दोलखामा स्थानीय तह कर्मचारी हक हित संघर्ष समिति गठन

दीक्षण समाचार
चरिकोट, भदौ २
दोलखामा सन्तोष पौडेलको अध्यक्षतामा स्थानीय तह कर्मचारी हक हित संघर्ष समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा पुजन अधिकारी, सचिवमा सन्तोष पौड्याल र कोषाध्यक्षमा विपना सूर्यवंशी रहनुभएको छ । नविन बस्नेत, दामोदर पन्थी, कृष्णप्रसाद अधिकारी, विष्ण्ुाबहादुर खत्री, रवीन्द्र चौलागाईँ, सम्झना श्रेष्ठ, ईश्वर श्रेष्ठ सदस्यमा चयन हुनुभएको छ । संघर्ष समितिको संरक्षकमा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), दोलखाका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र श्याम खनाललाई चयन गरिएको छ ।
यस्ता छन्, समितिको माग
स्थानीय सेवाको पदमा कार्यरत कर्मचारीलाई राज्यले उपेक्षा गरेको भन्दै संघर्षले समितिले राखेका माग पूरा गर्न सरकारलाई ध्यानाकर्षण गराइएको छ । समितिले ध्यानाकर्षण गराएको मागहरु पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने समितिका अध्यक्ष सन्तोष पौडेलले चेतावनी दिनुभयो ।
स्थानीय सेवाको पदमा कार्यरत कर्मचारीलाई संघीय निजामति सेवा र प्रदेश निजामति सेवामा प्रवेश गर्न उमेर हद लगाउन नहुने, अन्तर सेवा प्रवेशको व्यवस्था हुनुपर्ने, संघीय र प्रदेश निजामति सेवामा प्रवेश गर्दा स्थानीय तहमा काम गरेको सेवा अवधि जोडिनुपर्ने माग समितिले गरेको छ ।
त्यसैगरी सरुवामा स्थानीय तहको दोहोरो सहमतिको प्रावधान खारेज गर्नुपर्ने, २÷२ वर्षमा चक्रिय प्रणालीमा सरुवाको व्यवस्था गर्नुपर्ने, स्थानीय सेवाको बरिष्ठ कर्मचारीे कार्यालय प्रमुख हुन पाउने व्यवस्था गर्नुपर्ने, संघीय लोकसेवा आयोगबाट २०७६ सालको विज्ञापनबाट नियुक्त भएका अधिकृत छैठौँ लाई नियुक्ति मितिदेखिनै सातौँ तह कायम गरिनुपर्ने समितिको माग छ । अन्तर प्रदेश सरुवाको व्यवस्था गर्नुपर्ने, प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका कर्मचारीलाई अविलम्ब कर्मचारी संकेत नम्बर सिटरोल दर्ता गर्ने व्यवस्था मिलाइनुपर्ने लगायतका माग राख्दै संघर्ष समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

Shares

Be the first to comment on "दोलखामा स्थानीय तह कर्मचारी हक हित संघर्ष समिति गठन"

Leave a comment

Your email address will not be published.


*