दोलखामा २४ हजार लाभग्राहीले लिए प्रमाणपत्र

इश्वर बिश्वकर्मा चरिकोट, पुस २१ दोलखामा ७३ हजार ४ सय ६८ जना भुकम्प पिडीत लाभग्राही मध्ये हालसम्म ६१ हजार ७ सय ९३ जनाले तेस्रो किस्ताको रकम लिएका छन् । अर्थात् ६१ हजार ७ सय ९३ वटा भुकम्प प्रतिरोधी निजी आवास निर्माण भएका छन् । तर आवास निर्माण गरेका २३ हजार ९ सय ३६ जना लाभग्राहीले मात्र निजी आवास निर्माण सम्पन्नताको प्रमाणपत्र लिएका छन् । भूकम्प प्रतिरोधी र सुरक्षित घर बनेको प्राविधिक निरिक्षणको आधारमा उक्त संख्याका लाभग्राहीले निजी आवास निर्माण सम्पन्नताको प्रमाणपत्र प्राप्त गरेको जिल्ला स्तरीय आयोजना कार्यान्वयन इकाई (भवन) दोलखाले जनाएको छ ।
प्राविधिकले घरको पहिलो निरिक्षण गरेपछि लाभग्राहीले दोश्रो किस्ता बापत अनुदान रकम पाउछन् । दोस्रो पटक निरिक्षण पछि तेस्रो किस्ता पाउँछन् । तेस्रो किस्ता लिएपछि प्राविधिक निरिक्षण गराएर लाभग्राहीले घर निर्माण सम्पन्नताको प्रमाणपत्र लिनुपर्छ । तर यसमा धेरै लाभग्राहीले चासो दिएका छैनन् । केही लाभग्राहीले भने तेस्रो किस्ता लिएपछि घरको तला थप्ने, घर ठुलो बनाउने, बार्दली निकाल्ने लगायत मापदण्ड विपरित कार्य गरेका छन् । त्यस्ता घर बनाउने लाभग्राहीलाई घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिइदैँन । सोही कारणले पनि निजी आवास निर्माण सम्पन्नताको प्रमाणपत्र वितरणको प्रगति न्युन देखिएको जिल्ला स्तरीय आयोजना कार्यान्वयन इकाई (भवन) दोलखाका इन्जिनियर एवम् सुचना अधिकारी अनन्त पौडेलले बताए ।“ लाभग्राहीले मापदण्ड अनुरुपको घर निर्माण गर्नुपर्छ । यहि उद्धेश्यले अनुदान दिएइको हो ।” उनले भने “ तर तेस्रो किस्ताको अनुदान रकम लिएपछि घरको संरचना थपघट गर्ने प्रवृत्ति रहेकोले धेरै घर मापदण्ड विपरित भएका छन् । त्यस्ता घर निर्माण गरेका लाभग्राहीले सम्पन्नताकाे प्रमाणत्र पाउदैनन् ” केहि लाभग्राहीको घर भने निरिक्षणको प्रक्रियामा रहेको कारण पनि निजी आवास निर्माण सम्पन्नताको प्रमाणपत्र पाउनेको संख्या न्यून रहेको उनले बताए । उनले भुकम्प प्रतिरोधी घर बनाएसकेर तेस्रो किस्ता अनुदान रकम लिएपछि फेरि तला थप्ने, बार्दली निकाल्ने लगायतका कार्य नगर्न आग्रह गरेका छन् । साथै मापदण्ड अनुसारको घर निर्माण गरि सम्पन्नताको प्रमाणपत्र लिन समेत सबै लाभग्राहीलाई अनुरोध गरेका छन् । जिल्लामा हालसम्म ६९ हजार ५ सय १३ जनाले पहिलो किस्ता लिएका छन् भने ६४ हजार ९५ जनाले दोश्रो किस्ता लिएका छन् ।
लाभग्राही सुचिबाट नाम हटाइने
जिल्लाको ३ हजार ८ सय ५८ जना भुकम्प पीडित लाभग्राहीको नाम लाभग्राही सुचिबाट हटाउनका लागि केन्द्रमा पठाईएको छ । यस अघि १० औँ पटक ताकेता गर्दा पनि सम्झौता गर्न नआएका ३ हजार ८ सय ५८ जना भुकम्प पिडीतहरुको नाम लाभग्राहीको सुचिबाट हटाउन राष्ट्रिय पुर्ननिमाण प्राधिकरण केन्द्रमा पठाईएको हो । सबै भन्दा बढी भीमेश्वर नगरपालिकाका ७ सय ९८ र सबै भन्दा कम गौरीशंकरका २ सय ८२ जनाको नाम केन्द्रमा पठाईएको जिल्ला स्तरीय आयोजना कार्यान्वयन इकाई तथा स्थानीय पुर्वधारको कार्यालय दोलखाका कम्प्युटर अपरेटर टिका जोशीले बताए । शैलुङका ४ सय ४६, जिरी नगरपालिकाका ४ सय ९४, तामाकोशीका ३ सय ४९, विगुका ३ सय १, वैतेश्वरका ३ सय ५२, कालिञ्चोक गाउँपालिकाका २ सय ९९ र मेलुङ गाउँपालिकाका ५ सय ३७ गरि जिल्लाका ३ हजार ८ सय ५८ जना भुकम्प पीडित लाभग्राहीको नाम केन्दमा पठाईएको हो । सम्झौता गर्न नआउनेहरुमा दोहोरो नाम आएका, केहि मुत्यु भईसकेका र केहि घर निर्माण गर्न नचाहनेहरु रहेका छन् ।
Shares

Be the first to comment on "दोलखामा २४ हजार लाभग्राहीले लिए प्रमाणपत्र"

Leave a comment

Your email address will not be published.


*