दोलखामा सुरक्षित सुत्केरी गराउनेको संख्या बढ्दो

इश्वर बिश्वकर्मा
चरिकोट, भदौ १२
दोलखामा सरकारी स्वास्थ्य संस्थामा गई सुरक्षित सुत्केरी गराउनेको संख्या बढेको छ ।
आमा र बच्चाको सुरक्षा हुने र सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउने  भएकाे कारण जिल्लाको सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्यामा बृद्धि भएको हो ।
स्वास्थ्य कार्यालय दोलखाको तथ्याङ्क अनुसार ३  वर्षको अवधीमा ६ हजार २ सय ४५ जनाले सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराएका छन् ।
आर्थिक वर्ष २०७४÷०७५ मा १ हजार ९ सय ५७ र २०७५÷०७६ मा २ हजार १ सय ४ जना सुरक्षित सुत्केरी भएका थिए । गत आर्थिक वर्ष २०७६÷०७७ मा भने अघिल्लो वर्षहरुको तुलनामा सुरक्षित सुत्केरी हुनेको संख्या बृद्धि भएको छ । गत आव २ हजार १ सय ८४ जना सुरक्षित सुत्केरी भएको कार्यालय प्रमुख विभु कुमार झाले बताए ।

                                  ३ वर्षको अवधीमा ६ हजार २ सय ४५ जनाले सरकारी स्वास्थ्य संस्थामा

                                                                      सुरक्षित सुत्केरी गराएका छन् ।

                 
उनका अनुसार तिन वर्षको अवधीमा मेलुङ गाउँपालिकाका सबैभन्दा कम १ सय ७० र भीमेश्वर सबैभन्दा नगरपालिकाका ३ हजार ४६ जना सुरक्षित सुत्केरी भएका छन् । गौरीशंकर गाउँपालिकाका २ सय ३३, विगु गाउँपालिका ४ सय ४६, कालिञ्चोक गाउँपालिकाका ५ सय ८५, बैतेश्वर गाउँपालिकाका २ सय ६२ जना सुत्केरी भएका छन् ।
त्यस्तै जिरी नगरपालिकाका ८ सय ४०, तामाकोसी गाउँपालिकाका २ सय ८३ जना, शैलुङ गाउँपालिकाका ३ सय ८० जना स्वास्थ्य संस्थामा गई सुत्केरी भएका छन् ।
कार्यालय प्रमुख झा भन्छन्, “ घरमा सुत्केरी हुँदा आमा र बच्चा दुवैलाई खतरा हुन्छ । स्वास्थ्य संस्थामा जोखिम हुदैँन । त्यही कारण जिल्लामा प्रसुती सेवाको लागि स्वास्थ्य संस्थामा आउनेको संख्या बढ्दो छ ।”उनले स्वास्थ्य संस्थामा नै सुरक्षित सुत्केरी हुनुपर्छ भन्ने जनचेतना सबैमा रहेकाेले सुरक्षित सुत्केरी हुन स्वास्थ्य संस्थामा अाउनेकाे स‌ख्यामा बृद्धि भएकाे बताए ।
स्वास्थ्य संस्थामा गई सुत्केरी गराउने सबैलाई यातायात खर्चको व्यवस्था रहेको छ । त्यस्तै नियमित गर्भ परीक्षण गरेबापत थप रकम पाउने व्यवस्था रहेको छ । तर जिल्लामा घरमै प्रसुती गराउनेको संख्या पनि रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा सुरक्षित सुत्केरी गराउनेको संख्या बढ्दो"

Leave a comment

Your email address will not be published.


*