दोलखामा व्यक्तिगत घटना दर्ता अभियान सुरु हुँदै

चरिकोट, ईस्वर विक /–व्यक्तिगत घटना दर्ता नगरे व्यक्ति राज्यबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित हुन सक्छ । त्यसैले स्थानीय पञ्जिकाधिकारी कहाँ गई जन्म, मृत्यु, बसाइँसराइँ, सम्बन्ध विच्छेद र विवाह जस्ता व्यक्तिगत घटना समयमैँ दर्ता गराउनु पर्छ । सबैलाई व्यक्तिगत घटना दर्ताको पहुँचमा ल्याउन र यसको महत्वबारे जानकारी दिन देशभर आगामी बैशाख १ गते देखि १६ सम्म व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन हुँदैँ छ । सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता र अरु व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्याउन पनि अभियान सञ्चालन गर्न लागिएको हो । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अभियान सञ्चालनका लागि ७ सय ५३ वटै पालिकामा अभियान सञ्चालन गर्न सर्कुलर जारी गरेको थियो । यसैबिच दोलखाका केही स्थानीय तहले उक्त अभियान अन्तर्गत व्यक्तिगत घटना दर्तासगैँ सामाजिक सुरक्षाको लागि नाम दर्ता शिविर सँञ्चालन गर्ने भएका छन् । भीमेश्वर नगरपालिकाले त बैशाख २ देखि १६ गतेसम्म टोलटोलमा घुम्ति शिविर सञ्चालन गर्ने जनाएको छ । वडा नं. १ अन्तर्गत बैशाख २ गते मा लामानागी, ३ मा पानीघाट, ४ मा टोपर, ५ मा फासेलुङ, ७ मा दामाराङमा शिविर सँञ्चालन हुने छ । वडा नं. २ अन्र्तगत बैशाख ८ मा त्रिपुरा आवि, ९ मा फुलपा आवि, १० मा गोलेगाउँ, ११ मा तिखातल र १२ मा तल्लो टोल दोलखामा र वडा नं. ३ स्थित १३ गते चरिघ्याङ, १४ मा नागीडाडाँ र १६ मा भीमेश्वर बहिरा प्राथमिक स्कुल देउरालीमा शिविर सञ्चालन हुने नगरले जनाएको छ । गौरीशंकर गाउँपालिका, जिरी नगरपालिकाले एक सूचना जारी गर्दै व्यक्तिगत घटना दर्ता गर्न बाँकी रहेका नागरिकहरुले आफ्नो वडा कार्यालयमा उपस्थित भई व्यक्तिगत घटना दर्ता गर्न अनुरोध गरेको छ जिरी नगरपालिकाले शिविरको लागि २ जना कर्मचारी समेत करारमा समेत छनौट गर्ने जनाएको छ । त्यस्तै अन्य पालिकाहरुले पनि सामाजिक सुरक्षा नाम दर्ता र व्यक्तिगत घटनासम्बन्धी चेतनामूलक कार्यक्रम गर्ने जनाएका छन् । स्थानीय तहमा दिनहुँ विवाह, जन्म, बसाईसराइ लगायतका घटना हुने गरेको छ । तर कोरोना त्रासको प्रभावले हुन सक्छ, व्यक्तिगत घटना दर्ता न्यून मात्रमा भएका छन् । अभियानमा व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षाका लागि नाम दर्ता हुने र यसको महत्वबारे नागरिकलाई ज्ञान प्रदान गरिने छ । घटना दर्ताले व्यक्तिले राज्यबाट प्राप्त गर्नुपर्ने सेवा सुविधा तथा लाभहरु पनि पाउने सुनिश्चितता हुन्छ, भने देशलाई जनसांख्यिक अवस्थाको विद्यमान स्थिति पत्ता लगाउन सजिलो पर्नाका साथै नीति र योजना तर्जुमामा समेत सहयोग पुग्ने जानकारको भनाई रहेको छ ।

Shares

Be the first to comment on "दोलखामा व्यक्तिगत घटना दर्ता अभियान सुरु हुँदै"

Leave a comment

Your email address will not be published.


*