिएको छ ।
धान दिवसमा रोपाइँ महोत्सव
बुधबार नेपालमा १९ औ राष्ट्रिय धान दिवस मनाइदै छ । दोलखामा पनि दिवसको अवसरमा बेठी बाजा सहितको रोपाइँ महोत्सव आयोजना हुने भएको छ । धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग भन्ने मुल नाराका साथ मनाइन लागेको धान दिवसमा विभिन्न सङ्घसंस्थाले महोत्सवको आयोजना गरेका हुन् । भीमेश्वर नगरपालिकाको मुख्य सहयोग रहने महोत्सव भीमेश्वर नगरपालिका ६ स्थित सिक्रीमा आयोजना हुने बताइएको छ । महोत्सवले रोपो, रोपाहार, बाउसे, साउने, दाँदे, फेउरी, बेठी, दहीचिउरा जस्ता शब्दावलीलाई जीवित राख्ने बताइएको छ । महोत्सव ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा ५० प्रतिशत सकियो धान रोपाइँ"

Leave a comment

Your email address will not be published.


*