दोलखामा सांसदलाई नागरिकको प्रश्नः सडक कहिले बन्छ ?

दीक्षण समाचार
चरिकोट, मंसिर ४
मुडे–चरिकोट सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीका बिरुद्ध आन्दोलनरत सडक संघर्ष समिति र सांसदबीच चरिकोटमा शनीबार छलफल भएको छ । संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने नौ जना सांसदमध्ये संघिय साँसद पार्वत गुरुङ, सांसद शान्तीमाया पाख्रिन र बागमती प्रदेश सांसद रचना खड्काको आतिथ्यता रहेको थियो । उहाँहरुलाई सडक संघर्ष समितिका सदस्य एवं सडक प्रभावित वडाका वडाध्यक्षहरुले दयनीय सडकका कारण जनजीवन प्रभावित भएको जानकारी गराए ।
छ वर्षसम्म सडक व्यवस्थित हुने पर्खाइमा रहेका नागरिकहरुको धैर्यता टुटिसकेकोले संघर्षमा उत्रिन बाध्य भएको र त्यसमा आफूहरुको पनि समर्थनका साथै ऐक्यबद्धता रहेको बताएका छन् । भीमेश्वर नगरपालिका–३ का वडाध्यक्ष हरिशरण शिवाकोटीले सडकको समस्या निकासको लागि पहल गर्न सांसद समक्ष अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो “ सांसदले चाहेमा जेपनि हुन्छ । त्यसैले सडक निर्माणको लागि पहल गरिदिन मेरो अनुरोध छ । ” वडा नं. ६ का वडाध्यक्ष नवीन लामाले अलपत्र सडकमा कष्ट सहँदै टुलुटुल हेरेर मात्र नबस्ने बताउनुहँुदै सडक निर्माणमा सांसदहरुले पहल नगरे आन्दोलन चर्काउने सुनाउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दोलखाका नेता भुवन केसीले सडक निर्माणको पहल गर्न सक्ने हैसियत नभएका सांसदले राजिनामा दिए हुने बताउनुभयो । उहाँले जनताको दुःख, पीरमर्का नबुझ्ने व्यक्ति नेता हुन नसक्ने बताउँदै मुडेचरिकोट सडकको दुःख दुर गराउन सांसदहरुको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा मकैबारका दिपक तामाङ, युवाव्यवासायी राजेश उप्रेती, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेल लगायतले सडक बन्ने मिति बताइदिन अनुरोध गर्दै सांसदहरुलाई प्रश्न सोध्नुभएको थियो । उहाँहरुको प्रश्नको जवाफ दिँदै संघिय सांसद पार्वत गुरुङले आफूहरुले सडकमा चासो दिएको र चाँडो सक्न पहल गर्नुका साथै निर्माण कम्पनी र ठेकेदारलाई दबाब समेत दिएको बताउनुभयो ।
उहाँले स्रोतको सुनिश्चित नभई ठेक्का तोड्दा सडक झन् अलपत्र हुन सक्ने भन्दै सचेत गराउनुभयो । उहाँले ठेकेदार कम्पनीले निर्माणलाई गति दिने प्रतिबद्धतता जनाएको तर आफूले विश्वास नगरेपनि ठेकेदारले चाहेमा काम हुने भएकोले केही दिन पर्खिनुपर्न सुनाउनुभयो । सडकको निकासको लागि ठेक्का तोड्ने वा यही ठेकेदारलाई फकाएर काम लगाउने भन्ने दुई वटा विकल्प रहेको बताउनुभयो । ठेक्का तोड्नको लागि कानुनी प्रक्रिया पुरा भईसकेको र ठेक्का तोड्ने मनस्थितिमा सडक आयोजना, सडक विभाग रहेको उहाँले बताउनुभयो । यद्यपी संघर्ष समिति तथा नागरिकहरुले भने ठेक्का तोड्नुपर्ने माग गरेका छन् । समितिका संयोजक चिरञ्जीवी मास्केले अहिलेको ठेकेदारबाट काम हुन नसक्ने भएकोले ठेक्का तोड्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले ठेक्का तोडेपछि स्रोत सुनिश्चित गरी नयाँ प्रक्रियामा जानुपर्ने सुनाउनुभयो । जिल्लाका नागरिकले लामोसाँघु–जिरी सडक अन्तर्गतको मुडे–चरिकोट सडक पिच हुने आशामा छ वर्ष बिताए । तर उनीहरुको आशा अझै पुरा हुन सकेको छैन । २०७२ सालमा भएको सम्झौता अनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सडक छ वर्ष बित्दा समेत प्रगति भएको छैन । सडक निर्माणको जिम्मा कम्पनी सकिल हैदर—शंकरमालि—सुनौलो खिम्ती जेभीले पाएको हो । उसले सो सडक अलपत्र अवस्थामा ओगटेर राखेको छ । सडक निर्माण नभएपछि दबाब दिन विस्तार गरिएको ५०१ सदस्यीय संघर्ष सममितिले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ । यसअघि विभिन्न संघर्षको गतिविधि गर्दै आएको समितिले आइतबार सडक आसपामा टोलस्तरको संघर्ष समिति गठन गर्ने, सांसद, नेताहरुको गाडी जिल्ला छिर्न नदिने, मन्त्रालय तथा सडक विभाग घेराउ लगायतका गतिविधि गर्न समितिले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखामा सांसदलाई नागरिकको प्रश्नः सडक कहिले बन्छ ?"

Leave a comment

Your email address will not be published.


*