दोलखामा ४५ हजार लौठ सल्लाका विरुवा रोपण

नवराज शिवाकोटी, चरिकोटः दोलखा जिल्लाका विभिन्न स्थानीय तहहरुमा ४५ हजार दुर्लभ लौठ सल्लाका विरुवा रोपण गरिएको छ । चालु आर्थिक वर्षमा डिभिजन वन कार्यालय दोलखाले उपलब्ध गराएका लौठ सल्लाका विरुवाहरु सो संख्यामा रोपण गरिएको हो ।
डिभिजन वन कार्यालय चरिकोटमार्फत लौठ सल्लाका ४५ हजार विरुवा रोप्नेकाम भएको डिभिजन प्रमुख थिरबहादुर कार्कीेले जानकारी दिनु भयो । अझै पनि किसानहरुबाट माग आइरहेकोले असार मसान्तसम्म यो संख्या ५० हजार सम्म पुग्न सक्नें डिभिजन प्रमुख कार्कीको भनाई रहेको छ  । पाँच हजार विरुवा सामूदायिक वनमा तथा चालिस हजार ब्यक्तिको निजि जग्गामा रोपण गरिएको डिभिजन वन कार्यालय दोलखाको तथ्याङ्क रहेको छ । कुल ५६२ रोपनी क्षेत्रफलमा औषधीय गुण युक्त दुर्लभ लौठ सल्लाको विरुवा रोपण गरिएको कार्यालयले बताएको छ । जिल्लाको जिरी नगरपालिकाको वडा नम्बर छ, सात, आठ तथा नौ , तामाकोसी गाउँपालिकाको वडा नम्बर सात, बैतेश्वर गाउँपालिकाको वडा नम्बर एक, दुई तथा सात, गौरिशंकर गाउँपालिकाको वडा नम्बर एक, दुई तथा चार, कालिञ्चोक गाउँपालिकाको वडा नम्बर पाँच तथा छ र भीमेश्वर गरपालिकाको वडा नम्बर एक र सातमा लौठ सल्लाको विरुवा रोपण गरिएको हो । एकै जना किसानले आठ हजारसम्म विरुवा लगाएकोबाट लौठ सल्ला खेतिमा किसानको आकर्षण बढ्दै गएको प्रष्ट भएको डिभिजन प्रमुख कार्कीले बताउनु भयो । संघ र प्रदेशको जडिबुटी खेति सम्मबन्धी विभिन्न शीर्षकमा प्राप्त रकमबाट बजार मूल्यमा विरुवा खरिद गरी किसानहरुलाई वितरण गरेको उहाँको भनाई रहेको छ ।
चालु आर्थिक वर्षमा जडिबुटी खेती विस्तार कार्यक्रमकालागि संघ सरकारको सात लाख तथा बागमती प्रदेश सरकारको पकेट क्षेत्रमा जडिबुटी खेती विस्तार कार्यक्रम, जडि बुटी विस्तार कार्यक्रम र सय रोपनी क्षेत्रमा जडिबुटी विस्तार कार्यक्रमका लागि १०(१० लाख रकम प्राप्त भएकोमा सोही रकमबाट विरुवा उपलब्ध गराईएको डिभिजन वन कार्यालयको भनाई रहेको छ । विरुवाको दुरुपयोग नहोस भन्नकालागि किसानले विरुवा रोप्न खाडल खनेपछी अनुगमन गरेर मात्र विरुवा उपलब्ध गराइएको डिभिजन प्रमुख कार्कीले बताउनु भयो । विरुवा रोपेपछि अनिवार्य रुपमा मुचुल्का उठाई कार्यालयमा बुझाई डिभिजनबाट विरुवा रोपण गरेको प्रमाणपत्र प्रदान गरिने ब्यवस्था मिलाइएको उहाँको भनाई रहेको छ ।
समुद्र सतहबाट पन्ध्र सय देखि पच्चिस सय मिटरको उचाईमा लौठ सल्लाको खेति गर्न सकिन्छ । विशेष गरी यसको पातबाट क्यान्सर विरुद्ध काम गर्ने ट्रयाक्सोल नामक रसाय तयार गरिन्छ । टूयाक्सोलले क्यान्सर कोषहरुको विभाजन प्रकृयालाई रोक्ने विज्ञहरुको भनाई छ । लगाएको करिब तीन वर्षपछि यसको पात टिप्न सकिन्छ । अन्न तथा फलफूल लगाउँदा लगाउँदा बाँदरले दुःख दिएर हैरान पारेकोले आफूहरुले लौठ सल्लाको खेति गरेको भीमेश्वर नगरपालिका वडा नम्बर एकका बलराम शिवाकोटीले बताउनुभयो । ठूलो परिमाणमा उत्पादन गरे यसका पात विक्रीकोलागि समस्या नभएको उहाँको भनाई रहेको छ । हाल प्रतिकेजी एकसय पचासमा लौठ सल्लाको पात विक्री हुने गरेको लौठसल्लाको खेति गर्ने किसानहरुको भनाई छ ।

Shares

Be the first to comment on "दोलखामा ४५ हजार लौठ सल्लाका विरुवा रोपण"

Leave a comment

Your email address will not be published.


*