दोलखामा सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

दीक्षण समाचार चरिकोट,–दोलखामा सार्वजनिक स्थानमा प्रवेश गर्न र सेवा लिन खोप कार्ड अनिवार्य गरिएको छ । कोरोना महामारीको तेस्रो लहरले दोलखा पनि प्रभावित भएको बेला नागरिकले खोप लगाएको प्रमाण देखाएपछि मात्र सार्वजनिक स्थानमा प्रवेश गर्न र सेवा लिन पाउने व्यवस्था शुक्रबारदेखि लागू गरिएको छ । जिल्लामा कोरोना संक्रमण बढ्न थालेपछि पुस २८ गते प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले जारी गर्नुभएको ९ बुँदे आदेशको बुँदा नं. ३ लाई कार्यान्वयन गर्दै सार्वजनिक स्थानमा प्रवेशको लागि खोप कार्य अनिवार्य गरिएको हो । सार्वजनिक सेवा प्रवाह हुने कार्यालयहरुमा सेवा प्राप्त गर्दा तथा सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, पार्क आदी) मा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड साथमा राख्ने र त्यस्ता निकायहरुले खोप कार्ड हेरेर (मोबाइलमा फोटो भए पनि हेर्ने) मात्र प्रवेश दिने व्यवस्था मिलाउने आदेशमा उल्लेख गरिएको छ । कोरोना भाईरसको जोखिम न्यूनीकरणको लागि स्वास्थ्य मापदण्डको पालना गर्न र खोप लगाउन प्रोत्साहित गर्न यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ । यदी कोही व्यक्ति खोप लगाउन छुटेको भए सम्बन्धित खोप केन्द्रमा गई खोप लगाउन सक्ने छन् । त्यसैगरी नजिकको स्वास्थ्यसंस्थामा सम्पर्क गर्न सक्ने छन्, भने सिधैँ स्वास्थ्य कार्यालयमा फोन गरेमा कार्यालयले खोप लगाउन व्यवस्था मिलाइदिने छ । खोप लगाएको प्रमाण स्वरुप खोप कार्ड नदेखाएमा सार्वजनिक सेवा लिन नपाउने व्यवस्था गरिएपछि पछिल्लो समय जिल्लामा खोप लगाउनेको संख्या बढेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य"

Leave a comment

Your email address will not be published.


*