दोलखामा सुरक्षित सुत्केरी गराउने बढे

चरिकोट(दीस) ः दोलखामा सुरक्षित सुत्केरी गराउने महिलाको संख्या बढ्दै गएको छ । आमा र बच्चा दुवैको सुरक्षा हुने र सरकारले उपलब्ध गराउँदै आएको भत्ता पनि पाउने भएपछि बर्थिङ सेन्टरमा गई सुरक्षित प्रसुति सेवा लिनेको संख्या बढ्दै गएको हो ।
स्वास्थ्य कार्यालय दोलखाले मातृशिशुको सुरक्षा हुने भएकोले सुरक्षित सुत्केरी गराउनेको संख्या बढेको र मातृशिशु मृत्युदर घटेको जनाएको छ । स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तमराज खनालले घरमा शून्य सुत्केरी अभियान सफल हुन थालेको उल्लेख गर्दै भन्नुभयो “ घरमा सुत्केरी हुने क्रम रोकिएको र स्वास्थ्य संस्थामा गई सुत्केरी हुने क्रम बढेको छ । जसले गर्दा मातृशिशु मृत्युदरमा कमी आएको छ ।”
स्वास्थ्य संस्थामा नै सुरक्षित सुत्केरी हुनुपर्छ भन्ने सचेतना सबैमा रहेकोले सुरक्षित सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने महिलाको सँख्यामा बृद्धि भएको उहाँले बताउनु भयो । जिल्लाको ७४ वटै वडामा स्थापना भएका करिब सात सय बर्थिङ सेन्टरबाट सुरक्षित प्रसुति सेवा प्रवाह हुने गरेको स्वास्थ्य कार्यालय प्रमुख खनालले जानकारी दिनु भयो ।
उहाँका अनुसार भीमेश्वर नगरपालिकामा चालु आवको चार महिनामा ४ सय ५८ जनाले सुरक्षित सुत्केरी सेवा लिएका छन् । नगरमा अस्पताल लगायत पाँच वटा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । कालिञ्चोक गाउँपालिकामा ६६ जनाले पसुति सेवा लिएका छन् । सो पालिकामा छ वटा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । पाँचवटा बर्थिङ सेन्टर रहेको गौरीशङ्कर गाउँपालिकामा ३०, आठ बर्थिङ सेन्टर रहेको तामाकोसी गाउँपालिकामा २३ जनाले सुरक्षित सुत्केरी सेवा लिएका स्वास्थ्य कार्यालय प्रमुख खनालले बताउनु भयो । जिल्लाको सबैभन्दा बढी नौ वटा बर्थिङ सेन्टर भएको बिगु गाउँपालिकामा सुरक्षित सुत्केरी गराउनेको संख्या २३ रहेको छ । बैतेश्वर गाउँपालिकामा रहेका छ वटा बर्थिङ सेन्टरमा २६ र चार वटा बर्थिङ सेन्टर रहेको मेलुङ गाउँपालिकामा १९ जनाले सुरक्षित सुत्केरी सेवा लिएको उहाँले बताउनु भयो । “घरमा सुत्केरी हुँदा आमा र बच्चा दुवैलाई खतरा हुन्छ । स्वास्थ्य संस्थामा जोखिम हुदैँन । शल्यक्रिया गर्नु पर्ने भएपनि तत्कालै सम्भव हुन्छ । ”उहाँले भन्नुभयो, “यत्ति मात्र होइन सरकारले भत्ता पनि उपलब्ध गराउँछ । त्यही कारण सुरक्षित सुत्केरीकोलागि स्वास्थ्य संस्थामा जाने प्रचलन बढ्दै गएको छ।”
अस्पताल वा बर्थिङ सेन्टरमा सुत्केरी भए सकारले तीन हजार रुपियाँ यातायात खर्च उपलब्ध गराउँछ, भने चार, छ, आठ र नौ महिनामा गर्भ परीक्षण गरे थप आठ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

Shares

Be the first to comment on "दोलखामा सुरक्षित सुत्केरी गराउने बढे"

Leave a comment

Your email address will not be published.


*