दोलखामा ४ दिनमा ६ सय भन्दा बढीले लगाए खोप

जिसस प्रमुख डबल पाण्डेलाइ खाेप लगाइदिदैँ स्वास्थ्यकर्मी

इश्वर बिश्वकर्मा चरिकोट, दोलखामा फागुन २ देखि सुरु भएको कोरोना भाइरस बिरुद्धको दोस्रो चरणको खोप अभियान जारी छ । अभियानको चौँथो दिन अर्थात् बुधबारसम्म प्राथमिकतामा परेका ६ सय ६३ जनाले कोरोना बिरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका छन् । ९० जना पहिलो चरणमा खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, २ सय ६२ जना स्थानीय तहका निर्वाचित जनप्रतिनिधी र कर्मचारी, ९१ जना निजामती सेवाका कर्मचारी, ५१ जना जनपद प्रहरीेले खोप लगाएका छन् । १५ जना बोर्डरमा खटिने सशस्त्र प्रहरी, ८३ जना बैँक तथा वित्तीय संस्थाका कर्मचारी, ४५ जना प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, १७ जना न्याय सेवा समुहका कर्मचारी र ९ जना पत्रकारले कोरोना बिरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कार्यालय प्रमुख विभु कुमार झाका अनुसार खोप अभियानको पहिलो दिन ५७ जना, दोस्रो दिन १ सय ७२ जना, तेस्रो दिन १ सय ६४ जना र चौँथो दिन अर्थात् बुधबार २ सय ७० जना प्राथमिकतामा परेका व्यक्तिहरुले खोप लगाएका छन् । जिल्लाको भीमेश्वर नगरपालिकामा अवस्थित चरिकोट अस्पताल र जिरी नगरपालिकामा अवस्थित जिरी अस्पताल र जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित सिंगटी बजारमा रहेको सिंगटी प्राथमिक अस्पताललाई पनि कोभिड १९ विरुद्धको खोप केन्द्र तोकिएको छ । पहिलो चरणको पहिलो प्राथमिकतामा फ्रन्टलाइर्नस स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स, शबबाहन चालक, कारागारका कर्मचारी, कैदीबन्दी, सफाईकर्मीलाई खोप लगाइएको थियो । खोप लगाएकाहरुलाई केही व्यक्तिहरुलाई खोप लगाएको ठाउँमा दुख्ने र सामान्य सुन्निने, टाउको दुख्ने, अल्छी लाग्ने, जीउ दुख्ने, जोर्नी सामान्य दुख्ने, सामान्य ज्वरो जस्ता सामान्य लक्षण देखिए पनि खोप सुरक्षित र प्रभावकारी रहेको कार्यालयले जनाएको छ । खोप सुरक्षित र प्रभावकारी रहेकोले कुनै पनि शंका अपशंका नगरी ढुक्क भएर खोप लगाउन स्वास्थ्य कार्यालय दोलखाले अनुरोध गरेको छ ।

Shares

Be the first to comment on "दोलखामा ४ दिनमा ६ सय भन्दा बढीले लगाए खोप"

Leave a comment

Your email address will not be published.


*