दोलखामा सचेतना कार्यक्रमको प्रभावः डढेलो न्यूनीकरण

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ १७
दोलखाका वनमा चैत्र महिना लाग्न नपाउँदै दिनहुँजसो डढेलो लाग्थ्यो । जँगल क्षेत्रका रुखबिरुवा डढेर उराठिलो हुन्थ्यो । तर यो वर्ष त्यस्तो भएन । जिल्ला वन कार्यालयको तथ्याङ्कले एक वटा वनमा मात्र डढेलो लागेको देखाएको छ । भीमेश्वर नगरपालिका वडा नं. ५ को एक जँगलमा डढेलो लागेको थियो । उक्त डढेलो वन कार्यालयको आगलागी नियन्त्रण दस्ता टोलीसहित सुरक्षाकर्मी परिचालन भई नगरपालिकाको दमकल प्रयोग गरी नियन्त्रणमा लिइएको थियो । यस बाहेक जिल्लाभर अन्य वनजँगलमा डढेलो लागेन ।
चैत्र, बैशाख र जेठ । यी महिना अत्यधिक चर्काे घाम लागेर जमीन सुख्खा हुने, तीव्र वेगले हावा चल्ने हुँदा वन डढेलोको उच्च जोखिम हुन्छ । तर यो वर्ष जोखिम भएपनि डढेलोको घटना एक ठाउँमा बाहेक अन्त नभएको कार्यालयका सूचना अधिकारी गणेश थापाले बताउनुभयो । यो वर्ष वन डढेलो न्यूनीकरण अभियान सञ्चालन गरिएको र सोहीको प्रभावकारीताका कारण वन डढेलोको घटना कम भएको उहाँले भन्नुभयो । “वन डढेलो शून्य पार्नको लागि डिजिटल माध्यम सहित विभिन्न तवरबाट सचेतना अभियान सञ्चालन गरिएको थियो। सोही कारण पनि डढेलो अघिल्ला वर्षहरुको जस्तो लागेन । तर अनपेक्षित रुपमा एक ठाउँमा भने डढेलो लागेको थियो । तर त्यसलाई नियन्त्रणमा लिइएको थियो ।” उहाँले भन्नुभयो “वनमा आगलागी त्यतिकै हुने होइन । मानिसले लगाएपछि हुने हो । तर यो पटक सचेतना प्रवाह गरिएको थियो । जसले गर्दा डढेलो लाग्न पाएन ।“
चैत्रदेखि नै बेला बेलामा वर्षा हुँदा जमिनमा चिस्यान मिलेको र अघिल्ला वर्षको जस्तो सुख्खा भएन । जसले गर्दा पनि डढेलोबाट वनजँगल जोगिएको उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्ष १ सय ४० हेक्टर वनमा डढेको लागेको थियो । जसबाट भएको क्षतिको एकिन विवरण नभएपनि यसले वन क्षेत्रका रुखविरुवा, काठ, पशुपंछी तथा जनावरको ठूलो क्षति भएको अनुमान गरिएको थियो । त्यति मात्रै होइन पर्यटकीय स्थलहरुमा समेत वन क्षेत्रमा लागेको डढेलोले क्षति गरेको थियो । मानवीय अज्ञानता, त्रुटी र असवाधानीका कारण वनमा डढेलो लाग्ने गरेको छ । यो वर्ष त्यस्तो हुन नदिन कानूनी व्यवस्थासहितको सचेतना र सन्देश प्रचारप्रसारलाई व्यापक बनाइएको थियो । डढेलो नियन्त्रणको लागि पूर्व तयारी स्वरुप तालिमका साथै पोशाक र आवश्यक सामाग्री दिएर खटिने गरी तयार अवस्थामा दस्ता टोली खडा गरिएको थियो । “नवीकरणीय प्राकृतिक सम्पदा वन जैविक विविधताको संरक्षण तथा पर्यावरणीय सन्तुलन कायम राख्न र मानवीय जीवन रक्षा गर्न महत्वपूर्ण छ ।” उहाँले भन्नुभयो “ यस्तो महत्वपूर्ण सम्पदाको सम्बद्र्धन, संरक्षण र प्रबद्र्धन गर्न नसकेमा मानव जीवन नै संकटमा पर्न सक्छ ।”

Shares

Be the first to comment on "दोलखामा सचेतना कार्यक्रमको प्रभावः डढेलो न्यूनीकरण"

Leave a comment

Your email address will not be published.


*